|

पोखरा : पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि नमुना मार्ग निर्माण गर्ने भएको छ। महानगरले आइतबार आफ्नो नीति तथा कार्यक्रम घोषणा गर्दै तालै ताल र गुफाको शहर पोखरामा नमुना मार्ग बनाउने बताएको हो।

‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। आइतबारबाट सुरु भएको पोखरा महानगरको पाचौँ नगरसभामा मेयर मानबहादुर जीसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यस्तै पोखरालाई नेपालकै प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा समन्वय गर्नुका साथै आवश्यकता अनुसार ट्राफिक लाइट, पार्किङ तथा सर्भिस स्टेसन, यात्रु सुरक्षाका लागि पैदल मार्ग तथा सरसफाइमा विषेश ध्यान दिइने महानगरको नीति तथा कार्यक्रममा समाबेश गरिएको छ।

नदी, खोला, ताल लगायतका जलाधार क्षेत्र संरक्षण गरी जल उत्पन्न प्रकोप नियन्त्रणका लागि विशेष योजना सञ्चालन गर्दै ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई सार्थक बनाउन प्रदुषणरहित सहरको रुपमा विकास गरिने बताइएको छ।

फेवातालमा सिल्टेसन ड्याम

फेवाताल संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माण कार्यका लागि चालू आर्थिक वर्षमा ठेक्का प्रक्रिया अगाडि बढाएको महानगरले आर्थिक वर्ष ०७७÷७८ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। पोखरामा रहेका अन्य तालहरुको संरक्षण र प्रवद्र्धनका कार्यहरुलाई पनि निरन्तरता दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ।

स्मार्ट सिटी

स्मार्ट सीटी बनाउने नाराले नै चुनाब जितेका पोखरा महानगरका मेयर मानबहादुर जीसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस विषयलाई

समेटिएको बताए। ‘स्मार्ट सिटी पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयमा इन्टरनेट इन्ट्रानेट प्रणाली जडान गरी महानगर र वडाको सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै लगिएको र महाशाखा÷ शाखाहरुमा नेटवर्किङ गरी ई—गभर्नेस मा जोड दिइएको छ,’ मेयर जीसीले भने।

स्मार्ट सिटी बनाउनकै लागि पोखराका मुख्य चोकहरुमा सिसिटिभी क्यामरा जडान र  मुख्य बजार क्षेत्रमा सिसिटिभी जडानको लागि सर्भे सम्पन्न गरिएको महानगरले जनाएको छ।  चालू आर्थिक वर्षमा १० हजार पुराना घर नक्साका कागजातलाई विद्युतीकरण गरी अभिलेख राखिएको छ। पोखराको महत्वपूर्ण सूचना समेटिएको म्याप बुक तयार गरी प्रकाशन गरिएको महानगरले जनाएको छ।

अन्तर्राष्ट्रिय सहर निर्माणको अभ्यास

देशकै ठुलो समेत रहेको पोखरा महानगरलाई अन्तराष्ट्रिय शहर निर्माण गर्ने गरी काम अघि बढाइएको नीति तथा कार्यक्रममा उल्लेख छ। ‘सडकको मापदण्ड

कायम गरी सडक, फुटपाथ र चोकहरुलाई फराकिलो बनाई सौन्दर्यीकरण गर्ने कार्य अगाडि बढाइएको छ। महानगरपालिका क्षेत्र भित्र निर्माण गरिएका मुख्य तथा कनेक्टिङ सडकको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ।

भवन तथा पूर्वाधार निर्माणको मापदण्डलाई समयानुकल परिर्वतन गरी व्यवहारिक र कार्यान्वयन योग्य बनाइएको छ। सडक समस्याको रुपमा रहेका छाडा चौपायालाई वडा नम्बर १४ बाच्छीबुडुवास्थित खाली जग्गामा अस्थायी संरचना निर्माण गरी व्यवस्थापन गरिएको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

महानगरमा धुलोमुक्त कक्षा कोठा

पोखरा महानगरले शिक्षा नियमावली निर्माण गरी महाग महानगरपालिकाबाटै माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन गरेको छ। ‘बालमैत्री शिक्षाको अवधारणा अनुरुप धुलोमुक्त कक्षा सञ्चालनका लागि विद्यालयहरुमा ह्वाइटबोर्ड वितरण  र बालमैत्री शिक्षण पद्धतिको अवलम्बन गरिएको छ।

महानगर भित्र रहेको सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोमुक्त बनाइएको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

सबै विद्यालयहरुलाई सूचना र प्रविधिमा आधारित स्मार्ट विद्यालयको रुपमा विकास गर्ने गरी तत्काल कालिका मावि र त्रिभुवन शान्ति माविको विस्तृत गुरुयोजना निर्माण गरिएको बताइएको छ।  त्यस्तै महानगरका सबै वडाहरुमा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने पनि उल्लेख छ।

पहिले देश अनि विदेश

पोखरालाई पर्यटनको राजधानी समेत भनिन्छ। त्यसैलाई मध्यनजर गर्दै पोखरा महानगरले आफ्नो नीति तथा कार्यक्रममै ‘पहिले देश अनि विदेश’ अभियानलाई जोड दिने बताएको छ। नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण वर्ष २०१९ लाई सफल बनाउन पहिले देश अनि विदेश अभियान चलाइने बताइएको छ।

एक सहकारी, एक उत्पादन

नेपाल सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी तीन खम्बे अर्थ नीति अनुसार महानगरबासीहरुको आर्थिक विकासको निम्ति एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम अगाडि बढाइने पोखरा महानगरले जनाएको छ।

त्यस्तै दैनिक उपभोग्य बस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने सहकारी संस्थाहरुलार्ई छुट तथा अनुदानको व्यवस्था गरिनुका साथै सुपथ सहकारी पसल सञ्चालन गर्ने वातावरण मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै करको दायरा बढाउने पनि महानगरको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.