प्रधानमन्त्रीको आग्रह : जनताका अधिकार दरबारमा बुझाइएका इतिहास नदोहोर्‍याऔँ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकको निहुँमा लोकतन्त्रमाथि प्रहार भएकाले सरकारले फिर्ता गर्ने निर्णय गरेको प्रस्ट  पारेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री पद्मा अर्यालले राष्ट्रियसभामा दर्ता गरेको विधेयक फिर्ता लिएकोमा आफ्नो पूर्ण समर्थन रहेको पनि बताए। उनले आफू युरोप भ्रमणमा गएका बेला नेपालमा गुठी विधेयकलाई लिएर साम्प्रदायिक द्वन्द्व फैलाउन खोजेको पनि आरोप लगाए।

युरोपको ९ दिने भ्रमण नेपालको लागि सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले त्यति बेला नेपालको आन्तरिक अवस्था भने राम्रो नभएको बताए। उनले सबै दलहरूलाई लोकतन्त्र जोगाउन लाग्नुपर्ने बताए। उनले दलहरूलाई विकास निर्माण र लोकतन्त्रको बचाउमा लाग्न आम नागरिकसँग आह्वान गरेका थिए।

प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा राखेका कुराको सम्पादित अंश :

म विदेशमा गएपछि यहाँ केही तनाव बढाउने कुराहरू भएछन्। खास गरी गुठी विधेकलाई लिएर।

२०३३ सालमा बनेको ऐनले गुठी संस्थान बनायो। त्यसले राम्रो काम गर्न सकेन भन्ने पहिलेदेखि नै गुठीयारहरूले भन्दै आएका थिए। गुठी संस्थानलाई सुदृढ बनाउन खोज्दा अदालततबाट आदेश लिएर आए। त्यसपछि प्राधिकरण गरौँ भन्ने कुरा भयो।

गुठी विधेयकबारे उल्टो र भ्रमपूर्ण प्रचार भएको छ। अहिले ल्याउन खोजेको विधेयक गुठीको संरक्षण गर्नका लागि हो, गुठीको दुरुपयोग नहोस् भन्नका लागि हो। काठमाडौंभित्र धार्मिक, निजी गुठी छन्। परिवार जस्तो बनाएर संस्कृति र चाडसँग मिलेर बनाएका छन्। तिनीहरूको संरक्षण होस्, हिनामिना नहोस् भनेर हो। प्राधिकरणले गुठी संचालन गर्ने होइन। गुठी संचालन प्राधिकरणले गर्ने व्यवस्था विधेयकमा छैन। बहुतै भ्रमपूर्ण कुरा गरियो।

कस्ता-कस्ता मान्छे गुठीवाला आन्दोलनमा छन्, म भन्न चाहन्न। म सम्झिन्छु कति गुठीको संस्कृति र परम्पराको माया गर्ने आन्दोलनमा छन्!

रातमा क्रेन लिएर भक्तपुरको चोकमा मूर्ती मर्काएको देखेकै हुँ। जनताले संरक्षण गरेका थिए। कति मूर्ती हराए। हराउन नपाउन, गायब नहुन् भनेर विधेयक ल्याइएको हो। संरक्षण होस् भनेर ल्याइएको हो।

२०३५ सालमा गुठी निर्देशिका जारी भयो। राज गुठी र निज गुठी बन्यो। राजगुठीलाई चार भागमा विभाजन गरियो तर पनि समस्या समाधान भएन। त्यसपछि (शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला) राष्ट्रियसभामा दर्ता भएको विधेयक संसद भङ्ग भएकाले अगाडि बढेन। पछि पनि विधेयकहरू आउन खोजे।

गुठीबारे काठमाडौंको अवस्था एउटा छ बाहिरका गुठीको समस्या अर्को छ। गुठीका नाममा जनता मारमा परेका छन्। ती ठाउँको व्यवस्था गर्नु एउटा कुरा हो। काठमाडौंका गुठी यसै गरी सुरक्षित ढंगले अगाडि बढ्नुपर्छ भन्ने हो। तर, कुरा मिसमास गरियो।

घाँसको हरियो स्याउलो के भेटिएको थियो। एउटा डालोभित्र हजार वटा हरेऊ देखा पर्ने स्थिति बन्यो। त्यस कारण भर्खरै भूमिसुधारमन्त्रीले केही सरोकारवालाहरूसँग परामर्श गर्न पर्ने, छलफल गर्न पर्ने, विज्ञहरूका राय सुझाव लिनपर्ने देखिएको र भ्रमपूर्ण वातावरण सिर्जना गरेर नेपाली जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्रका जरा काट्ने कैँची चलमलाउने देखेपछि राष्ट्रियसभामा पेस गरेको विधेयक  फिर्ता लिएको थाहा पाए। त्यो डिसिजन वाइज डिसिजन हो। म त्यसलाई दृढ समर्थन गर्छु। यति बेला देशवासी तमाम दाजुभाइ-दिदीबहिनीले सोच्नुपर्ने बेला आएको छ। एउटा विधेयक भन्यो माइतीघरमा, अर्को विधेयक भन्यो माइतीघरमा। विधेयकको छलफल संसदमा छलफल गर्न सकिन्छ नि! छलफल गर्न विज्ञको सुझाव लिन सकिन्छ नि! माइती घर त साँच्चीकै माइतीघर भएछ। यताउता केही पर्‍यो कि माइतीघर जाने।

नेपालमा दुःख, कष्ट गरेर बेहोरेर लडाइँ संघर्ष गरेर हामीले प्राप्त गरेको यो सफलता हो। त्यो आन्दोलनबाट आएको लिडरसिप छ। अहिलेको लिडरसिप फरकढंगबाट आएको होइन। आन्दोलनका उतारचढाव देखेको नेतृत्व छ। यति बेला आन्दोलन गरिरहन पर्दैन। लोकतन्त्रमा संवादबाट सबै कुराको समाधान गर्न सकिन्छ। संवादबाट समाधानको बाटो उचित बाटो हो।

