|

सर्लाही : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कमिसनतन्त्र र भ्रष्टाचारले देश विकासमा प्रभावित पारेको भन्दै यसको विरुद्धमा लाग्न पार्टीका कार्यकर्तालाई आह्वान गरेका छन्।

सदरमुकाम मलङ्गवामा बुधबार नेकपाको पार्टी कार्यालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेकपा वरिष्ठ नेता नेपालले विकासका काम गर्दा हुने कमिसनको भागबण्डा र अनियमितताले गुणस्तरीय काम हुन नसकेको बताएका हुन्। उनले सर्लाहीको नवलपुर–मलङ्गवा सडकमा पनि यही अवस्था देखिएको भन्दै गलत गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउनुपर्नेमा बताए।

नेकपा वरिष्ठ नेता नेपालले पछिल्लो समय चिनी उद्योग मालामाल हुने र बिक्री गरेको उखुको भुक्तानी लिन किसान रुनुपर्ने अवस्था रहेको भन्दै यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए। उखु किसानको समस्या समाधानमा जिम्मेवार पक्ष र सरकार लाग्नुपर्ने उनको भनाइ छ।

फरक प्रसंगमा नेता नेपालले मधेसलाई माया गर्ने पार्टी नेकपा मात्रै भएको दावी गर्दै यस क्षेत्रको विकासका लागि तराई मधेस समृद्धि कार्यक्रम लागू गर्ने, सिँचाइको सुविधा उपलब्ध गराउने, हुलाकी सडकको स्तरोन्नति गर्नेजस्ता कामलाई आगामी वर्षको बजेटमा प्राथमिकतामा राखिएको उल्लेख गरे।

नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षतामा सदरमुकाम मलङ्गवा नगरपालिका–३ मा तीन कठ्ठा जग्गामा ५६ लाख लागतमा निर्मित पार्टी कार्यालयको उद्घाटन गरिएको हो। सो अवसरमा पार्टी कार्यालय स्थापनामा सहयोग गर्ने जग्गादाता गोकुल साह, रतन रञ्जितकार, पूर्वसांसदद्वय कमलादेवी महतो र रञ्जना सरकार र मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहलाई कदर पत्रसहित सम्मान गरिएको नेकपा सर्लाहीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.