देउवाले संसदीय मर्यादा बिर्सेकोमा दया लाग्यो

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने:

प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिल्यै बोल्न पाउनुपर्छ भन्ने बालहठ लोकतन्त्रमा कहीँ पनि हुन्न।

पहिले आफूले बोल्न पाउनुपर्छ कांग्रेसले भनेर अड्डी मात्र लिएर वेलमा गएर संसदको काम कारबाही अवरुद्ध गर्‍यो। विषय केही पनि थिएन। लोकतन्त्रमा अरूले बोल्दा पहिले प्रधानमन्त्रीले र त्यसपछि प्रतिपक्ष र मर्यादाक्रम अनुसार बोल्ने हो।

हरेक क्षेत्रमा निहुँ खोज्ने गरेको देखेर कांग्रेसको दया लाग्यो। लामो लोकतान्त्रिक आन्दोलनमा लागेका मेरा मित्र शेरबहादुर देउवाले नेतृत्व गरेर वेलमा जानुभयो। म आश्चर्य चकित भएँ। उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने।

संसदमा बोल्न नपाएपछि अहिले पत्रकार सम्मेलन गर्न खोजेको होइन। त्यसले संकेत गरेका कुरातर्फ मात्रै ध्यानाकर्षण गरेको हो। लोकतन्त्र, गणतन्त्र, संघीयता, जनताको शासन, जनतान्त्रिक प्रणालीकाविरुद्ध अलोकतान्त्रिकहरूको मोर्चाबन्दी स्पष्ट देखिएको छ। घोर दक्षिणपन्थीदेखि घोर वामपन्थी तत्वसम्म अति वामपन्थीदेखि अति दक्षिणपन्थी एकजुट देखिएका छन्। लोकतान्त्रिक शक्तिहरूमा यस्तो बेलमा एकता हुनुपर्ने तर विमती भएको देख्दा आश्चर्य लाग्छ।

विस २००७ सालमा पनि परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिलाई साथमा लिनाले संविधान बन्न सकेन। लामो समय लाग्यो। जनपक्षीय शक्तिलाई देखि नसहने कारणले २०१७ सालको घट्ना भयो।

कांग्रेसले लोकतान्त्रिक आवरणभित्र प्रतिक्रियावादी आचरण पहिरिएको छ। फलानै सरकारमा रहनुपर्ने र फलानो प्रतिपक्षमा नै रहनुपर्ने भन्ने न्याय होइन। जब-जब आफूभन्दा इतरका पार्टी सत्तामा आउँछन् त्यसलाई स्वीकार्नुपर्छ। आफूआए ठीक छ, आफू नआए लोकतन्त्र चल्दैन भन्ने ठीक छैन। यो बहुतै गम्भीर खालको अवस्था हो।

सबैलाई भन्न चाहन्छु कि यत्रो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व र कर्तव्य हो। सरकार देश र देशको सार्वभौम सत्ता, स्वाधिनता, स्वाभिमान प्रति ढृढ छ। यो भनिएको मात्रै कुरा होइन। गरिएको काम र राखिएको अडान हो।

अहिलेको सरकार लोकतान्त्रिक मूल्य मान्यताहरूका निम्ती लडेर आएको पार्टीको हो। अरूले ल्याइदिएको लोकतन्त्र स्वीकारेर आएको होइन। आन्दोलनको लामो श्रृंखलामा अग्र भागमा रहेर, संविधान लेखेर संघर्ष गरेर आएको हो। परिवर्तन ल्याएर आएको हो। यो पार्टी अचानक फुत्त कतैबाट निस्किएर, सेनसेसन वाला नारा दिएर सरकारमा पुगेको होइन। लामो संघर्षका उतारचढावबाट आएको लोकतन्त्र प्रति प्रतिवद्ध सरकार हो। प्रणाली मात्रै होइन प्रक्रियामा पनि प्रतिबद्ध पार्टी हो।

हाम्रो पार्टी र सरकार जिम्मेवार प्रेस, स्वतन्त्र प्रेस र मानवअधिकारप्रति प्रतिबद्ध छ। वातावरणीय पक्षहरूमा दूरगामी रूपमा ध्यान दिएर चल्छ। यो सरकार देश बनाउने अभिभारा बोकेर अभियानमा संलग्न छ। त्यसैकारण साम्प्रदायिक विद्वेश भड्काउन खोजिँदा त्यसका पछि लागेन। सामाजिक न्याय र सामानतामा आधारित राष्ट्रिय एकतामा सदैव जोड दियो। फेरि पनि सामाजिक समानतामा आधारित एकतामा जोड दिन्छ। शान्ति, स्थिरता र स्थायित्वकमा सरकारले जोड दिन्छ।

सरकार समृद्धिमा लागेको छ। यसबाट केही तत्व आत्तिएका छन्, समृद्धिका काम अगाडि बढाउछ भनेर। म दृढताका साथ भन्छु समृद्धिको यात्रा अगाडि बढ्छ। विकास र समृद्धिको यात्रालाई अगाडि बढाउँछ।

प्रधानमन्त्रीको पत्रकार सम्मेलन जारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.