स्थानीय भन्छन्- मापदण्डविपरीतका पेट्रोल पम्पले आङै सिरिंग हुन्छ

|

रूपन्देही :  बुटवलमा रहेका अधिकांश पेट्रोलपम्प नेपाल आयल निगमले तोकेको मापदण्डको न्यूनतम सर्तसमेत पूरा नगरी सञ्चालन भइरहेको पाइएको छ। बुटवल बजार क्षेत्रलगायत देवदह, सैनामैना तथा तिलोत्तमा नगरपालिकामा सञ्चालन भइरहेका अधिकांश पेट्रोलपम्पहरू मापदण्डलाई बेवास्ता गर्दै सञ्चालन भएको पाइएको हो।

मापदण्डविपरीत सञ्चालनमा रहेका यस्ता पेट्रोलपम्पहरूबाट एकातर्फ उपभोक्ताले सास्ती बेहोर्नुपरेको छ भने अर्कातर्फ सिंगो बुटवल क्षेत्र नै ठूलो विपद्को जोखिममा परेको छ।

मिलनचोकमा न्यू दुर्गा डिजल्स प्रालि र भैरव डिजल्स नेपाल आयल निगम तोकिएको दुई पेट्रोलपम्पबीचको न्यूनतम दूरीभन्दा नजिकै सञ्चालन भइरहेका छन्। निगमले दुई पेट्रोलपम्प बीचको न्यूनतम दूरी पुरानो मापदण्डअनुसार ५ सय मिटर र नयाँ मापदण्डअनुसार ३ सय मिटर हुनुपर्ने मापदण्ड तोकेको छ।

न्यु दुर्गा डिजल्सको करिब २ सय मिटर जति उत्तरमा नै भारी आयल स्टोर्स सञ्चालनमा छ। यो पेट्रोलपम्पको दुईवटा डिस्पेन्सर राखिएको छ। घरको देब्रे कुनामा राखिएको डिजेल डिस्पेन्सर बिना कुनै ओत खुलै राखिएको छ।

पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थलमा रहेका यी तिन पेट्रोल पम्प सिधै सडकमा नै जोडिएका छन्। उपभोक्ताका लागि तेल भर्न बिक्रेता ‘नोजल’ समाएर सडकमै आइपुग्छन्। मापदण्डमा सडकभन्दा २५ मिटर परको दूरीमा मात्रै पम्प सञ्चालन गर्न पाइने उल्लेख छ। सडक विस्तारको चपेटामा परेर अहिले यी दुवै पेट्रोलपम्प सडकदेखि १५ मिटरभन्दा कम दूरीमा सञ्चालन भइरहेका छन्।

मापदण्डअनुसार पम्प अगाडिको भूभाग कालोपत्रे गरिएको छैन। यी दुवै  पेट्रोलपम्प आवासीय घरहरूसँग जोडिएका छन्। सुरक्षाका लागि निगमले तोकेको ‘कम्पाउन्ड’ बिना नै सडक छेउमा सञ्चालित यी पम्प वरिपरि इलेक्ट्रोनिक पसल, एउटा मोटरसाइकल ‘वर्कसप’ लगायत आवासीय घरहरू छन्। 

राजमार्ग चौराहादेखि केही पश्चिममा रहेको मिलन ब्रदर्श सप्लायर्सको हालत झनै नाजुक छ। पम्पमा  रहेका पेट्रोल र डिजलका लागि बनाइएका दुई ‘फ्युल डिस्पेन्सर’ सडकपेटीमै जोडिएका छन्। पम्पको दाहिने दिशामा खुला क्षेत्रमा एउटा डिजेलको फ्युल डिस्पेन्सर यत्तिकै छाडिएको छ। पेट्रोललको फ्युल डिस्पेन्सर माथितिर विद्युतका तारहरू झुण्डिरहेका छन्। जुनसुकै बेला पनि विद्युत् सर्ट भएमा सीधैं आगलागीको जोखिम स्पष्ट देख्न सकिन्छ।

कुल ५५ हजार लिटर क्षमता भएको यो पेट्रोलपम्पसँगै जोडिएर आवासीय घरहरू रहेका छन्। पेट्रोल र डिजेल चुहिएर सडक चिसो देखिन्छ। व्यस्त सडकमा उपभोक्ता सडकमै रोकिएर पेट्रोल भर्छन् अनि गन्तव्यतिर लाग्छन्।

पूर्वपश्चिम राजमार्गमा रहेका रानीबगियाको एसके डिजल्स, ढबाहाको लम्साल आयल सप्लायर्स, बेलबासको डिजेल सप्लायर्स, जितगढीको एमएस ट्रेडिङ, जितगढी र पुष्पलाल पार्कको गैरे डिजल्सलगायत बुटवलका पेट्रोलपम्पहरू मापदण्डविपरीत सञ्चालनमा छन्।

