काठमाडौंमा साना सवारी साधन रोक्नुपर्ने प्रहरीको निष्कर्ष

|

काठमाडौं : ‘हेल्लो ! राजकुमार जी, बोल्नुभयो?’ एक प्रहरीको फोन आयो। ‘हजुर बोल्दै छु’, जवाफ फर्कियो। म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला।‘

ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग भए। कुनै सवारीलाई ठक्कर दिएको छैन। कुनै प्रहरीसँग सिफारिश छैन। कुनै ट्राफिकलाई चिनेको पनि छैन, तर एक्कासी भेट्न आउनुस् भनेर फोन आउँछ। उनी अच्चममा परे। ‘आ होइन होला! कसैले झुक्याउन फोन गर्‍या होला’, राजकुमारको मनमा यस्तैयस्तै विभिन्न विचार खेल्न थाल्यो।

विषय बुझ्ने राजकुमारको छटपटी रोकिएन। साथीभाइलाई फोन गरेर सोधे। आफूलाई कल आएको नम्बरबारे चिनजानका प्रहरीलाई सोधे। त्यसपछि बल्ल ट्राफिक प्रहरीबाटै फोन आएको उनलाई पक्का भयो। फोन चाहिँ किन आयो त? बुझ्नका लागि काम छाडेर हस्याङ्फस्याङ गर्दै उनी महाशाखा पुगे।

अभिलेख हेरेर प्रहरीले भने, ‘ल तपाईंले लेन मिच्नुभएको छ’, मैले कसरी लेन मिच्नु, घरमा काम गरिरहेको मान्छ’, उनले प्रतिवाद गरे। ‘एक्कै छिन् पक्नुस् है’, सिसी टिभीको श्रव्यदृष्य खोल्दै खोजतलास तथा सिसीटिभी कारवाही शाखाका एक जना प्रहरीले भने।

अघिल्लो दिन ठीक ६ बजेर १५ मिनेट १० सेकेण्डमा माइतीघरमा लेन मिचेको श्रव्यदृष्यबाट प्रष्ट देखियो। त्यसपछि उनी मलिन अनुहारमा रशिद लिएर ट्राफिक कक्षा लिनतिर लागे। यो प्रतिनिधि घटना हो। महाशाखामा अहिले दैनिक सयौँ यस्ता घटना आइरहेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पठाइएको अभिलेख केलाउँदैमा सिसीटिभी शाखाका प्रहरीलाई भ्याइनभ्याइ छ।

शुक्रबार उक्त शाखामा यसैगरी बोलाइएका मानिसको भीड थियो। सामान हराएर खोजतलासका लागि आएकासमेत थपिँदा दुई प्रहरीलाई काममा दबाब परेको देखिन्थ्यो। जनशक्ति र प्रविधिको अभावका बीच नै प्रहरीले यसरी प्रविधिमार्फत ट्राफिक नियम उल्लङ्घनविरुद्ध कारवाही अभियान तीव्र पारेको छ।

पहिले सडकमा बसेका ट्राफिकको आँखा छलेपछि कारवाहीबाट पार पाइन्थ्यो तर अब आँखा छल्दैमा सुख पाइँदैन। हरेक व्यक्तिको सडकमै अभिलेख रहनेगरी अनुगमन भइरहेकाले काठमाडौं उपत्यकाको मुख्य सडकमा प्रहरीको आँखा छलेर गरेको गल्तीमा समेत कारवाही भोग्नुपर्नेछ। प्रहरीको आँखा छल्दैमा प्रविधिको आँखा छल्न कहाँ सकिन्छ।

‘होइन, गरेकै छैन भन्दै धेरै आउँछन्, झगडा गर्छन्, तर क्यामराको फुटेज देखेपछि चुप लाग्छन्’, नियन्त्रण कक्षका एक ट्राफिक प्रहरीले अनुभव सुनाए। उपत्यकाको मुख्यमुख्य क्षेत्रमा ५१४ सिसी क्यामरा सञ्चालनमा छ। क्यामराको नियन्त्रक कक्ष महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ। जडान गरिएकामध्ये १५१ सिसी क्यामरा ट्राफिक प्रहरी महाशाखाले नै हेर्न सक्छ।

