प्लटिङ र आवादीले खेतीयोग्य जमिन घट्दो
प्लटिङ र आवादीले खेतीयोग्य जमिन घट्दो
भक्तपुर : असार लागेसँगै भक्तपुरका किसानलाई रोपाइँको चटारो परेको छ। यसवर्षको मनसुन शुक्रबार मात्र नेपाल भित्रिए पनि भक्तपुरमा जेठको अन्तिम सातादेखि नै रोपाइँ शुरु भएको हो।
समयमा रोपाइँ हुन नसके धानको बीऊ छिप्पिने र उचित प्रतिफल नआउने भएकाले मनसुन शुरु नभए पनि नदी तथा खोल्साको पानीबाट सिंचाइ गरी रोपाइँ गरेको मध्यपुर थिमि १ लोकल्थलीका कृषक बाबुकाजी प्रजापतिले बताए।
जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ खुसुङखोला किनारको फाँटमा सिंचाइको सहज सुविधा भए तापनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताथली, सुडाल, नंखेललगायतका स्थानमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ।
प्रत्येक वर्ष घट्दै खेतीयोग्य जमिन
भक्तपुरमा प्रत्येक वर्ष खेतीयोग्य जमिनसँगै धानखेती घट्दै गएको छ। बढ्दो जनघनत्वसँगै शहरीकरणको विकासले भक्तपुरका खेतीयोग्य जमिनसँगै धानखेती घट्दै गएको हो। केही स्थानमा व्यवसायिक र बेमौसमी तरकारी खेतीको विकासले पनि भक्तपुरमा धानखेती घट्दै गएको हो।
मध्यपुर थिमि नगरपालिकाको लोकल्थलीदेखि चाँगुनारायण मन्दिरको फेदसम्मको मनोहरा फाँट, काँडाडोल बुढाथोकी गाउँ, राधेराधेदेखि निकोशेरासम्मको हनुमन्ते खोला किनारमा जग्गा एकीकरण आयोजना लागू हुनाका साथै बढ्दो आवादीका कारण खेतीयोग्य जमिन दिनानुदिन घट्दै गएको छ। त्यसैगरी सूर्यविनायक नगरपालिकाको बालकोट, सिरुटार, दधिकोट, कटुञ्जे, सिपाडोल लगायतका स्थानमा पनि बढ्दो आवादीका कारण खेतीयोग्य जमिन घटेको छ।
चाँगुनारायण नगरपालिकाको दुवाकोट, ताथली,सुडाल, बागेश्वरी क्षेत्रमा समेत जग्गा प्लटिङले खेतीमा ह्रास आउन थालेको छ। भक्तपुर नगरपालिकाले कमलविनायक, लिवाली, टुमुचो दुगुरे, मिवा–पाके देकोचा जग्गा एकीकरण आयोजना सञ्चालन गरेपछि त्यसक्षेत्रमा पनि तीब्र रुपमा घर निर्माण हुनुका साथै जमिन बाँझो राख्नाले खेतीमा ह्रास आएको छ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार भक्तपुरमा ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिन थियो। जसमध्ये चार हजार ३४८ हेक्टरमा धानखेती गर्ने तथ्यांक छ। भक्तपुरमा प्रतिहेक्टर ६.२ टन धान उत्पादन हुने गरेको छ जुन नेपालको समग्र उत्पादन प्रतिशत भन्दा दोव्वर हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।