|

विराटनगर : प्रदेश १ अन्तर्गतका जिल्लाहरूमा लामखुट्टेबाट सर्ने डेंगो रोगको प्रकोप बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न मोरङमा विशेष अभियान सञ्चालन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको संयोजनमा बिहीबार बसेको सरोकारवाला निकायको बैठकले प्रकोप नियन्त्रणका लागि समुदायमा आधारित विशेष अभियान चलाउने निर्णय भएको हो। बैठकले सबै स्थानीय तहअन्तर्गतका वडाहरूमा समुदायका सबै क्षेत्रको सहभागितामा सचेतना अभियान चलाउने निर्णय गरेको छ।

स्थानीय तहका प्रमुखको संयोजकत्वमा तहस्तरीय अभियान टोली परिचालन हुनेछ। यस्तै वडाअध्यक्षको संयोजकत्वमा वडाका स्वास्थ्य संस्था, विद्यालयका शिक्षक, स्वास्थ्य स्वयंसेवीका तथा संघसंस्थामा आवद्ध सामाजिक कार्यकर्ता सबैलाई समावेश गरेर वडाका टोलटोलमा डेंगोबाट बच्ने उपायको बारेमा सचेतना गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए।

अभियान अवधिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई फोकल पर्सनको रुपमा काम गर्ने जिम्मेवारी बैठकले दिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्यसम्बन्धी संस्थाहरूले डेंगो रोगका सम्बन्धमा जानकारीमूलक संदेशसहितको पर्चा र पम्प्लेट प्रकाशन गरी वितरण गर्ने अर्को महत्वपूर्ण निर्णय भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। उनका अनुसार जिल्लाका प्रत्येक सरकारी तथा निजी अस्पतालहरूमा आरआरटी (र्‍यापिट रेस्पोन्स टिम) अनिवार्य गठन गर्न निर्देशन गरिएको छ।

अब सबै अस्पतालले रेस्पोन्स टिम गठन गरेर डेंगो नियन्त्रणको काममा सहभागिता जनाउनेछन्। सुनसरीको धरानमा देखा परेको डेंगो प्रकोपको रुपमा विस्तार हुँदै सुनसरीका अन्य तह तथा मोरङ र झापामा पनि देखा पर्न थालेपछि नियन्त्रणका लागि प्रयास सुरु भएको हो। यस विषयमा जिल्लाका सबै सरकारी कार्यालयहरूलाई सचेत रहन सूचना सम्प्रेषण गर्ने निर्णय पनि बिहीबारको बैठकले गरेको छ।

बैठकले डेंगोसम्बन्धी जुनसुकै सूचना प्राप्त भएमा वा शंका लागेमा स्थानीय स्वास्थ्य संस्था वा वडास्तरीय, स्थानीय तहस्तरीय वा जिल्ला स्तरीय फोकल पर्सन समक्ष सूचना गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको संयोजकत्वमा बसेको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य संस्थाहरूको प्रतिनिधि, निजी क्षेत्रको प्रतिनिधि, उपभोक्ता, अधिकारकर्मी र सरोकारवाला संस्थाको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.