|

भद्रपुर (झापा) : मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति गृहमा सुत्केरीकाृ स्वास्थ्यमा अस्पतालले हेलचेक्र्याइँ गरेको पाइएको छ। शल्यक्रिया गरी सुत्केरी भएकालाई अप्रेसन थिएटरबाट बाहिर निकाली बेडसम्म पुर्‍याउँदा कर्मचारीले हेलचेक्र्याइँ गरेको पाइएको हो।

अप्रेसन थिएटरबाट निकालिएका बिरामीलाई अस्पतालका नर्स वा कर्मचारीले स्टेचरमा बेडसम्म पुर्‍याउनुपर्नेमा बिरामीका आफन्तलाई उक्त काम अह्राउने गरेको आफन्तले गुनासो गरेका छन्। अप्रेसन थिएटर र बिरामी राख्ने बेड तलामाथि र तल रहेको छ। अप्रेसन थिएटरबाट एक तलामाथि रहेको बेडमा पुर्‍याउने काम बिरामीका आफन्तले नै स्टेचरबाट बोकेर लाने गरेका छन्।

शल्यक्रिया गरिएको बिरामीको स्वास्थ्यप्रति अस्पताल व्यवस्थापन समिति चासो नदेखाएको बिरामीका आफन्तहरुले गुनासो गरेका छन्। अस्पतालको प्रसूति गृह जीर्ण रहेको, त्यसमाथि घुमाउरो सिडीबाट रगत सुक्न नपाउँदै शल्यक्रिया गरिएको बिरामीलाई अस्पतालका कर्मचारीभन्दा अन्यले बोकेर बेडसम्म लैजानुपर्ने अवस्था रहेको बिरामीका एक आफन्त तारादेवी बास्तोलाले गुनासो गरिन्।

‘स्टेचरमा राखेर बिरामीलाई सिँढीबाट बोकेर माथिसम्म लैजाँदा ५ देखि १० मिनेट लाग्छ’, बास्तोलाले भनिन्, ‘त्यस अवधिमा कुनै दुर्घटना भए कसले जिम्मेवारी लिन्छ ?’ 

प्रसूति गृहको अप्रेसन थिएटर पछाडि स्टेचरमा बिरामी राखेर लाने ठाउँ भए पनि त्यसको प्रयोग नगरिकएको बिरामीका आफन्तहरुको दाबी छ। यस्तै, प्रसूति गृह भवनभित्र र बाहिर फोहोरमैलाले दुर्गन्धित हुने गरेको उनीहरुले बताएका छन्। ‘बिरामी र बिरामीका कुरुवा फोहोरमैलाकै कारण बिरामी पर्न सक्छ,’ कुरुवा सीता विष्टले थपिन्। 

अस्पतालको शौचालय फोहोर भएकै कारण अस्पतालभित्र बस्न समेत कठिन हुने गरेको चन्द्रकला बास्तोलाले गुनासो पोखिन्। ‘अत्यधिक गर्मी बढेको छ, तर, प्रसूति गृहमा पङ्खाको व्यवस्था छैन,’ उनले भनिन्, ‘बिरामीहरू कसरी बस्न सक्छ यति गर्मीमा?’

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले बिमारीहरूका आफन्तजनले राखेको समस्या जायज भएको बताए। पुरानो अस्पताल भएका कारण समस्या आएको उनको भनाइ छ। समस्यालाई समाधान गर्न अस्पताल प्रशासन तयार रहेको बताउँदै डा. ठाकुरले भने, ‘अस्पतालको नयाँ भवन प्रयोगमा आए लगतै समस्याको समाधान हुन्छ।’ 

२०६४ सालमा भारत सरकारको २१ करोड रुपैयाँ सहयोगमा अस्पतालको प्रसूति गृह बनेको थियो। एक मात्र सरकारी अस्पताल रहेको भद्रपुरमा प्रसूति र चेकजाँच गराउने आउने महिलाको सङ्ख्या बढ्न थालेको छ। अस्पतालमा दैनिक ६ देखि १० जना सम्म महिलाहरू सुत्केरी हुने गरेको अस्पतालको तथ्यांक छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.