|

संखुवासभा : अविरल वर्षासँगै आएको पहिरोले किमाथांका सडक खण्ड अवरुद्ध भएको छ।

पहिरोले मकालु गाउँपालिका ५ मा निर्माण भइरहेको अरुण तेस्रोको करोडौं निर्माण सामग्री पुरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएस्पी मीम लामाले जानकारी दिए। पहिरोले निर्माणाधीन ९ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइडमा समेत क्षति पुर्‍याएको छ। 

पहिरोले मकालु गाउँपालिका ३ नयाँ बस्तीमा रौता कन्ट्रक्सन कम्पनीको बुमर मेशिन एक थान, स्काभेटर दुई थान, लोडर एक  थान, ट्याक्टर एक थान, कम्प्रेसर मेशिन एक थान, जेनेरेटर एक थान, रड बनाउने मेशिन एक थान पुरिएको प्रहरी प्रमुख लामाले जानकारी दिए। त्यस्तै पहिरोले मकालु गाउँपालिका ५ मा निर्माणाधीन ड्याम साइड क्षेत्रमा समेत क्षति पुर्‍याएको छ।

आयोजनाको ड्याम साइडको कम्प्रेसर मेशिन एक थान, फलामको पाइप भएको एक ट्रक, वाटर पम्प पाँच थान, फलामको रड २ सय क्विन्टल ,गिट्टी फुटाउने मेसिन एक थान बगाएको प्रहरीले जनाएको छ। 

पहिरोले किमाथांका सडक ठाउँ ठाउँ अवरुद्ध 

पहिरोले किमाथांका सडकको चिचिला गाउँपालिका ४ स्थित सुम्मा भिरदेखि कप्ताने सम्मको सडकमाथिबाट झरेको पहिरोले बगाएको छ। पहिरोले मकालु गाउँपालिका ५ नुम बजारबाट फ्याक्सिन्दा जाने सडक बगाउँदा यातायात अवरुद्ध भएको बताइएको छ। पहिरोले मकालु गाउँपालिकाको विभिन्न भूभागमा  लाखौं बराबरको अन्नबाली समेत बगाएको छ। 

पहिरोले किमाथांका सडक खण्डको यातायात सुचारु हुन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ। सडक खण्डमा पहिरो पन्छाउने काम भइरहेको भए पनि वर्षाका कारण समस्या भएको बताइएको छ। उक्त क्षेत्रमा टेलिफोन र विद्युत् समेत अवरुद्ध छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.