जंगल-जंगल हिँड्ने राउटे पहिलोपटक गाडीमा

|

दैलेख : आफूलाई जंगलको राजा ठान्ने र जंगलमै फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायमा पछिल्लो समय केही परिवर्तन आउन थालेको छ। फिरन्ते जीवन बिताउँदै जंगलमा पाइने कन्दमूल खाँदै गुना जातको बाँदरको सिकार गर्दै जीवन चलाउँदै आएको यो समुदाय अहिले रूपान्तरणतर्फ लम्किरहेको देखिन्छ।

पहिले आफ्नो गाँस र बास जंगलमै जोहो गर्ने उनीहरू पछिल्ला दिनहरूमा आममान्छे जस्तै रूपान्तरण हुँदै आएका छन्।

बसिला बन्चरो चलाउँदै काँचो रुखलाई काटेर मदुस कोसी लगायतका परम्परागत घरायसी सामान बनाउँदै आएका राउटे समुदायका युवा पुस्ता आधुनिक सिप सिक्नतर्फ लागि रहेका छन्। 'पहिला आरा चलाउन आउँदैनथ्यो, अहिले आरा चलाएर रूख चिर्न सिकेका छौँ' राउटे युवा शिवराज शाहीले भने,'जीवीकाको माध्यमका लागि टेबुलको खुट्टा बनाउन सिकेका नयाँ सिप सिकेका छौँ।'

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा बसोबास गर्ने यो समुदाय सुर्खेतको गुर्वाकोट नगरपालिका-१३ बेतेनी खोलाबाट अहिले दैलेखको गुराँस गाउँपालिकाको गोगनपानी जंगलमा केही दिनअगाडि मात्र बसाइँ सरेका छन्। ४८ घर रहेको राउटे समुदाय यसभन्दा अगाडि पनि गुराँस गाउँपालिकामा रहेको गोगनपानी जंगलमा बस्दै आएका थिए।

स्ती सार्न पहिलोपटक गाडीको प्रयोग

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दा हिँडेरै सर्ने गरेको भए पनि उनीहरूले बस्ती सार्दा पहिलोपटक गाडीको प्रयोग गरेका छन्। सुर्खेतबाट दैलेखको गुराँस गाउँपालिकाको गोगनपानी जंगलमा बसाइँ सर्दा उक्त समुदाय बस चढेर सरेका हुन्।

पहिलोपटक गाडीबाट बस्ती सारिएको भन्दै राउटे मुखिया सूर्यनारायण शाहीले अहिलेसम्म पैदल हिँडेरै बस्ती सार्ने गरिएको बताए। जंगलमै बसोवास गर्ने यो समुदायको संख्या घट्दो क्रममा छ। अहिले उनीहरू एक सय ४६ जनाको संख्यामा रहेका छन्।

भाषा लोप हुने खतरा

लोपोन्मुख राउटे समुदायमा पछिल्लो समयमा उनीहरूले बोलिने भाषासमेत विस्तारै लोप हुँदै जाने खतरा बढेको छ। केटाकेटी अवस्थादेखि नै उनीहरूले खाँम्ची भाषा बोल्ने गर्दछन्। उनीहरूको भाषा अन्य समुदायले बुझ्दैनन्।

राउटे समुदायले बोल्ने खाँम्ची भाषाको अहिलेसम्म लिपी छैन। उनीहरूले बोल्ने खाम्ची भाषा पछिल्लो समयमा हराउँदै जान थालेको छ। राउटे समुदाय पढ्न लेख्न नजान्ने भएकाले उनीहरूको भाषा लिपिबद्ध गर्न समस्या छ।

समूहमा रहेकाले राउटेको निश्चित बसाइँ जीवनशैली र रहनसहन नभएकाले खाम्ची लिपिबद्ध हुन नसकेको बताइन्छ। यो भाषा उनीहरूले बोल्नका लागि मात्र प्रयोग गर्दछन्। लेख्न कसैले पनि नजान्ने भएकोले पुरानो पुस्तामा अक्षरको बारेमा कसैलाई थाहा छैन। पछिल्ला दिनमा युवा पुस्ता भने पढाइ लेखाइमा रुचि राख्ने गरेको देखिन्छ।

