|

एएफसी कपअन्तर्गत समूह ‘ई’ खेलमा नेपाली शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार साँझ बंगालदेशको अबहानी ढाकासँग प्रतिष्पर्धा गर्दैछ। खेल  ढाकाको बंगबन्धु रंगशालामा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ।

खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले निश्चित जितका लागि मैदानमा उत्रने बताए । उनले ढाकाको मौसम गर्मी भएकाले खेलाडीलाई केही समस्या हुन सक्ने बताएका छन्। प्रिम्याच पत्रकार सम्मेलनमा लोप्साङले भने, ‘गर्मीका कारण खेलाडीलाई सहज हुने छैन तर हामी निश्चित जितका लागि खेल्ने छौं।’

राम्रो तयारी गरेकाले जित निकाल्ने विश्वास लोप्साङको छ। यस्तै, अग्रपंक्तिको समस्या समाधानका लागि रणनीति बनाएको पनि उनको भनाइ छ। मनाङका कप्तान विराज महर्जनले ढाकाविरुद्धको खेल महत्त्वपूर्ण भएकाले उत्कृष्ट खेल्ने बताए।

ढाकाका प्रशिक्षक मारियो लेमोसले ढाकाले घरेलु मैदानमा आफ्नो महत्त्वपूर्ण खेलको अवसरलाई खेर नफाल्ने बताए। उनले समूह विजेता बन्न पनि मनाङलाई पराजित गर्नुको विकल्प नभएको बताए।

एएफसी कपको चौंथो चरण सकिँदा मनाङ जितविहीन छ। पछिल्लो २ खेलमा बराबरी खेलेको मनाङ २ अंक जोडेर अंक तालिकाको पुछारमा छ। समूहको शीर्ष टिम मात्र अन्तर क्षेत्रीय सेमिफाइनलको प्लेअफमा पुग्ने भएको हुँदा मनाङको अघिल्लो चरण सम्भावना लगभग समाप्त भइसकेको छ। समूहमा भारतको चेन्नइयीन ७ अंक जोडेर शीर्ष स्थानमा रहँदा ढाकाको पनि समान सात अंक नै रहेको छ।

दुवैले समान २–२ खेलमा जित र एक खेलमा बराबरी खेलेका छन्। तेस्रो स्थानको पन्जाबको चार अंक छ। पञ्जाबले चार खेलमै बराबरी खेलेको थियो। समूहमा तीन टिम अपराजित छन्। मनाङ र पञ्जाब अहिलेसम्म जितविहीन छन्। पहिलो जितको खोजीमा रहेको मनाङलाई मुख्य खेलाडी घाइते हुँदा समस्या परेको छ। राष्ट्रिय टिमको मैत्रीपूर्ण खेलका दौरान घाइते भएका फरवार्ड अञ्जन विष्ट र फरवार्ड अजिज ओलावालेले ढाकाविरूद्धको खेल गुमाउँदैछन्। ओलावाले लगातार दोस्रो पहेँलो कार्डका कारण टिमबाट बाहिर भएका हुन्। यसले पनि मनाङलाई दबाब रहेको छ।

यसअघि पहिलो खेलमा बंगलादेशको लिग च्याम्पियन ढाका अबहानीसँग १–० ले मनाङ पराजित भएको थियो। दोस्रो खेलमा मनाङलाई गत सिजनको भारतीय सुपर लिग च्याम्पियन चेन्नइयीनले २–० ले पाखा लगाएको थियो। तेस्रो चरणको खेलमा मनाङ र गत सिजनको आई लिग च्याम्पियन मिर्नेभा पञ्जाबबीच भिडन्त भएको थियो। भारतको भुनवेश्वरमा भएको खेलमा मनाङले २–२ को बराबरी खेलेर एएफसी कपमा पहिलो अंक र पहिलो गोल गर्न सफल भएको थियो।

चौंथो चरणको खेलमा मनाङ र पञ्जाबबीच एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा भएको थियो। खेल १–१ को बराबरीमा सकिएको थियो। मनाङले अन्तिम चरणको खेल असार ११ गते चेन्नइयीनविरुद्ध एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.