|

तनहुँ : तनहुँको आँबुखैरेनी र चितवनको मुग्लिन जोड्ने पुल सञ्चालनमा आएको छ। त्रिशूली नदीमाथि निर्माण सम्पन्न भएको आर्क ब्रिजको दायाँबायाँ दुवैतर्फको पर्खाल सतह काटेर टेवा पर्खाल लगाउने कार्य तथा सडक कालोपत्रे गर्न बन्द गरिएको सडक सञ्चालनमा आएको भएको पुल आयोजना सेक्टर नम्बर २ मध्यक्षेत्र पाटनढोका ललितपुरले जनाएको छ।

यस सडक जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिँदै आएको थियो। त्रिशुली नदीमाथि बनेको मुग्लिनको पुल र सडक सतहलाई मिलाउन पुल आयोजना सेक्टर नम्बर २ मध्यक्षेत्र पाटनढोका ललितपुरले दैनिक १० घण्टा बन्द गराउँदै आएको थियो ।

यातायात सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ। तोकिएको समयमा नै काम पूरा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुझाव दिएको थियो । ‘रातारात काम गरेर तोकिएको समयमा काम पूरा गर्न निर्माण कम्पनीलाई सुझाव दिएका थियौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले भने, ‘बन्दले यात्रुलाई सास्ती भएकाले काम छिटो सक्न भनेका थियौं। सोहीअनुसार भयो र समयमै काम सकिएकाले सहज भएको छ।’

सडकको दायाँबायाँ दुवैतर्फको सडक पुल सतहभन्दा अग्लो भएकाले सडक सतहलाई कटिङ गरी आवश्यक लेवल मिलाउन बन्द गरिएको आयोजना इन्जिनियर रमेश सुवेदीले बताए। नदीको वारिपारि दुवैतर्फ लेबल मिलानका लागि सडक सतह कटिङ गरी टेवा पर्खाल लगाउने काम अहिले पूरा भएको छ। पुल र सडकको लेबल मिलेकाले अब कालोपत्रेको काम सुरु गरिने इन्जिनियर सुवेदीले बताए।

पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशको राजधानी पोखराका अतिरिक्त तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङलगायतका जिल्लाहरुमा सवारीसाधन आवतजावतमा त्रिशूली नदीमाथिको पुलले जोडेको छ। यो सडकमा  दैनिक पाँच हजार सवारीसाधन गुड्ने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। 

असार ९ देखि नयाँ पुलमाथि यातायातका साधन गुड्ने तयारीका साथ काम भइरहेको इन्जिनियर सुवेदी बताए। १२ करोड रुपैयाँ लागतको पुल निर्माणको जिम्मा एलाइट एडभेञ्चर लोहनी जेभीले पाएको थियो। पुल १६० मिटरको लामो र ११ मिटर चौडाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.