'दैनिक मिस्त्री काम गर्दा ८ सय पाइन्छ, तर राज्यले ५ सय १७ मात्रै'

|

दाङ : दाङका १० स्थानीय तहले क्रमिक रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्ने भएका छन्।

केही दिन अगाडि बबई गाउँपालिकाले एक सय जनालाई रोजगार दिई कार्यक्रम शुरुको थियो भने बिहीबार तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले पनि कार्यक्रम शुरु गरेका छन्। बेरोजगारलाई रोजगार प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको एकमहिने कार्यक्रममा युवादेखि वृद्धवृद्धालाई समावेश गरिएको छ। तर, रोजगार पाएकाले भने आफ्नो सीप र दक्ष अनुसारको काम नभएको बताउँछन्।

अहिले रोजगार पाएकाले आ-आफ्ना ठाउँमा भौतिक संरचना निर्माण गर्ने, सरसफाई गर्ने जस्ता काम पाएका छन्। तुलसपिुरमा ११ हजारले रोजगारको लागि फारम भरेका थिए। तीमध्ये पहिलो चरणमा १९ वटै वडाबाट ६ सय जनालाई रोजगार प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।

पहिलो चरणमा रोजगार पाएकाले २३ वटा योजनामा काम गर्ने उपमहागरका रोजगार संयोजक भागवत अधिकारीले बताए। उनीहरुले दैनिक ८ घण्टा काम गर्नुपर्ने  र दैनिक ज्याला ५ सय १७ तोकिएको उनले बताए। उनीहरुले भौतिक संरचना निर्माणदेखि सरसफाईसम्मका कामहरु गर्ने उनले बताए। त्यसका लागि सरकारले १ करोड बजेट पठाएको उनले बताए।

यता रोजगार पाएकाले भने आफूहरुको सीप र योग्यताअनुसारको काम नपाएको गुनासो गरेका छन्।  तुलसीपुर १३ बखरियाका २५ वर्षीय तेजबहादुर विश्वकर्मा यसरी आफ्नै ठाउँमा रोजगारी पाउँदा खुशी भएको बताए। उनले राज्यले एक महिनाको लागि मात्र नभई वर्षभरि रोजगारीको व्यवस्था गरिदिए आफू जस्तै युवा खाडी मुलुकमा जानु नपर्ने बताए। 

त्यस्तै, तुलसीपुर १ भमकेका २४ वर्षीय कमल सिजालीले सीपअनुसारको रोजगार दिनुपर्ने बताए। आफूले विद्युत् इलेक्ट्रिसन सिकेको भएता पनि अहिले उपमहानगरपालिकाले सरसफाई र भौतिक संरचना बनाउन रोजगार दिएकाले सीपअनुसारको काम नभएको बताए। उनले सीपको कदर नभई सबैलाई एउटै किसिमको रोजगार दिएको बताए।

त्यस्तै, तुलसीपुर १८ मनिकापुरकी २४ वर्षीया दीपा वलीले पनि घरमा त्यतिकै खाली बस्नुभन्दा रोजगार पाउदाँ खुशी भएको बताइन्। 'काम नपाउँदा घरमा बसेर खाना पकाउने भाडा मिझ्ने काम गरिन्थ्यो। अहिले नगरपालिकाले रोजगारको व्यवस्था गरिदिए खुशी लागेको छ' उनले भनिन, 'श्रीमानले मात्र बाहिर काम गर्नुहुन्थ्यो, उहाँको कमाईले घरखर्च चलाउन समस्या हुन्थ्यो, अब  मैले पनि रोजगार पाएपछि सजिलो भयो।'

त्यस्तै तुलसीपुर १९ स्यालापानीका ५५ वर्षीय मानबहादुर विकले पनि गाउँ ठाउँमै काम गर्न पाउँदा राम्रो लागेको भएता पनि ज्याला कमी भएको बताए। उनले दैनिक मिस्त्री काम गर्दा ८ सय पाइन्छ, तर राज्यले नै ५ सय १७ दिँदा कमी भएको बताए।

त्यसैगरी, तुलसीपुर १३ फुलवारीका ५५ वर्षीय जीतबहादुर विश्वकर्माले भने काम दिँदा उसको क्षमता र शारीरिक अवस्था हेरेर काम दिनु पर्ने सुझाए। 'हामीले रोजगार त पायौँ', उनले भने 'तर हामी बूढाले पनि युवाको जस्तै  काम गर्नपर्ने भएकाले त्यसमा ध्यान दिनुपर्छ।'

यता. तुलसीपुर उपहानरपालिका प्रमुख घनश्याम पाण्डेले एक घर एक रोजगार हुनु पर्ने कुरालाई अगाडि सारेको भन्दै रोजगारी गर्न चाहनेलाई रोजगारी प्रदान गर्ने बताए। तुलसीपुर उपमहानगरपालिकाबाट मात्रै रोजगारीका लागि ११ हजारले फारम भरेको र तीमध्येबाट पहिलो चरणका  ६ सय जनालाई १ महिने २३ वटा योजनामा रोजगार प्रदान गरेको नगरप्रमुख पाण्डे बताए। आगामी दिनमा अन्य बेरोजगारलाई रोजगार प्रदान गर्ने उनले बताए।

उता, घोराही उपहानगरपालिकामा पनि बिहीवारदेखि विभिन्न वडावाट कार्यक्रमको शुरुवात गरेको जनाएको छ। रोजगारको लागि घोराहीबाट १३ हजारभन्दा बढीले फारम भरेका थिए। तीमध्येबाट ४ सय  ७५ जनालाई पहिलो चरणमा एक महिनाको लागि रोजगार प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.