नेवारहरू भनिरहेका छन् - भाजुला बेइमान खनी!

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले गुठी विधेयक, २०७५ जस्ताको तस्तै पारित भए पनि किसानले केही नपाउने बताएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि विनियोजित वार्षिक बजेटमाथिको छलफलमा भाग लिँदै सांसद थापाले सत्तापक्षले गुठी विधेयकले किसानलाई जग्गा मिल्ने भनेर अफवाह फैलाएको आरोप लगाए।

उक्त वेधयक पारित भएमा 'बुटबलको सुकुम्बासीले बालुवाटारको जग्गा पाउला, किसानले केही पनि पाउनेवाला छैन', भन्दै थापाले सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई व्यंग्‍य गरेका हुन्। उनले नेकपाका महासचिव विष्णु पौडेललाई बुटवलको सुकुम्बासी भनेका हुन्। पौडेलको नाम बालुवाटारको सरकारी जग्गा विवादमा मुछिएको छ।

सांसद थापाले मन्त्रालयले परिपक्व कार्यक्रम ल्याउन नसकेको बताए। अव्यवस्थित बसोबासको पहिचान र त्यो समस्या हल गर्नका लागि एक करोड रुपैयाँ मात्रै छुट्याएको भन्दै उनले मन्त्रालय नागरिकका लागि फाइदा हुने कार्यक्रम तय गर्न असफल भएको बताए। उनले भने, 'एक करोड रूपैयाँ मात्रै अव्यवस्थित बसोबासको पहिचान र हल गर्नका लागि छुट्याइएको छ। यो हेर्दा ऐतिहासिक सम्पदा निमिट्यान्न पार्ने कोष पनि थपे हुन्छ। गुठी, जात्रा सबै निमिट्यान्न पार्न संकल्प लिएको सरकारसँग रकम नभए राम्रो हुँदैन।'

नेकपाका सांसदहरूले भनेजस्तो गुठी सम्पति नभएको बताए। उनले भने, 'सरकारले बुझेको गुठी भनेको जग्गा हो। सम्पत्ति हो। गुठी जग्गा होइन, सम्पति हुँदै होइन। सभ्यता, कला, संस्कृति, सम्पदा, इतिहास हो।'

थापाले उक्त विधेयस वर्तमान अवस्थामा नै लिने हो भने गृहमन्त्रालयले आन्दोलन दबाउने कोष खडा गर्नुपर्ने सुझाव दिएका थिए।

गुठीले काठमाडौंका नेवारलाई जोडेर राखेको थापाको भनाइ थियो। केही गुठी सामन्तवादी संस्कारका भए पनि र किसानलाई समस्यामा पारेका भए पनि काठमाडौंका गुठीमा त्यस्तो चरित्र नभएको उनको भनाइ थियो। गुठीका विषयमा जनतालाई भिडाउन नहुने उनको भनाइ थियो।

ज्वाइँहरू बेइमान परेछन्

सांसद थापाले काठमाडौंका नेवार समुदाय सरकार र नेकपाप्रति असन्तुष्ट बनेको बताएका थिए। उनले एक व्यंग्य सुनाउदै नेवार समुदाय आक्रोशित रहेको बताएका हुन्।

प्रधानमन्त्रीले युरोप भ्रमण सकेर काठमाडौं आएपछि आफ्ना नेताहरूलाई के भइरहेको छ भनेर सोधेको र काठमाडौंका जनता के भनिरहेका छन् भनेर सोधेको जवाफमा प्रधानमन्त्री निकट नेकपाका नेताले काठमाडौंका जनता 'भाजुला बेइमान खनी' भनिरहेका छन् भेनको सुनाए। त्यो भनेको ज्वाइँहरू बेइमान रहेछन् भन्ने हो। नेकपाका शिर्ष नेताहरूले काठमाडौंका नेवारहरूसँग विवाह गरेका छन्। जसलाई लिएर सांसद थापाले यो व्यंग्‍य बनाएका हुन्।

सरकार यसरी नै अगाडि बढेमा मुठेभडको अवस्था आउन थापाको भनाइ थियो। उनले भने, 'यसरी नै सरकार अगाडि जाने हो भने मुलुक मुठभेडतिर जानेछ। सरकारले मुलुकलाई मुठभेडतिर नलगोस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.