धेरैजसो मापदण्डविपरीत

बुटवलको मुख्य बजार क्षेत्रमा रहेका माथि उल्लिखित यी पेट्रोलपम्पहरूले रूपन्देही जिल्लाका अधिकांश पेट्रोलपम्पहरूको कथा बोलिरहेका छन्। मापदण्डअनुसार महानगर वा उपमहानगर क्षेत्रभित्र पेट्रोलियम पदार्थको साधारण बिक्रेताका लागि जग्गाको लम्बाइ कम्तीमा २० मिटर, चौडाइ १२ मिटर र कुल क्षेत्रफल कम्तीमा डेढ रोपनी वा दुई कट्ठा हुनुपर्छ।

अनुमति प्राप्त काजगातसहित चार फायर एस्टिङयुसर, बालुवा भरिएको १० लिटर क्षमताका चार बाल्टिन, एउटा/एउटा सावेल र गैँती हुनुपर्छ। हजार लिटर पानी भरिएको ट्यांकी, ३ फिट वा बढीमा ५ फिटसम्म उचाइ भएको ‘कम्पाउन्ड’ पर्खाललगायत पूर्वाधार हुनुपर्ने प्रावधान छ। बुटवलमा रहेका पेट्रोल पम्पहरूले फायर सुरक्षाका लागि महत्वपूर्ण मानिएका यिनै मापदण्ड उल्लंघन गरेर सञ्चालनमा आएका हुन्।

८ लाख ७५ हजार जनसंख्या रहेको रूपन्देही जिल्लामा १ सय ३१ वटा पेट्रोलपम्प सञ्चालनमा छन्। तीमध्ये देवदह, बुटवल, तिलोत्तमा, सैनामैना लगायत मुख्य बजार क्षेत्रमा मात्रै ७५ वटा पेट्रोल पम्पले कारोबार गरिरहेका छन्। निगमको भलवारी डिपोअन्तर्गत बाग्लुङ र स्याङ्जालगायत साबिकको लुम्बिनी अञ्चलका ६ वटै जिल्लाहरूमा गरी ३ सय वटा पेट्रोलपम्पहरूले कारोबार गरिरहेका छन्।

पेट्रोल पम्पको धराप

बुटवल मिलनचोकमा बिना कम्पाउण्ड नै सञ्चालनमा रहेको भैरव सप्लायर्स पेट्रोलपम्पको नजिकै मोटरसाइकल मर्मत गर्ने वर्कसप छ। वर्कसपमा दैनिक वेल्डिङलगायत काम भइरहने भएकाले उक्त पम्पमा आगलागीको जोखिम उच्च छ। सप्लायर्सको अर्कोतर्फ आवासीय घरहरू छन्।

मिलनचोकको भारी आयल सप्लायर्ससँगै जोडिएर रेश्मा टेण्ट हाउस सञ्चालनमा छ। टेण्ट आफैँमा प्रज्वलनशील कपडा भएकाले जुनसुकै बेलामा पनि आगलागीको सम्भावना रहन्छ।

नेपाल आयल निगमको आधिकारिक बिक्रेताको बोर्ड झुन्ड्याएर सडकमा नजिकै अति प्रज्वलनशील पदार्थ बिक्री गरिरहेको यस पम्पमा सुरक्षाको प्रबन्ध छैन। यी पम्पहरूमा पेट्रोलियम पदार्थ बिक्री गर्दा आइलाग्नसक्ने जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार  छैनन्।

बुटवलमा रहेका पम्पहरूको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाई, लाइटरजस्ता आगजनीजन्य वस्तु लिएर र धूमपान गरेर संवेदनशील क्षेत्रमा जानसक्ने वातावरण हुनुले पेट्रोल पम्पहरू जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेका छन्।

५ लाख जनसंख्या बसोबास गर्ने बुटवलमा अधिकांश पेट्रोल पम्प सडकमै आइपुगेका, घरसँग जोडिएका र सघन बस्तीभित्र छन्। केही स्कुलको नजिक छन्। यस्ता पम्पछेउ भएर तानिएका विद्युतको तार सर्ट हुने जोखिम पनि छ। सम्भावित जोखिम नियन्त्रण गर्न चाहिने पर्याप्त पूर्वाधार यी पम्पसँग छैन। अधिकांश पम्पहरूले अग्नि नियन्त्रक यन्त्र राखेका छैनन्। केहीले बाल्टिनमा पानी र बालुवा तथा गिट्टी राखेको भए पनि अति प्रज्वलनशील पदार्थ रहने यस्ता पेट्रोलपम्पहरुका विपत्ति नियन्त्रण गर्न यी साधनहरू पर्याप्त छैनन्। 

