मूर्तिको विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक

|

तनहुँ : व्यास नगरपालिका–३ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ। व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले डिपिआर सार्वजनिक गरेको हो।

सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले प्रतिवेदन सार्वजनिक गर्दै १०८ फिट अग्लो व्यासको मूर्तिसहित सबै संरचना निर्माणका लागि ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट अनुमान गरिएको जानकारी दिए। मूर्ति र स्तम्भ (पेडेस्टल) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको उनले बताए। उनका अनुसार अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान गरिएको छ।

निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै महर्जनले पहिलो वर्ष मात्रै सात करोड खर्च हुने अनुमान गरिएको बताए। व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको स्तम्भ (पेडेस्टल) निर्माण गरिने उनले बताए। उनका अनुसार पेडेस्टल निर्माणका लागि मात्रै डेढ वर्ष लाग्नेछ। व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने र पेडेस्टलभित्र संग्राहालय र पुस्तकालय हल बनाउन प्रस्ताव गरिएको उनले बताए।

गुरुयोजनाअनुरुप व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, कोशेली घर, गार्ड घर, धर्मशाला, प्रवचन हल, योग हल, बिक्री कक्ष, समितिको सचिवालय बैठक कक्ष, संग्राहालय, व्यास पुस्तकालय, शौचालय, वृत्तचित्र हल, बगैँचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगन्धा पार्क, पुजारी घर, चमेनागृह, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति समेतको प्रस्ताव गरिएको छ।

६० रोपनी छ आना चार पैसा छ दाम क्षेत्रफल जग्गामा यी सबै संरचना निर्माण गर्ने गुरुयोजना सहित डिपिआर निर्माण गरिएको छ। मूर्ति अग्लो हुने भएकाले भूकम्प प्रतिरोधात्मकका साथै हावाहुरीको प्रेसरलाई थेग्न सक्ने तवरबाट गुरुयोजना निर्माण गरिएको महर्जनले बताए। उनका अनुसार मूर्ति निर्माणका लागि कालीगढको बढी महत्व रहनेछ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विद्वत् वर्गसँग बहृत छलफल गरी व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषले निर्माणको प्रक्रिया थाल्नुपर्ने बताए। न्यौपानेले व्यास नगरपालिकाका साथै तनहुँको गौरवको कार्यलाई साथ र सहयोग गर्न तयार रहेको र यो मूर्ति निर्माणपश्चात् दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने बताए।

 व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले वेदव्यासको संरक्षणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए। सबैको सल्लाह सुझाव अनुसार मूर्ति निर्माणको कामलाई तिव्रता दिन एकजुट हुनुपर्ने श्रेष्ठले बताए।

व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ, महासचिव विष्णुभक्त सिग्देल, माधव न्यौपाने लगायतका पदाधिकारी सदस्यहरुले व्यास क्षेत्रको गुरुयोजना व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण समेत गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.