|
फाइल तस्बिर

सर्लाही : वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन्। मंगलबार राति करिब साढे ९ बजे आएको हावाहुरीले  ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

हावाहुरीले ब्रह्मपुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन्। घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ।

त्यस्तै मलङ्गवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन्। घाइते हुनेमा महोत्तरीको परौल–६ बर्दिया घर घई हाल मलङ्गवा–१२ गम्हरिया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए। जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। 

दुवै घाइतेको उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भइरहेको छ। अत्यधिक तेजगतिको हावाहुरीले बालीनालीमा समेत क्षति गरेको किसानले जनाएका छन्। हावाहुरीले तरकारीबाली र आँपलाई बढी क्षति पुर्‍याएको चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.