|

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश २ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्। 

दोस्रो खेल प्रदेश २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै जित हात पारेको छ।

टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनाएको थियो। कर्णालीका लागि रविना चौधरीले सर्वाधिक १३ र लक्ष्मी रिमालले आठ रनको योगदान गरेका थिए।

प्रदेश २ का तर्फबाट शान्ति चौधरीले तीन विकेट हात पारिन भने गोमा आले, आरती चौधरी, कविता गौतम र शोभा आलेले समान एक विकेट लिए।

प्रदेश २ ले ५९ रनको लक्ष्य ६.१ ओभरमा एक विकेटको क्षति बेहोर्दै सजिलै लक्ष्य भेट्टाएको थियो। प्रदेश २ का लागि शान्ति चौधरी र निरकुमारी बलमपाकीले सर्वाधिक क्रमशः १८ र १५ रन बनाएका थिए। कर्णालीका सरिता जिसीले एक विकेट हात पारिन्। म्यान अफ दि म्याच प्रदेश २ की शान्ति चौधरी घोषित भइन्।

पहिलो खेलमा सुदूरपश्चिम वजयी

आजै भएको पहिलो खेलमा आयोजक सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। सुदूरपश्चिमले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

टस जितेर व्याटिङ रोजेको गण्डकी प्रदेशले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो। गण्डकी प्रदेशका तर्फबाट शीला रेग्मीले १९ रन र सुशीला गुरुङले १७ रन बनाएका थिए।

बलिङतर्फ सुदूरपश्चिमका कविता कुवँर, लक्ष्मी साउद र जानकारी भट्टले समान दुई-दुई विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले एक विकेटको क्षतिमा ७ ओभरमै लक्ष्य भेट्टाएको थियो। सुदूरपश्चिमका तर्फबाट कविता कुवँरले २१, कविता जोशी र रेवती धामीले समान १२-१२ रन बनाएका थिए।

बलिङतर्फ गण्डकी प्रदेशका मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन। खेलको प्लेयर अफ दि म्याच सुदूरपश्चिमका कविता कुवँरलाई घोषित गरिएको थियो।

यही असार ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टोलीलाई पाँच लाख रुपैयाँ र दोस्रो हुनेलाई तीन लाख रुपैयाँ पुरस्कार दिइने छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई ३० हजार रुपैयाँ तथा उत्कृष्ट बलर र ब्याट्सवुमनलाई १५ हजार रुपैयाँ बराबरको खेल सामग्री दिइने छ भने प्लेयर अफ द म्याचलाई २५ सय रपैयाँ बराबरको पुरस्कार दिइने छ। प्रतियोगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.