|

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङलाई सरकारले ३० लाख रुपैयाँ सहायता प्रदान गरेको छ। बैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थमन्त्रालयले उनलाई ३० लाख रुपैयाँ दिएको हो।

अर्थमन्त्रालयले गुरुङलाई ३० लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख गरे पनि संघका अध्यक्ष गुरुङले भने हो भन्न सकेनन्। ‘खातामा आएको छ भन्ने खबर सुनेको छु, हो कि होइन थाहा छैन’ गुरुङले थाहाखबरसँग भने। उनले आफ्नो खातामा आएको रकममको पुष्टि नगरी सिडियो कार्यालयबाट जानकारी लिन आग्रह गरे।

गत फागुन २४ गते बसुन्धारस्थित व्यवसायी गुरुङको घरमा विस्फोट गराइएको थियो। विस्फोटबाट गुरुङको गाडी पूर्णरूपले ध्वस्त भएको छ भने घरमा पनि क्षति पुगेको छ।

गुरुङसँगै झापा बिर्तामोडका धुव्रकुमार सिवाकोटीलाई पनि सरकारले ३० लाख रुपैयाँ प्रदान गरिएको छ। त्यस्तै, विमला विश्‍वकर्मालाई पाँच लाख रुपैयाँ, गोविन्दराम गौतमलाई पाँच लाख, कमलसिंह क्षेत्रीलाई एक लाख र हिमाल बिकलाई आठ लाख रुपैयाँ सहायता प्रदान गरेको छ।

जेठ महिनामा मात्रै सरकारले एक करोड ४५ लाख सहायता वितरण गरेको छ। मन्त्रिपरिषद् बैठकले जेठ १० मा गरेको निर्णयअनुसार सिद्धिचरण प्रतिष्ठानको अक्षयकोषसहित १० जनालाई आर्थिक सहायता उपलब्ध गराउन ५६ लाख रुपैयाँ गृह मन्त्रालयको नाममा निकासा गरिएको छ। त्यस्तै, काभ्रेका नीलबहादुर बस्नेतलाई आर्थिक सहायता उपलब्ध गराउन पनि पाँच लाख रुपैयाँ उपलब्ध गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.