लुटेको ८१ हजार नगद पनि बरामद

|
हत्या गरिएकी युवती सुजात तामाङ

फिदिम : गत मंगलबार हिलिहाङ गाँउपालिका–६ केराबारीस्थित सिटे जङ्गलमा लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् । 

प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई बिहीवार अपरान्ह जङ्गलमा लुकेको अवस्थामा फेला पारेको हो । 

लावतीको साथबाट तामाङबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए। हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उनले बताए।

हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा एनएमबी माइक्रोफाइनान्सका दुई समूहको बैठक गरेर मेची राजमार्गस्थित जोरपोखरी बजार फर्कँदै गरेकी प्रशिक्षार्थी कर्मचारी तामाङको मंगलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो । 

प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जङ्गलको सिद्धे खोल्सामा हत्या भएको थियो । घटनास्थल घना जङ्गलबीचमा रहेकाले आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाले बताए। 

इलामको माइजोगमाई गाँउपालिका–२ घर भएकी तामाङ ६ महिनादेखि लघुवित्तमा काम गर्दै आएकी थिइन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.