|

कतारलाई वर्ल्डकप आयोजनाको जिम्मा दिँदा भ्रष्टाचार भएको आशंकामा फ्रान्सेली एन्टी–करप्सन ब्यूरोले यूरोपेली फुटवल युनियनका पूर्वअध्यक्ष मिचेल प्लाटिनीमाथि छानविन तीब्र पारेको छ। ६३ वर्षीय प्लाटिनी सन् २०१५ मा नैतिकता उल्लंघन गरेको आरोपमा पदबाट वर्खास्त भएका थिए।

तीनपटक बेलन डेओर जितिसकेका प्लाटिनीले आँफूमाथिका सबै आरोप खारेज गर्दै आएका छन्। कतारले सन् २०१० मा रकम बोलकबोल गर्ने क्रममा अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई पछाडि पार्दै वर्ल्डकप आयोजना गर्ने जिम्मा पाएको थियो। उक्त सम्झौताअनुसार सन् २०२२ को वर्ल्डकप फुटबल कतारमा हुनेछ।

अनुसन्धान अधिकारीले सन् २०१८ र २०२२ का वर्ल्डकप आयोजक घोषणा गर्दा भ्रष्टाचार भएको आशंका गरेका हुन्। उनीहरूले यसअघि सन् २०१७ मा फिफाका पूर्वप्रमुख सेफ ब्लाटरसँग पनि बयान लिएका थिए। ब्लाटरसँग अवैध रुपमा २० लाख स्विस फ्यांक लिएको पाइएपछि प्लाटिनी अनुसन्धानमा तानिएका थिए। प्लाटिनीले जस्तै ब्लाटरले पनि आरोप अस्विकार गर्दै आएका छन्।

प्लाटिनीमाथि लगाइएको आठ वर्षे प्रतिवन्धलाई उनकै अपिलको आधारमा चार वर्षमा झारिएको थियो, जुन यसै वर्षको अक्टोवरबाट समाप्त हुने छ। दुई वर्ष लामो अनुसन्धानपछि फिफाको छानविन समितिले कतारलाई भने भ्रष्टाचारको आरोपबाट सफाइ दिइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.