संवादबाट द्वन्द्व टुंगियो। सानातिना कुरा संवादबाट नटुंगिने होइन। यो थाहा नभएको कुरा होइन। तर आवेश, उत्तेजना फैलाएर, वातावरण बिगारेर आफ्नो दुनो सोझ्याउने र सधैँ माइतीघर मण्डला, सधै सडक आवश्यक छैन।

म भन्न चाहन्छु, जनताले चुनेको सरकार हो। जनताको हित जे गर्दा हुन्छ सरकार त्यो गर्छ। लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, विकासलाई कमजोर पार्ने गतिविधिमा लाग्नु हुँदैन। लोकतन्त्र विरोधी गतिविधि अनुचित र अवञ्छित हुन्, ती आवाजहरू समयानुकूल छैनन्।

जसका असन्तुष्टि छन् आउनुस् बस्नुस् छलफल गरौँ। आफ्नै कुरा हुनुपर्छ भन्ने छैन। संवादको तरिका हुन्छ। भने जति कुरा उचित नहुन सक्छन्। देश अगाडि बढ्ने काम गरौँ। त्यसका लागि सरकार खुला छ। समस्या सुन्नका लागि सरकार तयार छ।

म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु। हामीले पटक पटक लडेर लोकतन्त्र ल्यायौँ। हामीले मौका पाउँदा पनि गुमाएका छौँ। २००७ को आन्दोलन सफल भयो। लोकतन्त्र ल्याएका थियौँ। ८ वर्ष थिग्र्याउने लाग्यो, तर दुई वर्षमा खत्तम भयो।

राजनीतिक शक्तिहरूलाई आग्रह गर्न चाहन्छु पटक पटक जनताका अधिकार दरबारमा बुझाइएका इतिहास आवेश, उत्तेजना र भावावेशमा आएर नदोहोर्‍याऔँ। राजनीतिक शक्ति र पार्टीहरूलाई भन्न चाहन्छु।

हामीले लडेर ल्याएको लोकतन्त्र पछाडि बसेर प्रोभोक गर्ने तत्त्वहरू बलिदान हुँदा ती बलिदान हुँदैनन्। उनीहरूलाई कहिले लाठी लाग्दैन। उनीहरू प्रोभोक गरेर अगाडि छड्किइसकेका हुन्छन्। यस्तो कुराबाट अब पनि सजग नभई हुन्न। जनताले लडेर लोकतन्त्र ल्याएको हो। यसलाई एकताबद्ध भएर जोगाउनुपर्छ।

सञ्चार जगतलाई भन्न चाहन्छु। लोकतन्त्रको लागि सञ्चार पनि लडेको हो। त्यसैले लोकतन्त्रमा राज्यको चौथो अंग भनिन्छ।

सञ्चार क्षेत्रमा हामी संक्रमणमा छौँ। फेसबुकका संस्थापकले यसै फेसबुक बनाएर गल्ती गरेँ भनेको होइन।

हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन। तपाईं भन्ने शब्द नै हराइसक्यो। भाषा, संस्कृतिका कुरा गर्छ तर बाउलाई पनि तिमी भन्छ, आमालाई पनि तिमी भन्छ। नेपाली भाषामा ती बाउलाई तपाईं भन्ने चलन छ। यो त नेपाली भाषा संस्कृतिभित्र पर्दैन। तपाईं

भन्न कसैलाई जान्दैन। मैले भनेको कुरा मन पर्दैन केहीलाई।

सबै समान हुन् भन्ने मात्रै पर्ला। बोल्दाखेरि कुनै भाषा कस्तो हुन्छ? कुनै भाषामा जेन्डर छुट्टिएको हुँदैन। कुनै भाषामा आदरार्थी शब्द हुँदैनन्। हाम्रो भाषाको आफ्नो मर्म छ।

यति मात्रै होइन सामाजिक सञ्जालको अवस्था के छ? सामाजिक सञ्जाललाई गुरु थापेर हाम्रा स्थापित सञ्चार माध्यम पनि तिनलाई पछ्याउन तिर लाग्ने हो भाषा सभ्यता संस्कृति बोलाइ चलाइ भने हामी कस्तो समाज निर्माण गर्दछौँ। हाम्रो समाज हामीले निर्माण गर्ने हो।

हामीले जसलाई गाली गरेको हो त्यसलाई मात्रै लाग्ने होइन। सञ्चारमाध्यमबाट बोलिएको कुरा सार्वजनिक नै भएको हुन्छ। त्यस कारण अरूलाई पनि असर गरिरहेको हुन्छ। नयाँ पिँढीलाई बालबालिकालाई असर गरेको हुन्छ।

मैले केही आफूलाई विद्वान् भन्नेहरूले बोलेको सुनेको छु। बोलेको सुन्दा सरम लाग्छ। सभ्यताका सीमाहरू, अचम्म लाग्छ। संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँभित्र अमर्यादा, अभद्रता संस्कृति मूल्यहरूको अभाव देखिएको हुन्छ।

त्यस कारण यो समाजमा म मात्रै बाँच्नुपर्ने होइन। परिणामहरू मैले मात्रै भोग्नुपर्ने होइन। हामी सबै परिवारमा, समाजमा बाँच्नुपर्छ। आफ्ना कुराहरू भनुन् ठिक छ, तर तथ्यपूर्ण तर्कपूर्ण तरिकाले भनुन् भन्ने मेरो आग्रह हो।  

यो पनि पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.