|

नुवाकोट : दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट–११ ले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा नुवाकोट–११ ले सङ्कटा क्लब काठमाडौँलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरी उपाधि हात पारेको हो।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टोलीले एक-एक गोलको बराबरी खलेको थियो। त्यसपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो।

मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो। मध्यान्तरपछि दुवै टोलीका तर्फबाट एक-एक गोल भएको थियो। सङ्कटाका लागि पुजन उपरकोटी तथा नुवाकोट–११ का लागि भिक्टरले गोल गरेका थिए।

टाईब्रेकरमा नुवाकोट–११ का लागि रुपेश केसी, भिक्टर, रमेश घिसिङ, अभिशेक बर्मा र राजिव लोप्चनले गोल गरेका थिए। सङ्कटाका लागि अमित तामाङ, दिपेश आलेमगर र एमेष्टले गोल गरेका थिए।

प्रतियोगिताको उपाधि विजेता नुवाकोट–११ ले ६ लाख रुपैयाँ तथा उप–विजेता सङ्कटाले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक नुवाकोट–११ का देव चित्रकार, उत्कृष्ट खेलाडी नुवाकोट–११ कै रुपेश केसी तथा म्यान अफ दी फाइनल नुवाकोट–११ कै गोलकिपर अर्पण कार्की घोषित भए।

प्रशिक्षक चित्रकारले २० हजार, उत्कृष्ट खेलाडी केसीले ५० हजार तथा म्यान अफ दी फाइनल कार्कीले १० हजार पुरस्कार प्राप्त गरेका थिए।

जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो। गत वर्ष प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.