|

डडेल्धुरा : अजयमेरु गाउँपालिका डडेल्धुराले आइतबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। ‘सुखी र समृद्ध अजयमेरुको आधार, कृषि, पर्यटन, शिक्षा र व्यवस्थित पूर्वाधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले पाँचौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृषि पेशालाई व्यावसायिक र सम्मानित पेशाको रुपमा विकसित गर्नको लागि गाउँपालिकाको प्रमुख पेशाको रुपमा रहेको कृषि प्रणालीलाई आधुनिकिकरण, भूगोल सापेक्ष, वातावरण तथा जलवायु अनुकुलित बनाउँदै आर्थिक वृद्धिको दिगो आधार तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

गाउँपालिकाको प्रमुख संभावनाको रुपमा रहेको भटमास उत्पादनलाई बढाउन तथा जनताको प्रमुख बालीको रुपमा विकास गराउन बिउमा उल्लेख्य अनुदानलगायत अन्य आवश्यक कार्यक्रममा बजेट छुट्याइने गाउँपालिका अध्यक्ष भट्टले बताए।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा भटमास जोन कार्यक्रमलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। साथै भटमास प्रशोधन केन्द्र निर्माण गर्न निजि क्षेत्रसंग समन्वय तथा आकर्षण गर्ने निति लिइने जनाइएको छ। माटो परीक्षण, रोग परीक्षण, कृषि विशेषज्ञसहितको शिविर प्रत्येक वडामा सञ्चालन गरिने भएको छ।

गाउँपालिकामा नाङ्गा डाँडा तथा घरबगैँचामा फलफूल बगैँचा स्थापना, कृषक तालिम, कृषि मेला प्रदर्शनी, उन्नत र परम्परागत बिउ वितरण, साना सिँचाई तथा प्लाष्टिक पोखरी, भकारो सुधार, तरकारी नर्सरी, स्थानीय कुखुरा, च्याउ उत्पादन, फलफूल कलमीमार्फत उन्नत विरुवा उत्पादन, घाँस खेती प्रवद्र्धन, सहकारी र समूह मार्फत बाख्रा तथा कुखुरा पालन व्यवसाय, निजी कृषि तथा पशुपालन फर्म विकास, कृषक उद्यमशिलता कार्यक्रम सञ्चलन गरिने भएको छ।

व्यवसायीक कृषकलाई परीचय पत्र वितरण गरिने कार्यक्रमलाई कृषकको पहिचानसंग जोडिने गरि थप प्रभावकारी कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सबैलाई कृषि पेशामा आर्कषण गरी नमूनाको रुपमा ‘एक गाउँपालिका स्तरको नमुना कृषि फार्म विकास’ कार्यक्रम सन्चालन गरिने भएको छ। कृषकको मनोवल उच्च राख्न अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सुरु गरिने भएको छ। अजयमेरु गाउँपालिकामा नमूना तथा प्रयोगको रुपमा चिया खेतीको सुरुवात गरिने भएको छ।

यस्तै औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरी उद्योग स्थापना गर्नका लागि संघ र प्रदेश सरकारसंग सहकार्य गर्ने, गाउँपालिकामा स्थानीय श्रम सीप र प्रविधिमा आधारित लधु उद्योगहरु स्थापना गराउने, परम्परागत घट्टलाई स्तरीकरण तथा प्रविधिमैत्री गर्ने, गाउँपालिकाभित्र रहेका उद्योग र व्यवसायलाई ब्यवस्थित गरि करको दायरामा ल्याइने, साना तथा मझौला उद्योग संचालन गर्ने चाहाने आन्तरीक तथा वाह्य लगानीकर्तालाइ दर्ता सुल्क तथा ३ वर्ष सम्मको कर निःशुल्क गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

गाउँपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको पूर्वाधारको निर्माण गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने, यहाँका सबै ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थलको स्रब्य दृष्य सामग्री तयार गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रसार प्रचार गरिने, अजयमेरुकोट देवल, जगन्नाथ, डागेश्वरी,कोला समैजि, दुर्गाभगवति,चोरा वेताल,हंसराज, घनघस्या लेक लगायतका स्थानको समग्र गुरु योजना निर्माण गर्ने कार्य सञ्चालन गरिने भएको छ।

पर्यटन स्थल पहुँच मार्ग निर्माण विस्तार तथा स्तरीकरणमा जोड दिइने, होमस्टे (घरवास) कार्यक्रमको संचालन गरिने, ‘गन्तव्य अजयमेरु’ कार्यक्रमको सुरुवात गरिनुका साथै पर्यटन ब्यवसायीको सहयोगमा अजयमेरु भ्रमण प्याकेज निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। गाउँपालिकामा ‘एक वडा एक पार्क’को कार्यक्रम संचालन गरिने भएको छ।

