|

पर्वत : शुक्रबार जेठ महिनाको ३१ गते। स्थानीय तहको निर्वाचन भएको ठिक २ वर्ष पूरा भएको छ। देश संघीयतामा गएपछि पहिलोपटक भएको स्थानीय तहको निर्वाचले धेरैलाई काम, कर्तव्य र अधिकारका बारेमा दुविधा सिर्जना गरेको छ। यस्तै गुमराहमा परेका छन् वडामा निर्वाचित भएका सदहस्यहरू पनि।

वडासदस्यहरू भूमिकाविहीन हुँदा विकास निर्माणदेखि हरेक क्षेत्रमा उनीहरूको खासै सहभागिता भएको देखिएको छैन। वडा, नगरपालिका र गाउँपालिकामा हुने हरेक बैठक, निर्णायक क्षेत्र, विकासका हरेक गतिविधिमा ताली बजाउने बाहेक वडा सदस्यहरूको कुनै भूमिका नभएपछि उनीहरूमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ। 

सही गर्न आऊ भन्छन् निर्णय थाहा हुँदैन  

वडामा हुने हरेक निर्णय प्रक्रियामा वडाध्यक्षहरूको हालीमुहाली हुने गरेको वडामा निर्वाचित सदस्यहरूले बताउँदै आएका छन्। वडा सदस्यहरूको भूमिका खासै देख्न पाइँदैन। निर्णयहरू वडाध्यक्षहरूले एक्लै गर्ने र हस्ताक्षर मात्र वडा सदस्यहरूलाई मात्र गराउनेबाहेक वडा सदस्यहरू अरू भूमिकाहरूमा नराखिने गरिएको गुनासो वडाका सदस्यहरूबाट नै आउने गरेको छ।

कुस्मा नगरपालिका ३ की वडा सदस्य सुभद्रा गुरुङले भनिन्, ‘खास भन्ने हो भने भूमिका नै छैन। त्यहाँ सबै काम अध्यक्षको मात्र छ। निर्णय गर्दा र योजना पारित गर्ने बेलामा ल यहाँ सही गर्न आऊ भनेर बोलाउँछन्। हाम्रो अरू भूमिका मैले भोगेकी छैन’ उनले थपिन, ‘अध्यक्षले सबै काम सकेपछि सिग्नेचर गर्न मात्र बोलाउने गर्छन्। वडामा हाम्रो त खासै काम केही पनि नहुँदोरहेछ।’

आम सर्वसाधारणमा सबै भूमिका वडाध्यक्षहरूकै मात्र हुन्छ भन्ने छाप परेको छ भने वडाध्यक्षहरूले पनि हरेक निर्णय प्रक्रियामा सदस्यहरूलाई समावेश नगराउने गरेको सदस्यहरूको गुनासो छ। वडा सदस्यहरू पनि आफ्नाे भूमिकामा अनविज्ञ रहेकोले आफ्नाे भूमिका देखाउन चासो कमै राख्ने गरेका छन्।

जिल्लाको बिहादी गाउँपालिका २ बर्राचौरका वडा सदस्य शिव कुँवरले महत्त्वपूर्ण निर्णयमा पनि सदस्यहरूलाई थाहा नदिने गरिएको गुनासो गरे। उनले भने, ‘वडाध्यक्षद्बारा सदस्यहरूलाई विकासमा यिनीहरूको पनि काम छन् भनेर हामीलाई वास्ता गरिँदैन।अध्यक्षहरूले एकलौटी रूपमा लैजानुहुन्छ, वडामा त भूमिका नभएका हामीहरूलाई पालिकाले गर्ने निर्णय प्रक्रियामा समावेश गराउने त कुरै भएन।’ 

वडा सदस्यहरू समाजमा राम्रोसँग चिनिने अवसर नपाएकोमा समेत दुःखी छन्। कार्यक्रम र भेलामा उपस्थित भएर ताली बजाउनुबाहेक आफूहरूको काम नभएको धेरै वडा सदस्यहरूको गुनासो छ। फलेवास नगरपालिका ५ खानीगाउँकी केशा परियार दलित आरक्षण कोटाबाट निर्वाचित भएकी हुन्।

उनले महिला र त्यसमाथि दलित समुदायका कुरा नसुन्ने तथा निर्णय प्रक्रियामा सहभागी नै नगराउने प्रवृत्ति स्थानीय तहमा रहेको गुनासो गरिन्।

हामीलाई वास्ता गरिएको छैन

'म एउटा दलित र महिलाका रूपमा निर्वाचित भएर आएँ। दलितहरूको छुट्टै किसिमको कोटा हुन्थ्यो। त्यो खालको अहिले नगरमा छैन। यति बजेट भनेर छुट्ट्याएको अवस्था छैन' उनले थपिन्, ‘जस्ताको तस्तै बोल्ने हो भने वडामा गरिने निर्णयहरूमा हामीलाई वास्ता गरिएको छैन।’ वडा सदस्यहरू स्थानीय तहको नियमन गर्ने निकायसम्म कुनै गुनासो गर्न आएका छैनन्।

जिल्ला समन्वय समितिका संयोजक मनोहर विश्वकर्मा पौडेलले स्थानीय तहमा वडा सदस्यहरूले भूमिका नपाएको भन्नेबारेमा कुनै गुनासो आएको छ। उनले भने, ‘विभिन्न पालिकाहरूमा जाने बेलामा आफूहरूको भूमिकाका विषयमा सदस्यहरूले प्रश्नहरू त गर्नुहुन्छ।

तर, यहाँनेर यसरी अन्यायमा पारिएको छ। उपेक्षा गरिएको छ भनेर सदस्यहरूबाट कुनै पनि उजुरी आएको छैन।’ उनले थपे, ‘सदस्यहरूको भूमिका महत्त्वपूर्ण छ। चार जना सदस्यहरूको विमति रहने हो भने वडाध्यक्ष एक्लैले निर्णय गर्न त मिल्दैन। त्यसैले पनि सदस्यहरूले आफ्नाे अधिकार र दायित्वका बारेमा खोजी गर्नुपर्छ। स्थानीय तहका हरेक निर्णय प्रक्रियामा बराबर महत्त्व राख्नुपर्छ।’  

पर्वतमा २ नगरपालिका र ५ गाउँपालिका ६१ वडा छन्। हरेक वडामा ३ जना खुल्ला, १ महिला र १ दलित सदस्य छन्। हरेक स्थानीय तहमा निर्वाचित वडा सदस्यहरू चुनावअघि जुन उत्साह र राजनीतिक जोसमा निर्वाचनमा होमिएका थिए। त्यो अपेक्षा पूरा नभएको गुनासो गर्दै आएका छन्।

सम्बन्धित समाचारहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.