|

काठमाडौं :  नेपालमा ठूलाठूला राजनीतिक आन्दोलन भए। आन्दोलनको जगमा टेकेर परिवर्तनका नयाँ झिल्का देखा परेका छन्। आज हाम्रो उपलब्धि हिजो कोही कसैले गरेको विद्रोहको परिणाम हो।

उपलब्धि जति हुनुपर्ने हो, त्यो भयो या भएन, बहसको विषय हो। नेपालमा विभिन्न कालखण्डमा राज्यव्यवस्थाविरूद्ध विद्रोह भए। राज्यव्यवस्थामध्ये राणाशासन एक हो। राणाशासनको समयमा सीमित व्यक्तिबाहेक हरेक नेपाली नागरिक अपहेलित भए।

तर, सबैभन्दा धेरै अपहेलित महिला भएका थिए। बालविवाह, छुवाछुत, असमानता र बलात्कार हिजोदेखि आजसम्म भोग्दै आएका छन्। पछिल्लो समय लोकतन्त्रको आगमनले सामाजिक सुरक्षामा केही राहत महसुस गर्न सकिन्छ भन्ने आशा थियो।

यद्यपि, अहिले महिला हिंसा झन बढ्दै गएको छ। यो आजको मात्र समस्या होइन, हिजो पनि यही अवस्था थियो। जुन कुरा शिल्पि थिएटरमा मञ‍्चन भएको नाटक 'योगमाया'ले देखाउन खोजेको छ।

योगमाया अहिलेको होइन, त्यसबेलाको विद्रोहीको आवाज हो। जुनबेला महिलामाथि गरिएको चरम हिंसाका रुपमा सतीप्रथा थियो। बालविवाह थियो। यौन हिंसा थियो। महिलालाई महिलाको नजरले नहेरी एक लगाम लगाएको घोडा सम्झिने अवस्था थियो।

योगमाया बाल विधुवा हुन्। उनी माइतीमा नै बस्छिन्। त्यहाँ बस्दा उनले समाजमा हुने सामाजिक कुरीतिविरुद्ध आवाज बुलन्द पारिन्। उनीविरुद्ध समाजलाई उत्तेजित पारेको लगायतका लाञ्छना लगाइन्छ। तर, सत्यको पक्षमा सम्पूर्ण गाउँले उभिन्छ। उनको समर्थनमा केबल महिलामात्र होइनन् पुरूष पनि देखिन्छन्।

समाज महिलाबिना अधुरो छ। तर, महिलालाई जुन सम्मान दिनुपर्ने हो त्यो न घरले दिएको छ न समाजले। देशमा सती प्रथाको अन्त्य भयो। दास प्रथाको अन्त्य भयो। कुनै न कुनै विषयलाई केन्द्रमा राखेर महिलामाथि प्रहार भइरहेका छन्। यौनहिंसा महिलाले भोगिरहनु परेको आजको सबैभन्दा ठूलो चुनौती हो।

उनी कुनै शासन र सत्ताविरुद्ध मात्र होइन जनताको अधिकारका लागि लडिन्। योगमाया क्रान्तिको अर्को नाम हो। एकल महिला भएर बाँच्नु समाजमा अनेक प्रश्नसँग जुध्नु हो। श्रीमान‍्को मृत्यूपश्चात् उसका सबै रंगीनता सकिन्छन्।

योगमायाले श्रीमान‍्को मृत्युपश्चात् महिलाले आफूलाई माया गर्ने जोसुकैसँग बिहे गर्न पाउनुपर्ने आवाज उठाउँछिन्। जसमा उनलाई साथ उनका गाउँलेहरू दिन्छन्। यद्यपि यो कुनै एउटा गाउँको मात्र समस्या थिएन सम्पूर्ण देशबाट नै यो समस्याको अन्त्य हुनुपर्ने योगमायाको निष्कर्ष हो।

त्यसबेला सती र दासप्रथा अन्त्य भएको घोषणा चन्द्र शमशेरले गरिदिए। योगमाया त्यस्तो आवाज थियो जसले असमानता र कुप्रथा अन्त्य गर्दै धर्मराज्यको माग गरिन्। अशिक्षित योगमायाले समाज सुधारका लागि त्यसबेलाको समाजसँग विद्रोह गर्नु चानचुने विषय थिएन। चन्द्र शम्शेरपश्चात जुद्धशमशेरसँग उनले धर्मराज्यको माग गरिन्।

अफसोच, जुद्धशमशेरले धर्मराज्य माग नगर्न आर्थिक लोभ देखाए। उनी अस्तित्वसहित सम्मानजनक बाँच्न पाउने सुनिश्चित गर्न निरन्तर लागिपरिन्। समाजमा अपवाह फैलाएको भन्दै उनीलगायत उनका अनुयायीलाई जेलमा हाले। जेलबाट फर्केपश्चात योगमायाले अपमानपूर्ण बाँच्नुभन्दा सामाजिक संस्कारविरुद्ध आत्मदहको गर्ने एकल निर्णय गरिन्। ताकी आउने कुनै पिँढी कुनै पनि सामाजिक हिंसाबाट अपमानजनक जीवन बाँच्न नपरोस्। उनका अनुयायीहरू पनि योगमायासँगै अरूण नदीमा हाम फालेर सामूहिक आत्मदाह गरे।

आख्यानकार निलम कार्कीद्वारा लिखित मदन पुरस्कारबाट सम्मानित कृति योगमायालाई नाट्य रूपान्तरण तथा निर्देशन टंक चौलागाईंले गरेका हुन्। योगमायाको भूमिकामा छिन् चर्चित कलाकार मिथिला शर्मा।

असार १६ गतेसम्म चल्ने नाटकमा मिथिला शर्माका अलवा प्रकेश सिन्धुलिय, प्रभावक न्यौपाने, दीपिका ढकाल, संयोग दाहाल, सम्पन्न दाहाललगायत दुई दर्जन कलाकारको सशक्त अभिनय रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.