प्रहरीले त्यही सिसी क्यामराले खिचेको श्रव्यदृष्यबाट नियम मिच्ने सवारीको नम्बर लिएर यातायात व्यवस्था कार्यालयमार्फत गाडी धनीको विस्तृत विवरण लिन्छ। त्यसपछि प्रहरीले टेलिफोन गरी सम्बन्धित गाडी धनीलाई महाशाखामा बोलाउँछ। ‘तीन पटकसम्म उनीहरूलाई फोनमार्फत बोलाइन्छ, नआए पत्राचार गरिन्छ, त्यसपछि पनि नआए नियन्त्रणमा लिएर प्रमाणसहित कारवाही गर्छौँ’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले भने। पछिल्लो तीन महीनादेखि यो क्रमलाई तीव्रता दिइएको उनले बताए। मानवीयरूपमा मात्रै ट्राफिक व्यवस्थापन चुस्त नहुने देखेर प्रविधियुक्त व्यवस्थापनमा प्रहरी लागेको छ।

ब्रेथ एनालाइजरको प्रयोग गरेर मापसे नियन्त्रण अभियान जारी छ। गोप्रो क्यामरा, सर्भिलेन्स भेइकलका माध्यामबाट नम्बरप्लेटको आधारमा पहिचान गरी कारवाही गर्ने प्रक्रियासमेत चलिरहेको प्रमुख पन्तले बताए।

प्रहरीले फोन गरेर बोलाएकै आधारमा जेठ महीनामा मात्रै १५० लाई कारवाही गरेको छ। सिसी क्यामराको आधारमा तत्कालै पिछा गर्दा स्थलगतरुपमै भेटेर कारवाही गरेको सङ्ख्या ८५६ रहेको छ। सर्भिलेन्स भेइकलमा प्रयोग गरेको सिसी क्यामराबाट ३९ कारवाही परेका छन्।  चालू आर्थिक वर्षमा सिसी क्यामराबाट प्राप्त दृश्यको आधारमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल सात हजार १०६ कारवाही परिसकेका छन्।

महाशाखा प्रमुख पन्तका अनुसार ट्राफिक व्यवस्थापनमा हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ। सडक, सवारी र ट्राफिक नियमका बारेमा व्यक्ति कमै जानकर छन्। सचेतनाको अभावमा समस्या बढ्दो छ। ‘सडकमा कसरी हिँड्ने, कहाँ र कसरी पार्क गर्ने, कसरी दायाँ¬बायाँ जाने, व्यक्ति धेरैलाई थाहै छैन, अलीअली जानेकाहरु छल्न खोज्छन्, अझै ठूलो समस्या भनेको हरेक मान्छे सडकबाटै पार गर्छन्, जसले दुर्घटनालाई निम्त्याइरहेको छ’, पन्तले थपे।

अहिले ट्राफिक प्रहरीले ओभरहेड ब्रिज बनाउन र सिग्नल बनाइदिन सडक विभागलाई लेखेर पठाएको छ। साँच्चै नै काठमाडौंमा ट्राफिक व्यवस्थापन गर्ने नै हो भने ठूला सवारी साधन भित्र्याएर सानालाई मुख्य सडकमा रोक्नुपर्ने प्रहरीको निष्कर्ष छ।

काठमाडौं उपत्यकाको शान्तिसुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य सडकमा ट्राफिक नदेखेपछि जथाभावी गाडी दौडाउँदा दुर्घटनाको जोखिम भएपछि सिसीटिभीको श्रव्यदृश्यका आधारमा कारवाही थालिएको बताउछन्।

‘ट्राफिक नभएका बेलामा बढी लापरवाही भो, त्यसैले हामीले अहिले काठमाडौंमा टेक्नोलोजी प्रयोगलाई बढाएका छौँ, योक्रम काठमाडौंसहित भक्तपुर र ललितपुरमा पनि चल्दै छ’, उनले जानकारी दिए।

नेपालमा प्रहरीको सङ्ख्या न्यून छ। हरेक ठाउँमा प्रहरीले निगरानी गर्न सक्दैन। त्यसैले प्रविधि प्रयोगमा प्रहरीले ध्यान केन्द्रित गरेको हो। जिल्लास्तरमा समेत सक्दो प्रविधिको प्रयोग गर्न सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अगाडि प्रहरी देखे मात्रै सतर्क हुने तर प्रहरी नदेखे लापरवाहीपूर्ण तरिकाले गाडी चलाउँदा हुने दुर्घटना रोक्न यो अभियान महत्वपूर्ण हुने प्राध्यापक नरेन्द्र ठगुन्नाको भनाइ छ। यस्ता कार्यक्रम प्रभावकारीरुपमा लैजानुपर्नेमा उनको जोड छ।

  • रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.