|

पर्सा : नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई कारोवार गर्ने सटही काउण्टरमाथि पर्सा प्रहरीले निगरानी बढाएर ४ कारोवारी पक्राउ गरेकाे छ।

पछिल्लो समयमा भारतीय सीमा नजिकै खुलेका सटही काउण्टरहरूले अवैध ढंगले काउण्टर खोली अवैध कारोवार गरिरहेको चर्चा चलिरहेकै समयमा पर्सा प्रहरीले निगरानी बढाउँदा पर्सामा तीन भारतीयसहित चारजना पक्राउ परेका हुन्। उनीहरूको साथबाट तीन लाख ३० हजार १०० भारतीय र ३१ हजार नेपाली नोट बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

राज्यको नियमनकारी निकायसँग स्वीकृति नै नलिई पछिल्लो समयमा भारत सरकारले प्रतिवन्ध गरेका नोट समेत सटही गर्दै कारोवार गरिएको भेटिएपछि प्रहरीले त्यस्ता कारोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। 

भिडियो मिक्सिङ ल्यावभित्रै सटही कारोवार

आर्थिक नगरी वीरगन्जको मुटु मानिने घण्टाघर चौकमा रहेको कामेश्वर भिडियो मिक्सिङ ल्यावको भित्रबाट पनि सहटी काउण्टरका नाममा यस्तो कारोवार गरेको भेटियो। अझ भारतीय ५०० दरका नोट समेत फेला परेपछि कामेश्वर भिडियो मिक्सिङ ल्यावका संचालक कामेश्वर साह कलवारलाई पनि पक्राउ गरिएको छ। उनीसँगै अवैध भारतीय रुपैयाँको कारोवारमा सम्लग्न ३ भारतीय पनि पक्राउ परेको उनको भनाइ छ। 

अवैध ढंगले सटही काउण्टरका संचालन गर्दै आएका पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीका कलवार, भारतको बिहार राज्य मजफ्फरपुर समस्तिपुरका सहदेव महतो सोही ठाउँका रामचन्द्र महतो र भारतकै गुलाठीपुरका सहदेव कुमार कमराऊ रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

पक्राउ परेका व्यक्तिहरू मध्ये सटही काउन्टर संचालक कलवारको साथबाट २७ हजार भारतीय र ३१ हजार नेपाली नोट बरामद भएको छ। त्यसै गरी सहदेव महतोको साथबाट १ लाख २६ हजार भारतीय नोट फेला परेको छ। त्यसै गरी रामचन्द्रको साथबाट ६५ हजार र कमराऊको साथबाट १ लाख १२ हजार भारतीय नोट फेला परेको उनको भनाइ छ। 

स्वीकृतिविना नै सटही काउन्टर 

कानुनतः कतैबाट इजाजत नलिई यतिकै कोठा कोठाबाट यत्रो अवैध कारोवार गर्न त्यो पनि पाइन्न। त्यसमा पनि प्रतिवन्धित रुपैयाँका भारतीय नोट लिएर हिड्न र कारोवार गर्न त छुट हुने कुरा भएन प्रहरी नायव उपरीक्षक शर्माले भने। सहटी काउण्टर भन्ना साथ अवैध ढंगले कारोवार संचालन र कारोवार गर्न पनि कसैलाई छुट छैन उनले थपे। पक्राउ परेका अभियुक्तहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बुधबार थप कारवाहीका लागि मध्यमाञ्चल राजश्व कार्यालय पथलैयामा पठाउने तयारी भएरको पर्सा प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.