|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न ६ विकास निर्माणका योजनाका लागि सूचना प्रकाशन गरी संकलन गरिएका शिलबन्दी बोलपत्रका फाइलहरु कार्यालयभित्रै च्यातिएको छ।

नगरपालिकाले बिहीबार दिउँसो २ बजेका लागि बोलपत्र खोल्ने समय तोकेकोमा १२ बजे पछि एक युवा कार्यालयमा पुगी संकलन गरिएका शिलबन्दी बोलपत्रहरु नियन्त्रणमा लिएर च्यातेर फालिदिएको बताइएको छ।

फाईल च्यातेपछि ती युवा नगरपालिकाबाट बाहिरिएको योजना शाखा प्रमुख पुस्करराज काफ्लेले बताए। ती युवालाई आफूले पहिलोपटक देखेकोले उनी को हुन भन्ने बारेमा आफूलाई जानकारी नभएको काफ्लेले बताएका छन्। नगरपालिकाबाट जारी बोलपत्र आह्‍वानसम्बन्धी सूचनामा आजै १२ बजे सम्मका लागि बोलपत्र दर्ता गर्ने समय तोकिएको थियो।

नगरपालिकाले शिलबन्दी बोलपत्र आव्हान गरेका योजनाहरुमा सिसहनिया चिसापानी सडक कालोपत्रे, वडा नम्बर १४ र ७ को बोर्डर देखी माकर हेल्थपोष्ट सम्मको बाटो कालोपत्रे, हुलाकी बाटोको जमुनिया बजारदेखि १३ नम्बर वडा कार्यालय जाने बाटो, जमुनिया लेवडा कालोपत्रे सडक , समर्सिवल पम्प पाईप खरिद तथा

जडान र विद्युतिय तार तथा अन्य सामाग्री खरिद रहेका छन्। छ वटा योजना मध्ये विद्युतीय ताचर तथा अन्य सामग्री खरिदका लागि प्राप्त शिलबन्दी बोलपत्र बाहेक सवै च्यातिएको अवस्थामा रहेको योजना शाखाका प्रमुख पुस्कर राज काफ्लेले जानकारी दिए।

घटनाको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पाण्डेसँग जानकारी लिन खोज्दा प्रहरीले घटनाको बारेमा मुचुल्का तयार पर्दै गरेको अवस्थामा तत्कालै त्यससम्बन्धी धारणा ब्यक्त गर्न उपयुक्त नहुने बताए। कार्यालय प्रवेश गरेर फाईल च्यात्ने ब्यक्ति कोहो भन्ने बारेमा केही खुलाइएको छैन।

कर्मचारीले काम गरिरहेकै अवस्थामा योजना शाखामा प्रवेश गरेर कर्मचारीबाट फाइल खोसेर च्यातिएपछि घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले मुचुल्का उठाउने काम सकेको छ। स्मरण होस बर्दघाट नगरपालिकाका हरेक शाखाहरु पूर्णरूपमा सिसिटिभिको पहुँचमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.