संसद् बैठक अवरुद्ध

|

धनगढी  : आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सुदूर प्रदेश सरकारले तयार गरेको बजेट प्रतिपक्षी दलले रातो किताब जलाएको छ। प्रदेश सरकारले अनुचित ढङ्गले बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी दलले रातो किताब जलाएको हो।

अपारदर्शी र भ्रष्टाचारलाई प्रोत्साहन दिने गरी बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले बिहीबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेका थिए। प्रदेश सभा बैठक सुरु भएलगत्तै कांग्रेस र राजपाका सांसदहरू आफ्नो ठाउँमा उठेर विरोध जनाए।

सभामुख अर्जुनबहादुर थापाले पटकपटक बस्न आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू उठिरहे। सभामुख थापाले एक जना सांसदलाई धारणा राख्न आग्रह गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले सरकारले ल्याएको बजेट उपयुक्त नभएको भन्दै विरोध गरेको बताए।

‘सरकारले लुटतन्त्र मच्चाउने उद्देश्यले बजेट ल्याएको छ’ उनले भने, ‘हामी यो बजेट स्वीकार गर्न तयार छैनौँ।’ उनले बजेट संशोधन नभए सम्म संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिए।

सांसद खड्काले धारण व्यक्त गरिसकेपछि पनि विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। प्रतिपक्षीको अवरोध पछि बिहीबारको बैठक अवरुद्ध भएको थियो। बिहीबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेटको विषयमा धारणा राख्ने कार्यसूची रहेको थियो। प्रतिपक्षीको विरोध पछि अर्थमन्त्रीले संसद्‍मा बोल्न पाएनन्।

विपक्षी दलको विरोध जारी रहेपछि सभामुख थापाले बैठक असार ८गते बिहान ८ सम्मलाई स्थगित गरेको घोषणा गरे।

प्रदेश सभाको बैठक स्थगित भएपछि कांग्रेस र राजपाका सांसदहरूले बजेटको किताब जलाएका थिए। प्रदेशसभाको मुलगेटमा उनीहरूले रातो किताब जलाएका हुन्। रातो किताब जलाउँदै प्रतिपक्षी दलका सांसदहरूले जाराबाजि समेत गरेका थिए। प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने योजना भन्दा कार्यकर्ता पोस्ने योजना बढी राखेकाले रातो किताब जलाएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले बताए।

‘सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना कार्यक्रता पोस्ने गरी बजेट ल्याएको छ ’उनले भने, ‘यो बजेट संशोधन नभएसम्म हामी संसद् चल्न दिँदैनौँ।’

प्रदेश सरकारले भने बजेट संशोधन नहुने बताएको छ। आर्थिक मामिला तथा योजना झपट बोहराले बजेट उत्कृष्ट रहेको बताउँदै संशोधन नहुने स्पष्ट पारेका छन्। ‘हाम्रो बजेटले सबै वर्ग र क्षेत्रलाई छोएको छ’ मन्त्री बोहराले भने,‘कसैले भन्दैमा संशोधन हुने भन्ने हुँदैन।’

प्रदेश सरकारले असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.