|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको बताएकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद चौधरीले विधेयकका बारेमा भ्रामक प्रचार गरी चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोराछोरीको गाँसबाँस खोस्ने काम गरेको दाबी गरिन्। उनले भनिन्, 'सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दु:खीहरूको मुहारमा खुसी देख्न सकेन। र, गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरीब भूमिहीन किसानका छोराछोरीको गाँसबाँस खोस्न प्रयास गरी विधेयक फिर्ता गर्न खेल खेल्यो।'

सांसद चौधरीले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरूको भावनामा ठेस पुगेको बताइन्। उनले भनिन्, 'गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरूको भावनामा ठेस पुगेको छ। गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोकभोकै ठुलो खुल्ला मैदानबाट लाखौ गुठी पीडित भूमिहीन किसान भन्दै थिए- सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिस्ट सरकार छ।'

चौधरीले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरूबाट नै राज्यसत्ता सञ्चालन भइरहेको भन्दै रोष प्रकट गरिन्। उनले सामन्तहरूको आँखा आफ्ना पूर्वजहरूको पसिना लुट्न लालायित भएको आरोप लगाइन्।

उनले भनिन्, 'मानौ यो देश मालिकहरूको हो। यहाँ मालिकहरूको आदेशको पालना हुन्छ। यहाँ मालिकहरूकै कुरा सुनुवाई हुन्छ। किन कि यो देश मालिकहरूले नै चलाउने गर्छन। मालिकहरूले अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.