|

दैलेख : द्वन्द्वको बेला चपेटामा परेको नौमूलेले मुहार फेर्दै गएको छ। यो ठाउँमा यसरी परिवर्तन आउला भन्ने नसोचेका बताउँछन् स्थानीय। द्वन्द्वकालीन समयमा यहाँका स्थानीयलाई गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थानमा भाग्‍नुपर्ने बाध्यतामा थियो।

द्वन्द्वलाई नजिकबाट निहालेका नौमूले गाउँपालिकाका सन्तबहादुर चन्द अहिले उतिबेलाको नौमूले अहिले यसरी परिवर्तन होला भनेर कल्पनासमेत नगरेको बताउँछन्।

'द्वन्द्व कालमा लाश पर्दा मलामी भेटाउन्न मुस्किल हुने नौमूले क्षेत्रमा स्थानीय सरकार आएपछि निकै ठुलो परिवर्तन भएको छ।' नौमूले गाउँपालिकाको केन्द्र नौमूलेमा अहिले एक मिटर जग्गाको मूल्य ३ लाख ५० हजार पुगेको उनी बताउँछन् ।

द्वन्द्वकालीन समयमा आफ्नो ज्यान जोगाउन गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थान खोज्दै हिँडेका परिवारहरू अहिले घर फर्किएका छन्। नौमूले बजारमा अहिले पक्की भवनहरू धामाधम निर्माण भइरहेका छन्। भने पुराना साना झुपडीहरू पर्यटकको आकर्षण बनेका छन्।

संघीयतापछि ८ वडामा विभाजन गरिएको नौमूले गाउँपालिका केन्द्रबाट आठै वडाहरू जोड्ने सडकहरू निर्माण हुन थालेका देखिन्छन्। दैलेख सदरमुकाम नारायण नगरपालिकाबाट नौमूले पुग्ने मुख्य सडक आउँदो वर्ष कालोपत्रे गर्ने योजनामा गाउँपालिका रहेको गाउँपालिका प्रमुख भेद बुढामगर बताउँछन्।

तीन जलविद्युत् निर्माण हुँदै

जलविद्युतको निकै ठूलो सम्भावना बोकेको नौमूले गाउँपालिकामा अहिले तीनवटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। निर्माण हुँदै गरेका आयोजनाले पनि नौमूले क्षेत्रको आर्थिक अवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउने देखिएको छ।

नौमूलेमा रहेको द्वारी खोला जलविद्युत् आयोजनाको निर्माण कार्य समपन्न भइसकेको छ। भने पदम खोला जलविद्युत् आयोजनाको काम सकिने अवस्थामा रहेको र अपर लोहोरे जलविद्युत्  आयोजनाले जग्गा खरिदको काम ८० प्रतिशत सकिसकेको तथा तीव्र गतिमा काम अगाडि बढिरहेको गाउँपालिका प्रमुख भेद बूढा मगरले बताए ।  

पर्यटको आकर्षण नौमूले

तीन चुले लेक, द्वारी झरना, महावु क्षेत्रलगायत जडीबुटीको प्रशस्त सम्भावना रहेको नौमूलेमा अहिले आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दुसमेत बनेको गाउँपालिका प्रमुख बुढामगरले बताए। पछिल्ला दिनहरूमा नौमूले क्षेत्रमा एक महिनामा ६० देखि ७० जनासम्म आन्तरिक बाह्य पर्यटक द्वारी झरना हेर्न आउने गरेको र पर्यटकका लागि झरनाको फेदमा होमस्टे सञ्चालनमा आएको बुढाले बताए । 

यहाँ भएको जडीबुटीको प्रशोधन र संरक्षण मनमोहक लेक र झरना नौमूलेकको पर्यटनका आकर्षक भएको उनी बताउँछन्। नौमूले गाउँपालिकामा रहेका मनोरम दृश्यहरूको दृश्यावलोकन गर्न र फेरिएको नौमूले हेर्नका लागि पनि आन्तरिक र बाह्य पर्यटकहरू बढिरहेको गाउँपालिकाकी उपप्रमुख अमृता सिंह बताउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.