|

काठमाडौं  : अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रष्टीकरण सर्वोच्च अदालतलाई दिएको छ।

अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो प्रस्टीकरण बुझाएका हुन्। प्रष्टीकरणमा फाइल खोजीका लागि अख्तियारले विशेष समिति गठन गरेको उल्लेख छ। सर्वोच्चले गत जेठ २३ गते जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा निर्णय फाइल नपठाएर अख्तियारले असहयोग गरेको भन्दै अख्तियारका जिम्मेवार पदाधिकारीलाई सजाय र कारबाहीको चेतावनी दिएको थियो।

जोशीविरुद्ध अख्तियारले गरेको पुनरावेदनमा भएको आदेशअनुरूप चौथो पटकसम्म पनि निर्णय फाइल नआएपछि सर्वोच्चले यस्तो चेतावनी दिएको हो। जोशीविरुद्धको उजुरीमा छानबिनका लागि अनुसन्धान अधिकृत तोक्ने गरी भएको निर्णय फाइल पठाउन सुरुमा २०७१ असोज २९ गते आदेश भएको थियो। त्यसयता तेस्रोपल्टसम्म यस्तो आदेश भएको छ। 

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अख्तियारले विभिन्न समयमा पठाएका जवाफ जिम्मेवारीपूर्ण नभएको भन्दै आपत्तिसमेत जनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.