|

काठमाडौं : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महन्थ ठाकुरले मधेस खुला जेल भएको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ठाकुरले संविधानले मधेसलाई विभेद गरेको बताएका हुन्। उनले मधेसमा संघीय सरकारले आर्थिक नाकाबन्दी लगाएको आरोप लगाए।

महन्थ ठाकुरले भने, 'यहाँ नाकाबन्दीको कुरा धेरै सुनिन्छ। तर मधेसलाई आर्थिक नाकाबन्दी लगाएको कुरा कहिले सुनिन्छ? उसको बजेट किन कम? जनसंख्याको आधरमा उसको प्रतिनिधित्व किन भएन? शासन प्रशासनमा उसको प्रतिनितिधित्व किन हुँदैन?' यसको कारण रहेको भन्दै ठाकुरले थपे, 'मधेस नेपालको आन्तरिक उपनिवेश हो। उपनिवेशको रूप छ उसको। उपनिवेशको आफ्नो बोली पहिचान हुँदैन। दुनियाँले रिकग्नाइज गर्दैन। मधेसलाई दुनियाँमा सुन्ने जान्ने कोही छैन। मधेस एउटा खुला जेल छ।  सबै खुला बन्दी छौँ।'

मधेसी जनता अधिकार सम्पन्न भएको भनिएको कुरा गलत भएको ठाकुरको भनाइ थियो। उनले भने, 'अधिकार सम्पन्न भयौँ भनिन्छ तर बन्दीलाई पनि बिहान बेलुका खुराँक पाइन्छ। हामी अधिकार सम्पन्न भएका भए संघर्ष किन गरिहेका छौँ? अहिले पनि विभेद किन त?'

ठाकुरको चेतावनी थियो, 'जबसम्म यो विभेद कम हुँदैन तबसम्म संघर्ष भइरहन्छ। अहिले पनि मधेसमा सबैभन्दा ठुलो गरिबी छ। धेरै मानिस बाहिर गइरहेका छन्। परिवार बिखण्डन भइरहेका छन्। अहिले पनि मधेस सशंकित छ।'

मधेस आन्दोलनका क्रममा सयौँमाथि झुठा मुद्दा लगाइएको ठाकुरको भनाइ थियो। त्यसले मधेसी जनतामा अहिले पनि सशंकित बनाएको उनको भनाइ थियो।

ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। त्यसले जस्तो निष्कर्ष दिएको भए पनि आफूहरू मान्ने उनको भनाइ थियो। त्यसैगरी संविधानको संशोधनको माग पूरा गर्न पनि ठाकुरले माग गरेका थिए।  

संविधानले मधेस र पहाडलाई एकअर्काप्रति विभाजनको रेखा कोरेको बताए। उनले कानुनले नै विभेदको रेखा कोरेको बताए। सरकारले जनताका अधिकार कटौती गर्नका लागि कानुन ल्याएको बताए।

संसरभर संसदबाट तानाशाहहरू उत्पन्न भएका भन्दै नेपालमा संघर्षबाट लोकतन्त्र आएको तर त्यो जुन बाटोमा गइरहेको छ त्यसले शंका उत्पन्न गरेको ठाकुरको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.