|

सिन्धुली : ऐतिहासिक सिन्धुलीगढी क्षेत्रबाट दक्षिणतर्फ करिब ३ किलो मिटर तलतिर पर्छ ढुंग्रेभञ्ज्याङ। देशको पूर्वी तराईका जिल्लाहरुलाई काठमाडौं र काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको रुपमा रहेको बिपी राजमार्ग छेउमै रहको यस ठाउँ प्राकृतिक रुपमा अति नै सुन्दर देखिन्छ।

महाभारतको चिसो र स्वच्छ हावा पानी पाउनु नै यस ठाउँको मुख्य विशेषता हो। सिन्धुली सदरमुकामबाट उत्तर तर्फ करिव १८ किलो मिटरको दूरीमा रहेको यस ठाउँमा अहिले जिल्लाकै पहिलो होमस्टे सञ्‍चालनका लागि तयारी सुरु भएको छ।

यस ठाउँबाट सदरमुकाम सिन्धुलीमाढीमा सुन्दरफाँटसँगै ऐतिहासिक सिन्धुलीगढी, महाभारत क्षेत्रका हरियाली वातावरणको अवलोकन गर्न सकिन्छ।

कमलामाई नगरपालिका-२ मा पर्ने ढुंग्रेभञ्ज्याङमा होमस्टे संचालनका लागि तालिमसमेत सुरु गरिएको छ। स्थानीयलाई होमस्टे व्यवस्थापनसम्बन्धी जानकारी गराउन ५ दिने तालिम बुधवारदेखि सुरु भएको छ।

कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीको आर्थिक सहयोगमा श्री सिन्धुलीले तालिमको आयोजना गरेको हो। तालिममा सहभागिहरुलाई होम स्टे कसरी सञ्चलन गर्ने, होमस्टेमा आउने पहुनालाई स्वागत गर्ने तरिका, पाहुनालाई स्वच्छ, स्वस्थ खाना कसरी खुवाउने, कसरी बिदाइ गर्ने, घरको सरसफाइ, कोठाको व्‍यवस्थापन कसरी गर्ने भनेर  सिकाई श्री सिन्धुलीका कार्यक्रम संयोजक बेदराज दाहालले जानकारी दिए।

तालिममा १७ जना स्थानीयहरुको सहभागी रहेको छ। सहभागिहरुलाई केन्द्रीय होम स्टे व्यवसायि संघका विज्ञहरुबाट तालिम दिएका छन्। होमस्टे सुरु गर्नुभन्दा पहिला स्थानीय जातका लोकल कुखुरापालन, स्थानीय परम्परागत खाने कुरा, प्रांगारिक कृषि वस्तुको उत्पादन, स्थानीय जातका फलफुल खेती गर्ने सम्बन्धि स्थानीयलाई जागरुक गरिएको उनले जानकारी दिए।

होमस्टे सञ्चालन गर्ने यस ठाउँमा मगर जातिको बाहुल्यता भएकाले होमस्टेमा आउने पाहुनाहरुलाई बेलुका मगर जातको संस्कृतिका नाच गानलगायत कला प्रदर्शन हुने बताइएको छ। कलाकारीता सम्बन्धि स्थानीयलाई २० जनालाई १ महिने  तालिम दिइनेछ।

होमस्टे सञ्चालनपछि ढुंग्रेभञ्ज्याङमा कोसेली घरमा जिल्ला भरका स्थानीय लघु उद्यमीहरुले उत्पादन गरेको सामान विक्रि कक्ष राख्ने, सुधारीएको गोठ हुने, सवैको घरमा बगैचा, करेसा बारीलगायत व्यवस्थापन गरिने श्री सिन्धुलीका कार्यक्रम संयोजक दाहालले जानकारी दिए।

भौगोलिक हिसावले पनि स्वच्छ, शान्त र चिसोसंगै उच्च स्थानमा भएकाले महाभारतको पनि अवलोकन र बिपी राजमार्ग पनि सँगै जोडिएकाले होमस्टेको प्रचुर सम्भावना रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.