यसैगरी गाउँपालिकाभित्रका सहकारी संस्थाहरुलाई उत्पादनशिल र रोजगारी सिर्जना गर्ने कार्यक्रम तर्फ प्रोत्साहित गरिने भएको छ। नागरिकलाई बैंकिङ्क सेवामा पहुँच अभिवृद्धि गर्न गाउँपालिकाभित्र स्थापित बैंक तथा वित्तीय संस्थाहरुलाई जनताको घर दैलोसम्म पुग्ने बातावरण सृजना गर्ने, गाउँपालिकाभित्र थप वित्तीय संस्था स्थापना गर्नका लागि आकर्षण गर्ने नीति अवलम्बन गर्ने, वित्तीय संस्थालाई व्यवसायीक कृषि तथा अन्य आयमुलक कार्यमा ऋण लगानी तथा अनुदान गर्न सहजीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै युवाहरुको बेरोजगारी समस्या समाधान गर्न ‘अध्यक्ष रोजगार कार्यक्रम’ लागू गरिने भएको छ। सम्पूर्ण बालबालिकालाई शिक्षामा सबैको पहुँच पु¥याउँदै प्राविधिक, व्यवसायिक र अंगे्रजी माध्यमको पढाई सञ्चालन गर्ने नीति तथा कार्यक्रमलाई पनि निरन्तरता दिइने,  सामुदायिक विद्यालयहरुमा जनप्रतिनिधि, कर्मचारी विद्यालय व्यवस्थापन समिति र शिक्षकका सन्ततिलाई भर्ना गर्ने उत्प्रेरीत गरिने भएको छ।

नयाँ प्राविधिक विद्यालय संचालन गर्ने विद्यालयलाई विशेष अनुदान सहयोग गर्ने, भौतिक रुपमा अति आवश्यक देखिएका विद्यालयको पहिचान गरि पूर्वाधार विकासमा गाउँपालिकाले सहयोग गर्ने भएको छ।

ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम अनुरुप ६० वर्ष माथिका नागरिकहरुलाई नियमित स्वास्थ्य परीक्षणका लागि, जनप्रतिनिधिसहित घरघरमा स्वास्थ्यकर्मी जाने अभियान संचालन गरिने भएको छ। २५ शैय्या अस्पताल स्थापना गर्न उपयुक्त जग्गा पहिचान गरी निर्माण कार्य अघि बढाउन प्रदेश र संघीय सरकारसमक्ष पहल गरिने भएको छ।

सबैभन्दा बढी खानेपानीको समस्यामा रहेको वडा नं ५ र ६ को समस्या समाधान गर्न सोरनाय लिफ्ट वहुउपयोगी खानेपानि तथा सिचाइ आयोजनाको संभााव्यता अध्ययन गर्न तथा यसको निर्माणको लागि प्रदेश तथा संघिय सरकार संग पहल गर्ने, वडा नं ३ को खानेपानि अभाव भएको वस्ती र वडा नं २ को हाट, रोल्ली, जिजोडालगायत बस्तीको खानेपानी समस्या समाधान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘एकल महिलासँग गाउँ सरकार’ कार्यक्रममार्फत आयआर्जनका कार्यक्रम लागू गर्ने, दलित, विपन्न समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ।

यस्तै खोलिएका ट्रयाकहरुको ग्रेड सुधारी स्तरोन्नती, मोड सुधार र चौडाइ विस्तार गर्दै यस आवमा जिल्ला सदरमुकामबाट गाउपालिका केन्द्र तथा वडा केन्द्र जोडिने सडकहरुको ग्रयाभिल कार्य अगाडि बढाइने, साथै समग्र आर्थिक सामाजिक कृयाकलापहरु विस्तार गर्न गुणस्तरीय सडक निर्माणका लागि एक गाउँ एक सडक मार्फत सवै वडा सदरमुकाम र गाउँपालिका सदरमुकाम जोड्ने १२ महिना चल्ने सडक निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा विस्तार हुने, नागरिकहरुलाई नजिकबाट सेवा प्रवाह गरी सुशासन कायम हुने, सामाजिक सुरक्षा तथा मानब विकासका सूचकहरु शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सरसफाई खानेपानी उल्लेखनीय प्रगति हुने, रोजगारीका अवसरहरु सिर्जना हुने, राज्यले लिएका नीति

र दिगो विकासका लक्ष्य, विभिन्न रणनीतिक लक्ष्य तथा पन्ध्रौँ पञ्‍च वर्षीय योजनाको लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष भट्टको भनाइ छ। अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुझाव राखेपछि गाउँकार्यपालिकाबाट सर्वसम्मतिमा पारित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.