स्थानीय भन्छन्- आङ नै सिरिंग हुन्छ

पेट्रोलपम्प आफ्नै घरको छेउमा हुँदा आफूलाई सधैं त्रास महसुस भएको स्थानीय मिलनचोकको स्थानीय भरत केसी बताउँछन्। ‘जुनसुकै बेलामा पनि आगलागीको जोखिम छ। अझै यी पेट्रोलपम्पहरू सुरक्षाका हेतुले मापदण्डविपरीत छन् भन्दा आङ नै सिरिंग हुन्छ।’ केसी भन्छन्।

असुरक्षित यी पम्पहरू कुनै पनि बेला विपद्को कारक बन्न सक्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नोर्वु लामा बताउँछन्। ‘प्रदेशको अस्थायी राजधानी जस्तो सघन बस्ती भएको क्षेत्रमा सम्भावित विपद्का बारेमा अहिल्यै गम्भीर रूपमा सोचिनुपर्छ।

पेट्रोल पम्प आसपासको ठाउँ जोखिमयुक्त क्षेत्र हो।’ लामा भन्छन्, ‘मापदण्ड मिचेर सञ्चालनमा रहेका पम्पहरूले जुनसुकै बेला पनि ठूलो जोखिम निम्त्याउन सक्छन्।’ 

उपभोक्ता अधिकारकर्मी लामाले नियमनकारी निकाय उदासीन भएकाले पेट्रोलपम्पहरू मापदण्डभित्र आउन नसकेको आरोप लगाउँछन्।  ‘व्यवसायीहरू सधैँ पैसाकै पछाडि लागिरहेका हुन्छन्,’ लामा भन्छन्,‘ तर, लगाम कस्ने निकायहरू चुप बस्छन्। आखिरमा सास्ती पाउने उपभोक्ताले हो।’

यता पटकपटक पूर्वाधार विना जोखिमपूर्ण ढंगले पम्प सञ्चालन गरेको भन्दै भनेर नेपाल आयल निगमले पम्प बन्द गर्ने निर्देशन दिँदासमेत केही पेट्रोलपम्पले मानेका छैनन्।

नियामक निकायलाई ‘हाइसञ्चो’

पेट्रोल, डिजेल, मट्टीतेलजस्ता अति प्रज्वलनशील पदार्थको कारोबारस्थल असुरक्षित र मापदण्डविपरीत भएको पटकपटक उजुरी गर्दासमेत नियमनकारी निकाय उदासीन देखिएका छन्। बजारमा रहेका पेट्रोलपम्पहरूको अनुगमन गर्ने जिम्मा नेपाल आयल निगमको हो।

बुटवललगायत यस क्षेत्रका ८ वटा जिल्ला हेर्ने नेपाल आयल निगमको भलवारी डिपोका प्रमुख सुरज शाहले ‘फायर सुरक्षा’का हिसाबमा रुपन्देहीका पेट्रोलपम्पहरू मापदण्डविपरीत रहेको स्वीकार्छन्।

डिपो प्रमुख शाहले धेरै पेट्रोलपम्पहरु नियमावली जारी गर्नुपूर्व नै सञ्चालनमा आइसकेका हुनाले उनीहरूलाई मापदण्डभित्र ल्याउन गाह्रो परिरहेको बताउँछन्। ‘केही पेट्रोलपम्पहरू निकै पुराना पनि छन्। स्थापना भइसकेपछि मापदण्ड आएकाले केही पेट्रोलपम्पहरूसँग न्यूनतम पूर्वाधारहरू पनि छैनन्। यस्ता पेट्रोलपम्पहरूलाई बन्द गरिहाल्ने अवस्थामा पनि छैनौं’ उनी भन्छन्।

जिल्ला प्रशासन कार्यालय, रूपन्देहीमा मापदण्डहीन पेट्रोल पम्पले असुरक्षा बढाएको भन्दै उपभोक्ताले हालेको एक दर्जनभन्दा धेरै उजुरीहरू छन्। यी उजुरीका आधारमा जिल्ला प्रशासन बजार अनुगमनमा गएको छैन्।

बरु दुई महिनाअगाडि जिल्ला प्रशासनले पेट्रोल पम्प व्यवसायीलाई नै आफैँ अनुगमन गर्ने जिम्मा दिएको थियो। व्यवसायी आफैँ गएर अनुगमन गर्दासमेत २५ प्रतिशत पेट्रोलपम्पहरू मापदण्ड विपरित भएको पाएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपाने बताउँछन्।

पेट्रोल पम्पहरूको नियमन गर्ने मुख्य जिम्मेवारी नेपाल आयल निगमको भएपनि पेट्रोल पम्पहरूले सुरक्षा जोखिम बढाए भने जिल्ला प्रशासन कार्यालयले समेत अनुगमन गर्न सक्छ।

