|
फाइल फोटो

काठमाडौं : नेकपाभित्र गृहमन्त्री रामबहादुर थापाको अवस्था बलियो बन्दै गएको छ। एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूह निर्णायक अवस्थामा देखिएको छ। पार्टीभित्र केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ।

नागरिक दैनिकमा समाचार छ, पार्टीमा थापा समूहका एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका छन्।

जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको अवस्था बलियो देखिएको छ। प्रदेशमा पनि सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ। एकीकरण कार्यदलमा रहेका थापाले अधिकांश स्थानमा आफू पक्षधर नेतालाई स्थापित गर्न सफल भएका छन्। पूर्वमाओवादीको भागमा परेका सातवटा जनवर्गीय संगठनमध्ये चारवटाको नेतृत्व थापा पक्षले पाएको छ।

पूर्वमाओवादीले नै पाएको मधेसी संगठनको नेतृत्व भने चयन हुन बाँकी छ। जिल्लातर्फ ७ जना अध्यक्ष र ९ जना सचिव थापा समूहले पाएको छ। जिल्ला समितिका सदस्यमा पनि थापा समूहको बलियो उपस्थिति देखिएको छ। यो हेर्दा गृहमन्त्री थापा पार्टीभित्र क्रमशः बलियो बन्दै आएका छन्। केन्द्रीय कमिटीमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था बनेको छ।

पार्टीभित्र ओली, दाहाल र नेपालका गुट स्पष्ट देखिएका छन्। वामदेव गौतम र नारायणकाजी श्रेष्ठको पनि गुटगत उपस्थिति छ। तत्कालीन एमालेभित्र निर्णायक मानिएका गौतम पार्टी एकीकरणपछि भने कमजोर देखिएका छन्। उनको भूमिकामा यतिबेला थापा स्थापित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.