|

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) र सुर्योदय नगरपालिकाको संयुक्त लगानीमा करफोक खेलमैदानमा प्रशिक्षण केन्द्र बनाइने भएको छ। ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सुर्योदय नगरप्रमुख रणबहादुर राईबीच बुधबार सम्झौता गरिएको हो।

एक करोड बढीको लागतमा निर्माण हुने प्रशिक्षण केन्द्रका लागी दुवै पक्षले बराबर रकम व्यर्होने छन्। एन्फाले देशका १५ वटा स्थानमा प्रशिक्षण केन्द्र निर्माण गरी संचालन गर्ने योजनाअनुसार इलाम जिल्लाका लागी करफोक मैदानमा प्रशिक्षण केन्द्र बनाइएको हो। करफोक माध्यमिक विद्यालयको स्वामित्व रहेको ७० रोपनी क्षेत्रको खेलमैदानमा भौतिक एन्फाले भौतिक पुर्वाधार निर्माण गरेर २० वर्षसम्म प्रयोग गर्नेछ। १० बुँदे सम्झौतापत्रमा खेलमैदान विद्यालयले निःशुल्क भोगाधिकार गर्न पाउने, सम्झौता समयावधीभित्रमा प्रथम पक्ष सुर्योदय नगरपालिकाले द्वितीय पक्षलाई हटाएमा उक्त प्रशिक्षण केन्द्र निर्माण लागतको दोब्बर रकम क्षतिपुर्ती भुक्तान गर्नुपर्ने, द्वितीय पक्षले भोगाधिकार छाड्दा निर्माण भएका संरचना सहित छोडनुपर्ने लगायत रहेका छन।

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुर्वाधार निर्माण एन्फाको पहिलो प्राथमिकता भएको बताए। उनले मोफसलमा क्षमतावान खेलाडी भएपनि उमेरअनुसार प्रर्दशन गर्न नसक्दा नेपाली फुटबल पछि परेको उल्लेख गर्दै फुटबल विकासको लागी तल्लो तहमा प्रशिक्षण केन्द्रको अवधारणा अगाडी ल्याइएको बताए। उनले पुर्वाधार विकास एन्फाको पहिलो प्राथमिकता रहेको बताए। ‘फुटबल विकासको लागी पहिला पुर्वाधार, त्यसपछि प्रशिक्षण अनि मात्र प्रतियोगिता’, उनले भने, ‘आउँदो चैत्रसम्ममा करफोकमा प्रशिक्षण केन्द्र संचालनमा आउने गरि काम गरिनेछ।’

एन्फाले स्थानीय तह र जिल्लामा प्रशिक्षण केन्द्र बनाउनुका साथै प्रदेशमा महिला र पुरुषको टेक्निकल सेन्टर संचालन गर्ने तयारी रहेको शेर्पाले बताए। खेलाडीहरूको विकासको निम्ती स्थानिय, जिल्ला प्रदेश हुँदै राष्ट्रिय लिग आयोजनाको काम अगाडी बढाइएको बताउँदै उनले आफनो कार्यकालमा नेपाली फुटबललाई व्यवसायिक बनाउन योजना रहेको सुनाए। उनले भने, ‘नेपाली फुटबल अर्धव्यवसायिक मात्र छ व्यवसायिक बनाउन क्लबहरूलाई प्रालिमा लगेर छुट्टै प्रक्रियाबाट दर्ता गरिने छ।’

सम्झौता कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी, इलाम नगरप्रमुख महेश बस्नेत, माई नगर प्रमुख दिपककुमार थेवे, माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई, रोङ गाउँपालिका अध्यक्ष शम्शेर राई, फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई लगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.