|

सल्यान : अनाधिकृत रुपमा खनिएका सडकका कारण सिचाई कुलो पुरिँदा किसानहरुको खेतियोग्य जमिन बाँझो हुँदै आइरहेको छ। डोजरमार्फत जथाभावी सडक निर्माण गरिएका कारण सिचाई कुलो भत्किएपछि किसान खेती गर्नबाट वञ्चित भएका हुन। सिँचाइ सुविधा नहुँदा किसानलाई समस्या हुने गरेको छ।

सिँचाइ कुलो पुरिएका कारण जिल्लाभर चार हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिन पाखोबारीमा परिणत भएको छ। सल्ली चौरजहारी र स्थानीय खैरागार उचाल्ने सडक निर्माण गर्दा दुई सय घरधुरीको झन्डै पाँच सय रोपनी खेतीयोग्य जमिन बाँझो भएको बन्गाड कुपिण्डे नगरपालिका ४ का स्थानीय कञ्चन विष्टले बताए। 

सडक निर्माण गर्ने सम्बन्धित निकायले सिचाई कुलो मर्मतमा ध्यान नदिँदा खेती गर्नबाट आफूहरू वञ्चित भएको छत्रेश्वरी गाउँपालिका ४ सिस्नेरी खोलाका शेरबहादुर वलीले बताए। सडक खन्दा ध्यान नपुर्‍याउदा पाँच घरको करिब २५ रोपनी भन्दा बढी बाँझोमा परिणत भएको उनले बताए। 

सिद्धकुमाख गाउँपालिकाको बाँझकाडा, डाँडाकटेरी, झारकाँडामा सिँचाइ पुर्‍याइएको चार किलोमिटर कुलो सडक निर्माणका क्रममा क्षति पुगेपछि खेत बाँझै हुन थालेको छ। चाख्लिघाट कुमाख रागेचौर सडकले कुलो पुरिँदा सिँचाइ समस्या चुलिएको सिद्ध कुमाख गाउँपालिका १ कागखोलाका स्थानीय छवि बस्नेतले बताए। उनले भने, ‘सडक निर्माणका क्रममा केही मिटर कुलो सडकमा परिणत भएको र खसेका ढुंगामाटोले पुरिएको कुलोको मर्मत हुन सकेको छैन अब आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने बाध्यता भयो।’

सडक खन्ने क्रममा सम्बन्धित निकायले ध्यान नदिएकाले खेती नै संकटमा परेको रिखेबगरका कृषक दिपेन्द्र खड्काले बताए । ‘की ढुंगामाटो हटाउनु प¥यो की क्षतिपूर्ति दिनुपर्‍यो भनेर पटक पटक स्थानीय सरकारसँग माग गरियो’, उनले भने, ‘बेवास्ता भएपछि आकाशे पानीको आशामा अहिले खेती गरेका छैनौं।’

कालीमाटी गाउँपालिकाको टाटकेकी बिमला केसीले विगत वर्षमा असार पहिलो सातामै रोपाइँ पुरा हुने खेतमा अहिलेसम्म बीउ नै राख्न नपाएको बताइन। ‘अब वर्षा लागे मात्रै व्याड राख्ने काम सुरु हुन्छ होला', उनले भनिन, ‘सिँचाइ योजना सडकले फाल्यो, हामीसँग अरू विकल्प पनि छैन। उनले जथाभावी खनिएको सडकले जीविकोपार्जनमा समस्या हुन लागेको बताइन।

कालीमाटी गाउँपालिकाको टाटके, घरचौर, सुकेतालमा सिँचाइ पुुर्‍याइएको ३ किलोमिटर लामो पक्की कुलो पुरिँदा स्थानीय समस्यामा परेका छन।

जथाभावी सडक निर्माणका कारण ५ सय हेक्टर खेतीयोग्य जग्गा पाखोमा परिणत भएको स्थानीयको भनाइ छ। कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले सडक खनिएका कारण धेरै सिँचाइ कुलोमा क्षति भएको बताए। ‘सडकले तीन बाली लगाउने खेत बाँझिँदै गएको छ', उनले भने  ‘सिँचाइ अभावमा गाउँपालिकाभर ५० प्रतिशत उत्पादनमा कमी आएको छ। उनले बजेट अभावमा सिँचाइ योजना मर्मतमा समस्या भएको जनाए।

त्रिवेणी गाउँपालिकामा सडकका कारणविभिन्न स्थानमा ५ किलोमिटर बढी सिँचाइ कुलो पुरिएको अध्यक्ष मानबहादुर डाँगीले बताए। उनका अनुसार सिँचाइ अभावमा वर्षेनी २०० घरधुरीले धानको सट्टा मकैखेती गर्न थालेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.