बजार अनुगमन समितिकी प्रमुखसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले मापदण्डविपरीतका पेट्रोलपम्पहरूले निम्त्याउन सक्ने जोखिमबारे थाहा पाएको बताएपनि जोखिम कम गर्न कुनै ठोस कार्यक्रमबारे बताउँन सक्दिनन्। ‘यो आयल निगमको कार्यक्षेत्र भएकाले हामीले धेरै बोल्न मिल्दैन।

तर मापदण्ड विपरीतका पेट्रोलपम्पहरुले सुरक्षामा चुनौती थपेकाले अनुगमनका लागि २ महिना अगाडि नै मार्यविधि बनाएका छौं।’  सहायक प्रजिअ घिमिरे बताउँछिन्।

व्यवसायी भन्छन्- मापदण्डमा जाँदै छौँ

नेपाल आयल निगमले २०७५ सालमा नयाँ नेपाल आयल निगमको नयाँ मापदण्ड निकै महत्वकांक्षी भएकाले आफूहरू मापदण्डमा जान नसक्ने पश्चिमाञ्चल पेट्रोललियम डिलर्स एसोसियसनका अध्यक्ष प्रेम न्यौपाने बताउँछन्।

२०७५मा निगमले केही हेरफेरसहित तोकेको नयाँ मापदण्डमा व्यवसायीहरूलाई निरुत्साहित बनाउने खालको भएको उनी टिप्पणी गर्छन्। मापदण्डमा तोकिएका बुँदाहरुमध्ये जग्गाको मापदण्ड आफूहरूलाई स्वीकार्य नभएको उनी बताउँछन्। जग्गाबाहेकका अन्य मापदण्डमा भने सबै व्यवसायीहरू जन तयार रहेको न्यौपाने बताउँछन्।

‘पेट्रोल पम्पहरू खोल्ने समयमा नै मापदण्ड मिचेर खोलिएका होइनन्। पछि नयाँ मापदण्ड आयो, बाटो विस्तार पनि भयो। यी दुवै कारणले मापदण्ड आफैँ मिचिन पुगेका हुन्। यद्यपि, हामीहरू सबै सुरक्षाका सबै सक्दो उपाय अवलम्बन गर्दै नयाँ मापदण्डमा विस्तारै जाँदैं छौ।’ उनले भने।

यस्तो छ मापदण्ड

पेट्रोल पम्प सञ्चालनसम्बन्धी पुरानो मापदण्ड र निर्देशिकामा एक पम्पदेखि अर्को पम्पको दूरी न्यूनतम ५०० मिटर हुनुपर्ने उल्लेख छ। निर्देशिकामा १० किलोका तीनवटा अग्नि नियन्त्रक ग्यास सिलिण्डर, न्यूनतम एक हजार लिटर पानी, बालुवा, साबेल, पिग, बाल्टिनलगायत सामग्री हरदम तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ।

सडकभन्दा २५ मिटर परको दूरीमा मात्रै पम्प सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख छ साथै पम्प अगाडि रहेको जमिन कालोपत्रे हुनुपर्ने मापदण्डमा छ। पम्पमा आउने सेवाग्राहीलाई अनुकूल हुनेगरी शौचालयको व्यवस्था गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

त्यस्तै, २०७५मा आयल निगमले नयाँ पेट्रोलपम्पहरूका लागि जारी गरेको मापदण्डअनुसार साधरण विक्रेता र पेट्रोल विक्रेताबीचको बिक्री स्थलको दूरी कम्तीमा ३ सय मिटरको दूरीमा हुनुपर्नेछ। तर, पूर्वपश्चिम राजमार्गको हकमा भने उक्त दूरी पाँच सय मिटरबाहिर हुनुपर्नेछ।

प्याक्ट बिक्रेताको हकमा नमुना पम्प बिक्रेताको बिक्रीस्थलभन्दा कम्तीमा पाँच किमी बाहिर हुनुपर्छ। एउटा नमुना पम्प बिक्रेताको बिक्रीस्थलबाट अर्को पम्पको दूरी १० किलोमिटर र उक्त स्थलमा मट्टीतेल बिक्रेताबाहेक अन्य कुनै बिक्रेतालाई नियुक्ति नदिने नयाँ मापदण्डमा उल्लेख छ।

निगमले दुई वर्षअगाडि परिकल्पना गरेको नमुना पम्पका लागि तराई र मधेसमा एक बिघा जमिन हुनुपर्ने प्रावधान छ। हिमाल र पहाडमा ५ रोपनी हुनुपर्नेछ। यो पम्प २४ सै घण्टा सञ्चालन गर्नुपर्नेछ। पुरानो डिस्पेन्सिङ मेसिन जडान गर्न नपाइने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.