|

काठमाडौं : चलचित्र वीर विक्रम–२ समीक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चाम्सले यस्तो बताएका हुन्। निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको स्पष्टीकरण दिए। उनले भने, ‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौँ।’

उनले आफ्नो उद्देश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै भने, ‘मैले गौतम भाईलाई पाठ सिकाउनको लागि पनि प्रहरी कहाँ गएको हुँ, यो मैले उसलाई व्यक्तिगत इगो राखेर थुन्न खोजेको थिइनँ।’

प्रनेश पक्राउ परेपछि आफूले उनका बाबु र आमासँग पनि भेटेरै कुराकानी गरेको चाम्सले सुनाए। उनले भने, ‘प्रनेशका बुवा–आमासँगको कुराकानीमा मैले सोमबारसम्म छुटाउँछु पनि भनेकै हो, तर मिम नेपालका साथीहरू आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारहरूको चित्त दुखाउनुभयो। त्यही भएर एक–दुई दिन बसोस् भनेर छोड्यौँ।’

निर्देशक चाम्सले प्रनेशले अहिले आएर आफ्नो गल्ती स्वीकार गरिसकेकोले उनलाई छुटाउनको लागि आफूले प्रक्रिया सुरु गरेको पनि जानकारी दिए। उनले भने, ‘प्रनेश छुटिसकेपछि मेरो तर्फबाट उसलाई गर्नुपर्ने सहयोग पनि म गर्न तयार छु ।’

प्रनेश कमेडियन भएको नाताले आगामी दिनमा यही फिल्डमा आउन चाहे आफूले सहयोग गर्ने पनि उनले वचनबद्धता व्यक्त गरे। चाम्सले थपे, ‘मैले यो कुरा प्रनेशको बुवा–आमालाई भेटेरै पनि वचन दिएको छु।’

प्रनिसद्वारा प्रयोग गरिएका मानहानीसम्बन्धी शब्द, चरित्र हत्या, रंगविरोधी र जनजाति समुदायमा आघात पुर्‍याउने शब्दको प्रयोग गरिएको कारण भोलिका दिनमा यस्ता प्रयास अरू कसैबाट कसैमाथि नहोउन् भन्ने सन्देश दिन आफूहरुट्ठले प्रयत्न गरेको उनको भनाई छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले अन्याय परेको मान्छेले आवाज उठाउन पाउनुपर्ने जिकिर गरेका थिए। त्यस्तै, नेपाल निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, सञ्चारकर्मी नरेश भट्टराई र र गायक तथा संगितकार कालिप्रसाद बाँस्कोटाले आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले चलचित्रको बारेमा समीक्षा गर्न पाईने भएपनि व्यक्तिलाई लक्षित गरेर जात, रंगको आधारमा विभेद गर्न नपाईने धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.