पुरानो पुस्ता र बोलीचालीबाटै सन्तानले सिक्ने भएकाले गैरराउटेका लागि उनीहरूले बोलिने भाषा बुझ्न कठिन छ। राउटे संस्कृतिका जानकारहरूका अनुसार उनीहरूले बोल्ने खाम्ची भाषालाई खाम्सी भाषा पनि भन्ने गरिन्छ। यो समुदायमा बोलिने भाषा तिब्बत बर्मेलीसँग मिल्दोजुल्दो हुन्छ।

मदिराको ज्‍यादा प्रयोग

राउटे समुदायका युवा युवती र बालबालिकाहरू पछिल्लो समय मदिराको बढी प्रयोग गर्ने गरेका छन्। अधिकांश समय यो समुदायका महिला पुरुष मदिरामै लट्ठ हुने भएकोले उनीहरूका लागि मदिरा छोड्नु निकै चुनौतीपूर्ण छ।

विशेष गरेर बस्तीमै चामल र अन्नको मदिरा बनाएर खाने यो समुदाय पछिल्ला दिनहरूमा बजारमा पाइने लिचि जस्ता अन्य मदिराका कारण कमजोर बन्दै गएका छन्।

पैसा माग्‍ने आदत

समुदायमा जाने जो कोही व्यक्तिसँग पैसा माग्ने र उक्त रकमले मदिरा र सुर्तीजन्य वस्तु किनेर खाने बानी राउटे समुदायमा बानीकै रूपमा विकसित भएको देखिन्छ।

बस्तीमा कुनै संस्था वा व्‍यक्तिले दिएको सामान राउटे समुदायले निकै सस्तोमा बिक्री गर्ने र मदिरा किनेर सेवन गर्ने प्रचलन बढेको छ। स्थायी बसोबास खेतीपाती लेखपढलाई महाशत्रु ठान्ने राउटे समुदाय विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले प्रदान गरेका सामग्रीसमेत बेचेर मदिराजन्य पदार्थ सेवन गर्ने र एकै ठाउँमा बस्न मान्दैनन्।

राउटे हेर्न टिकट काट्नुपर्ने

केही दिन अगाडि मात्र दैलेखको गुराँस गाउँपालिकामा बसाइँ सरेर आएको राउटे समुदायको अवलोकन गर्न जाने जोकोहीले अब टिकट काट्नुपर्ने भएको छ। गुराँस गाउँपालिकाले राउटे समुदायको अवलोकनको लागि टिकटको व्यवस्था गर्न लागेको हो।

विभिन्न क्षेत्रका मानिसहरूको राउटे बस्तीमा धेरै सहभागिता हुन थालेपछि गाउँपालिकाले टिकट काटेर मात्र राउटे समुदायको अवलोकन गर्न सकिने व्यवस्था मिलाउन लागेको गाउँपालिका अध्यक्ष खेमराज वलीले जानकारी दिएका छन्।

उक्त समुदायको अवलोकनका लागि धेरै मानिसहरूको चहलपहल हुने गरेको छ अध्यक्ष वलीले भने, 'राउटे समुदाय पर्यटनको आकर्षण पनि भएकाले अबदेखि टिकट काटेर मात्र यो समुदायको अवलोकन गर्न सक्ने व्यवस्था मिलाउन लागेका छौँ।' राउटे समुदाय हेर्न आउनेहरूकफ चहलपहलले गर्दा उनीहरूको संस्कृति हराउने सक्नेमा पनि वलीले चिन्ता व्‍यक्त गरे।

उनले राउटे समुदाय बसेको बस्ती वरपर तारबार गर्ने काम सुरु भइसकेको र राउटे हेर्न आउने मानिसहरूका लागि दुईजना गेटपास गराउने व्यक्ति गाउँपालिकाले राख्न लागिएको जानकारी दिए।

यो समुदायको अवलोकन गर्न र सहयोगको लागि भन्दै विभिन्न व्यक्ति संस्थाहरूबाट सहयोग आउने गरेको भए पनि कतिले के सहयोग गरे भन्ने यकिन नभइरहेका बेला टिकटको व्‍यवस्थाले लेखाजोखा राख्न सहज हुने अध्यक्ष ओलीको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.