|

बैतडी : तलब नपाएको भन्दै बैतडीको पाटन नगरपालिका १० हतासमा रहेको ब्रह्म आधारभूत विद्यालयमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ।  उक्त विद्यालयमा कार्यरत निजी श्रोतका ३ जना शिक्षकहरुले विगत २ वर्षदेखि तलब नपाएको भन्दै  तालाबन्दी गरेका हुन्। वि स २०७४ सालदेखि आफूहरूले तलब नपाएको निजी स्रोतका शिक्षक तेजराज पन्तले जानकारी दिए।

विस २०६६ सालदेखि आफू निजी स्रोतमा कार्यरत रहेको बताउँदै शिक्षक पन्तले अनुदानको कोटामा निजी स्रोतका शिक्षकलाई राख्ने निर्णयसमेत विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको उनको आरोप रहेको छ।

विद्यालय व्यवस्थापन समितिले निजी स्रोतमा कार्यरत शिक्षकलाई राहत तथा अनुदान कोठा आए राख्ने निर्णय गरे पनि यसअघि आएको राहत कोटा पनि नदिएको उनीहरूको भनाइ रहेको छ। हाल पनि अनुदान कोटा आएपनि खुल्ला विज्ञापन गरेर आफूहरूमाथि अन्याय गरेकोले विद्यालयमा तालबन्दी गर्न बाध्य भएका उनीहरुको भनाइ रहेको छ।

यता, विद्यालयका प्रधानाध्यापक टीकाराम भट्टले विद्यालयसँग आर्थिक स्रोत नभएकोले उनीहरूलाई तलब दिन नसकिएको बताए। विद्यालयले तलबका लागि आर्थिक स्रोत जुटाइरहेकोले यही असार मसान्तसम्म सबैको तलब उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवदत्त भट्टले बताए।  निजी स्रोतका शिक्षकसँग कोटा आएपछि राख्ने सहमति भए पनि विरोध भएकोले खुल्ला विज्ञापन आह्वान गरिएको उनले बताए।

विस २०४९ सालमा स्थापना भएको उक्त विद्यालय २०६६ सालदेखि कक्षा ८ सम्मको पढाइ हुँदै आएको छ।    २०६६ सालमा कक्षा ८ सम्मको पढाई सुरु गरेसँगै रतन सिंह महरा, चन्द्रदेव भट्ट र तेजराज पन्तलाई निजी स्रोतबाट शिक्षक राखेको थियो। शिक्षकहरूले नै विद्यालयमा तालाबन्दी गरेपछि विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.