|

रामेछाप : मन्थली नगर कार्यपालिकाको बैठकमै नगर प्रमुख रमेशकुमार बस्नेतमाथि आक्रमण भएको छ। 

सोमबार बसेको नगर कार्यपालिका बैठकमा कार्यपालिका सदस्य उद्धव रम्तेल, वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्की र वडा नम्बर १२ का अध्यक्ष कृष्णहरि अधिकारीले आफूमाथि आक्रमण गरेको नगर प्रमुख बस्नेतले बताए। आक्रमणबाट नगर प्रमुख बस्नेतको टाउकोमा चोट लागेको छ।

गत आर्थिक वर्षमा वडा नम्बर ५ मा विनियोजन भएको एक करोड १५ लाख रुपैयाँमध्ये काम हुन नसकेपछि ७८ लाख रुपैयाँ संचित कोषमा फिर्ता भएको थियो। फिर्ता आएको उक्त रकम वडामा जानुपर्ने र योजना कार्यान्वयन हुनुपर्ने वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्कीले चालू आर्थिक वर्ष सुरु भएदेखि नै माग गर्दै आएका थिए। त्यही विषयलाई लिएर कार्यपालिकाको बैठकमा सधैं विवाद हुने गरेको नगर प्रमुख बस्नेतको दाबी छ।

एक आर्थिक वर्षमा काम हुन नसकेर संचित कोषमा फिर्ता भएको रकम नयाँ आर्थिक वर्ष सुरु भएपछि नगरयोजना बनाएर खर्च गर्नुपर्ने भएकाले वडाले माग गरेजस्तै जस्ताको तस्तै दिन नसकिएको नगरप्रमुख बस्नेतको भनाइ छ। तर, उक्त विषय कार्यपालिकाको बैठकमा पटक–पटक उठेपछि कार्यपालिकाको २१ औं बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेर वडाले गरेको कामको स्थलगत निरीक्षण गराएको थियो। कार्यदलले निरीक्षण गरेको १५ वटा योजनाहरुमध्ये सात वटा योजनामा काम भएको, सात वटामध्ये एउटा योजनामा उपलब्धीविहीन काम भएको र अन्य योजनाहरुको प्रक्रिया नमिलेको प्रतिवेदन पेश गरेको थियो। 

प्रतिवेदनको आधारमा कार्यपालिकाको २२ औं बैठकले कामको आधारमा प्रक्रिया मिलाएर भुक्तानी दिने निर्णय गरेको नगरप्रमुख बस्नेतको भनाइ छ। तर वडा अध्यक्षले तत्कालै भुक्तानी दिनुपर्ने भन्दै आक्रमण गरेको बस्नेतको दाबी छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले प्रक्रिया नपुगेको योजनाको भुक्तानी दिन नमिल्ने बताउँदै टेबुल ठोकेपछि बैठकमै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरी आक्रमण भएको नगरपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.