|

पर्वत : बुधवार दिउसो पर्वतको कुस्मा नगरपालिकामा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूले डमी अर्थात् प्लास्टिकबाट निर्माण गरिएको मानिस प्रयोग गरेर पालैपालो कृत्रिम श्वास प्रश्वास गराउने अभ्यास गर्दै थिए। 

कोहीले भने हृदयघात भएको नाटक गर्दै छाती अँठ्याउँदै भुईँमा पल्टिरहेका थिए भने उनीहरूलाई अन्य विद्यार्थीहरूले बसाइको अवस्था मिलाउँदै छातीमा थिचेर बचाउने प्रयास गरिरहेका देखिन्थे। विद्यार्थीहरूले गरिरहेका यी क्रियाकलापलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. जीवन थनेतले नियालिरहेका थिए। विद्यार्थीहरूले हृदयघात हुँदा, दुर्घटना भई रक्तश्राव हुँदा र केही खानेकुरा खाँदा सर्किएको बेलामा के के गर्नुपर्छ? भनेर सिकिरहेका बेला उनीहरूलाई प्राविधिक ज्ञान दिने काम उनले गरिरहेका थिए।

यो नमुनासहितको प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेश सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको हो। पछिल्लो समय अनुमानित गरिएको उमेर समूहभन्दा बाहिरका व्यक्तिहरूलाई पनि हृदयघातको समस्या देखिँदै गएपछि मन्त्रालयले यसको नियन्त्रणको प्रयास स्वरूप विद्यालयहरूमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। ‘प्रदेशका एघार जिल्लाका केही विद्यालयहरूमा यस्तै खालका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।’ मन्त्रालयका जनस्वास्थ्य अधिकृत मनराज बरालले भने, ‘विद्यार्थीको माध्यमबाट समाजमा सूचना प्रवाह गर्न छिटो र प्रभावकारी हुने भएकोले डक्टरहरूसहितको टोली लिएर हामी प्रदेशका विभिन्न विद्यालयहरूमा पुगिरहेका छौँ।’ 

बरालका अनुसार गण्डकी प्रदेश सरकार एघार जिल्लाका ८५ ओटा पालिकामा यसरी नै विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने छ। एउटा पालिकाका दुई ओटा विद्यालयका दरले प्रदेशका कुल १७० भन्दा बढी विद्यालयमा झन्डै ५० लाखको लगानीमा यो कार्यक्रम लगिने छ। समाजमा बढी मात्रामा हुने गरेका स्वास्थ्य समस्याहरुको बारेमा प्रयोगात्मक रूपमा विद्यार्थीको माझमा यो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा धेरै मानिसको ज्यान बचाउने, अपाङ्गता हुने दर घटाउने, मृत्युदर घटाउने र घट्नामा न्यूनीकरण हुने अपेक्षा मन्त्रालयको छ। 

प्रशिक्षक डा. जीवन थनेतले नेपालमा झन्डै ६ हजार बिरामी बराबर एक जना चिकित्सक पर्ने भएकोले स्वास्थ्य सम्बन्धी समस्याका बारेमा डक्टरको मात्रै भर पर्नुभन्दा समस्या आउनुभन्दा पहिले नै सचेत हुन आवश्यक रहेको बताए। ‘बिरामी र चिकित्सक अनुपात निकै फराकिलो छ, यो अवस्थामा हरेक नागरिकले सामान्य प्राथमिक उपचार गर्न सक्यो भने पनि ज्यान बाँच्ने सम्भावना रहन्छ।’ उनले भने, ‘काठमाडौका एउटा हस्पिटलमा खानेकुरा सर्किएका बिरामीहरू एक दिनमा झण्डै ३० जनाको सङ्ख्यामा आउँछन्। घरमा प्राथमिक उपचार गर्न खोज्दा अवस्था झनै बिग्रिएर स्वास्थ्य संस्थाले बचाउन नसकेका कैयौँ उदाहरण छन्। यस अवस्थामा विद्यार्थीहरू मार्फतत ज्ञान फैलाउनु अति उपयोगी हुने हामीले ठानेका छौँ।’

विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम हालसम्म मनाङ, लमजुङ, गोरखा, बागलुङ, तनहुँ, स्याङजा, पर्वत, म्याग्दी, मुस्ताङ र नवलपुरमा सम्पन्न भैसकेका छन् भने यी जिल्लाका बाँकी रहेका पालिकासहित अन्य जिल्लामा पनि छिट्टै लैजाने मन्त्रालयको योजना छ। 

प्रशिक्षणमा क्रममा कुनै बस्तु खाने बेलामा श्वास नलीमा जानु अर्थात् सर्किनु, हृदयघात, कुनै पनि दुर्घटनामा रगत बग्नुलगायतका स्वास्थ्य समस्याका बारेमा जानकारी दिने गरिएको छ। प्रशिक्षण कार्यक्रमलाई विद्यालयमा मात्र सीमित नगरी ट्राफिक प्रहरी, जनपद प्रहरी र नेपाली सेनालाई पनि प्रदान गरिने जनस्वास्थ्य अधिकृत बरालको भनाइ छ।

‘कहीँ दुर्घटना भयो भने सुरुमा उद्धार गर्न पुग्ने सुरक्षा निकाय हुन, उनीहरूलाई यो प्रशिक्षण प्रदान गरियो भने घट्नास्थालमा नै केही मानिसको ज्यान जोगिन सक्छ।’ उनले भने, ‘दुर्घटनामा पर्दा होस वा हृदयघात हुँदा नै किन नहोस् कतिपयको बाटोमा नै निधन हुने गरेको छ। सुरक्षा निकायलाई यो प्रशिक्षण दिएमा यसमा कमी हुन्छ भन्ने मन्त्रालयको अपेक्षा छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.