एउटा हात काटियो, खुट्टा काट्नुपर्ने सुझाव

|

भद्रपुर (झापा)  : करेन्ट लागेर गम्भीर घाइते भद्रपुर नगरपालिका–५ मेची किनारका १८ वर्षीय राजु साहको उपचारमा सहयोग गर्न परिवारले याचना गरेको छ।

बिजुलीको काम गरी परिवार पाल्दै आइरहेका साहलाई गत वैशाख ११ मा करेन्ट लागेको थियो। भद्रपुर–५ स्थित वधशालाअगाडि सडक पोलको हाइटेन्स तारबाट उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते उनको दाया हात र खुट्टासहित शरीरको विभिन्न भाग जलेको छ।  

भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सोही दिन विराटनगरस्थित नोबेल अस्पताल लगिएको हो। करेन्टले जलेर कामै नलाग्ने भएकाले अस्पतालमा उनको हात काटिएको छ। खुट्टा पनि काट्नुपर्ने चिकित्सकहरुले बताएका छन्।

आमा लखिया र दुई जना बहिनीसँग बस्दै आएको राजुको आर्थिक अवस्था नाजुक छ। उनका बुवा अर्को विवाह गरेर बेग्लै बस्दै आएका छन्। राजुको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको उनकी आमा लखियाले जानकारी दिइन्।

राजुको उपचारका लागि स्थानीय युवाहरुले दीलिप भूइँमालीको संयोजकत्वमा राजु शाह उपचार सङ्कलन समिति गठन गरेका छन्। संयोजक भूइँमालीका अनुसार अस्पतालमा अझै साढे चार लाख तिर्न बाँकी रहेको छ । थप उपचारका लागि १० लाख आवश्यक रहेको अस्पतालले जनाएको छ। 

‘राजुको एउटा हात काटिसकेको छ,’ उनले भने,  ‘खुट्टा पनि काट्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्। त्यसैले आर्थिक सङ्कलनमा जुटेका हौं ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.