हामीले गर्न खोजेको के हो? निधार खुम्च्याएर सोचौँ : पूर्वसभामुख

|

काठमाडौं : मुलुकको समसामयिक परिस्थिति र विदेश भ्रमणबारे संसदमार्फत जानकारी दिन रोप्ट्रममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण एक शब्द बोल्न पाएनन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पहिला आफूले बोल्न पाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेर रोष्ट्रम घेराउ गरेपछि रोष्ट्रममा पुगेका प्रधानमन्त्री एक शब्द बोल्न नपाइ फर्किएका हुन्। गुठी विधेयकको विवादबारे, ९ दिने युरोप भ्रमणबारे र समसामयिक भ्रमणबारे बोल्ने तयारी गरेर संसद पुगेका प्रधानमन्त्रीले त्यो वातावरण संसदमा पाएनन्।

संसदमा प्रतिपक्षीको अवरोधले बोल्न नपाएका प्रधानमन्त्री ओलीले आफ्ना धारणा सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलन बोलाएका छन्। मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलन आयोजना गरेका छन्।

संसदमा प्रधानमन्त्रीले बोल्न नपाएको विषयमा सत्तापक्ष र प्रतिपक्षका नेताहरूले आ-आफ्नै किसिमले व्याख्या गरेका छन्।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीले बोलेपछि आफ्नालागि बोल्ने कुरा नै बाँकी नरहने भएकाले अवरोध गरिएको बताएका छन्। उनले प्रतिपक्षीलाई संसदमा प्राथमिकता हुनुपर्ने धारणा राखेका थिए। संसद अवरोध भएपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने, 'प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो। पहिले उहाँ बोलिसकेपछि के बोल्ने मैले? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज। जहाँ पनि विपक्षीले पहिले बोल्ने हो। जवाफ प्रधानमन्त्रीले दिने हो। सुरुमा कहाँ बोल्छन्?' देउवाको यो प्रश्न थियो। उनले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै आफूले पहिले बोल्न पाउनुपर्ने अडान कांग्रेसले राखेको बताए।

पूर्वप्रधानमन्त्री तथा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भने प्रतिपक्षीको माग नै नाजायज भएको बताए। उनले भने, 'माग नाजायज थियो। प्रधानमन्त्रीले बोल्ने भनेपछि संसदीय मर्यादा र परिपाटीअनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ। त्यसपछि प्रतिपक्षले बोल्न पाउने हो।' उनले प्रतिपक्षी दलले सभामुखको रुलिङ पनि नमानेको बताए। उनले भने, 'सभामुखको रुलिङ पनि त्यै थियो। त्यो कुरालाई पालन नगर्नु भनेको गलत संसदीय नजिर कायम गरेको देखियो। प्रधानमन्त्रीले बोल्न खोजेपछि बोल्न पाउनुपर्छ।'

नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले भने यसरी विरोध गरेर कस्तो प्रणाली स्थापना गर्न खोजिएको हो भनेर प्रश्न गरेका थिए। कसैको आलोचना नगर्ने र कसैलाई पनि यो अवरोधको जिम्मेवार नभन्ने भनेर प्रतिक्रिया दिन सुरु गरेका नेम्वाङले भने, 'सत्तापक्ष र प्रतिपक्ष लगायत सबै दलहरू, सिङ्गो नागरिक समाज, पत्रकार तपाईं हामीले लामो समय संघर्ष गरेर स्थापना गरेको प्रणाली संसदीय प्रणाली हो। यो प्रणालीमा प्रधानमन्त्रीले समय मागेपछि पहिला बोल्ने र त्यसपछि प्रतिपक्षको नेताले बोल्ने पालो हो।' उनले थपे, 'विदेशबाट आएपछि प्रधानमन्त्रीले बोल्ने परम्पराअनुसार बोल्न दिने प्रणाली थियो। प्रधानमन्त्रीले बोल्नका लागि समय माग्नुभएको हो। सभामुखले बोल्न दिनुभएको हो। समय पाएअनुसार प्रधानमन्त्री रोष्ट्रममा जानुभएको हो।'

नेम्वाङको अनुरोध थियो, 'संसदीय प्रणालीबारे  सबैले निधार खुम्च्याएर सोचौँ।'

कांग्रेसका  प्रमुख सचेतक बालकृष्ण खाँणले भने अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्‍यो भनेर संसद अवरोध गरेको बताए। उनले भने, 'हामीले सुरुमा बोल्न पाउनुपर्‍यो भनेर सभामुखलाई भनेका थियौँ। उहाँले बोल्न दिनुभएन । हाम्रो अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्‍यो भनेका हौँ।'

प्रमुख प्रतिपक्षी दलका नेताले विभिन्न राष्ट्रिय मुद्दाहरूमा आफ्ना धारणा राखेपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने खाँणको भनाइ थियो। गुठी सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा सम्बन्धी विधेयकमा राष्ट्रिय चासो रहेको र प्रधानमन्त्रीलाई सुनाउनका लागि देउवाले तयारी गरेको खाँणले जानकारी दिए। उनले भने, 'गुठी सम्बन्धी विधेयकमा बोल्ने हाम्रो नेताको तयारी थियो। दलको नेताले बोलेपछि प्रधानमन्त्री बोलेको भए सुल्टो हुन्थ्यो।  उहाँहरूले जबर्जस्ती गर्नुभयो र प्रधानमन्त्रीले बोल्न खोज्नुभयो। पहिला हामीले समय मागेका हौँ।'

प्रधानमन्त्रीले बोल्नका लागि आज मात्रै समय मागेको खाँणको भनाइ थियो। उनले पहिला प्रतिपक्षी दलका नेताले समय मागेकाले प्रतिपक्षी दलका नेता बोलेर प्रधानमन्त्रीले बोलेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.