|

जुम्ला : जुम्ला र मुगुबीचका जनप्रतिनिधिले दुई जिल्लाबीचको सीमा विवाद समाधान गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। करिब चार हजार मिटर उचाइ रहेको घुच्ची लेकको सिम्पाटी चौरमा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सुरक्षाका प्रमुख सहभागिता बैठक बसेको हो ।

मुगु जिल्लाका समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायानाथ रारा नगरपालिकाकी उपप्रमुख सुन्तला रोकाया, कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष नरविर रावत सहित, जुम्ला र मुगुका सुरक्षा प्रमुखहरू तथा स्थानीयको उपस्थितिमा दुई जिल्लाको सीमाको विषयमा स्थानीय स्तरमा छलफल भएको हो। दुई वर्षअघि मुगुको छायानाथ रारा नगरपालिकाले हालेको गेट जुम्लाका स्थानीयले भत्काएपछि सीमा विवाद चर्किएको हो।

भोगचलनको आधारमा जुम्ला कनकासुन्दरी १ र छायानाथ रारा नगरपालिका १ ले गेट हालेको स्थान र सिम्पाटीचौर  दुवै पक्षले दाबी गर्दै आएका थिए। जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको अध्यक्षतामा बसेको बैठकले  दुई जिल्लाको सीमासम्बन्धी विवादको विषयमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नापी नक्साको आधारमा विवाद टुंगो लगाउन अनुरोध गर्ने निर्णय गरेको छ।

वस्तु चराउने लेक साझा भएकाले आफुहरुसँग समन्वय नगरी जुम्लाको सिमामा गेट लगाउने काम भएकाले आवाज उठाइएको कनकासुन्दरी १ का अध्यक्ष हरिबहादुर भण्डारीले बताए। यता छायानाथ रारा नगरपालिका७ का अध्यक्ष हरिजंग शाहीले गेट भत्काएकाले विवाद बढेको बताए । छलफल बैठकमा नापी कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापा र मुगुका प्रमुख हरिहर चौलागाईले नापी नक्साकै आधारमा विवाद टुंगो लाग्ने बताए ।

दुवै जिल्लाका सीमाका वडाले आ आफ्नै जग्गा भएको दाबी गर्दै आएका छन्। कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरवीर रावतले भोगचलन दुवैको भए पनि सीमा निर्धारण विषयमा नेपाल सरकार र नापी नक्साकै आधारमा निर्धारण हुनुपने तर्क गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.