|

सिन्धुपाल्चोक : जिल्लाका स्थानीय तहहरूले मापदण्डविपरीत नदी दोहन गर्न दिने गरेको पाइएको छ। स्थानीय तहहरूले सरकारी मापदण्डविपरीत नदी दोहन गर्ने गरेको पाइएको छ। 

नियमविपरीत स्थानीय तहले आफूखुसी ठेक्का आह्वान गरेर नदी दोहन गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जनाए। नदीजन्य सामग्री उत्खनन गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)को समेत ख्याल नगर्ने गरेको उनको भनाइ छ। 

स्थानीय तहले आफ्नो आम्दानीको स्रोत नदीजन्य पदार्थलाई लिएको कारणले सिन्धुपाल्चोकमा स्थानीय सरकार आएपछि नदी दोहन बढेको प्रमुख तामाङले दाबी गरे। ‘नदी उत्खनन् गर्न जिल्ला अनुगमन समितिले एउटा निश्चित मापदण्ड बनाएको छ। तर मापदण्ड पूरै नगरी ठेक्का प्रक्रियाबाट दोहनको लागि छुटपुर्जी दिने गरेका छन्’, प्रमुख तामाङले भने, ‘मापदण्डविपरीत टेण्डरबाट ठेक्का प्रक्रियामा गएकाहरूले मनलागी नदी दोहन गरिरहेका छन्।’ 

मापदण्डविपरीत अवैध रूपमा क्रसर वा अन्य क्षेत्रबाट सिन्धुपाल्चोकको सुनकोशी, इन्द्रावतीलगायतका नदी दोहन भइरहेको छ। व्यापक रूपमा नदी दोहन हुँदा समेत जिल्लास्थित जनप्रतिनिधि, प्रशासनलगायतको जिम्मेवार निकाय मौन बस्ने गरेका छन्। स्थानीय तहबाटै अवैध उत्खननको छुटपुर्जी पाएपछि झन् नदी दोहन बढेको छ। नदीजन्यपदार्थ उत्खननमा जिल्लाका सांसद, स्थानीयदेखि उच्च तहका नेता, पुलिस, प्रशासनकै हात रहने गरेको स्रोत दाबी छ। 

सुनकोशी, इन्द्रावतीलगायत अन्य साना खोलामा समेत मनलागी रूपमा स्काभेटरको प्रयोगले नै बालुवा, गिट्टी, रोड, ढुङ्गालगायतको नदिजन्य पदार्थ उत्खनन् भैरहेको छ। अवैध दोहनकै कारणले यी नदीहरूको स्वरूप नै कुरूप बनेका छन्। नदीमा अवैध रूपमा स्काभेटरको प्रयोग गरिरहेकाे प्रत्यक्ष रूपमा देख्न सकिन्छ। यस्तो अवस्था देख्दा समेत सम्बन्धित निकाय आँखामा पट्टी बाँधेर बसेको छ। 

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने आफूहरूले कुनै पनि प्रक्रिया मिचेर नदी उत्खनन् नगरेको प्रतिक्रिया दिए। प्रदेशले बनाएको रेटकै आधारमा आफूहरुले नियमसंगत रूपमा नदी उत्खनन् गरिरहेको बताए। 

असार १ देखि तीन महिना रोक

असार १ गतेदेखि नदी उत्खननमा रोक लगाउँने निर्णय गरेका छ। जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले बर्खामा उत्खनन्लाई रोक्ने निर्णय गरेको हो।असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाएको छ। बर्खामा बाढी आउने समयमा स्काभेटरको प्रयोग गरि व्यापक उत्खनन् हुने भएकाले बर्खामा नदी उत्खननमा रोक लगाएको जिसस प्रमुख तामाङले जनाए। 

गत वर्ष पनि बर्खामा नदी उत्खननमा रोक लगाएको थियो। तर, तस्करहरूले दिउँसो काम नगर्ने र रात परेपछि नदीमा स्काभेटरको प्रयोग गर्ने गरेका थिए। अवैध रूपमा नदी दोहनको कारणले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी नदीमा हुने गरेको र्‍याफ्टिङ व्यवसाय नै समस्यामा पर्ने अवस्था सिर्जना भएको छ। नदी उत्खनन्बाट स्थानीय तहबाट संकलित करको ०‍.५ प्रतिशत राजस्व जिल्ला समन्वय समितिको खातामा जम्मा गरिदिन समेत अनुगमन समितिले आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.