कडा निगरानीमा स्थानीय सरकार

|

चितवन : सीमान्तकृत आदिवासी जनजाति चेपाङ समुदायलाई विभिन्न संघसंस्थाले कमाइखाने भाँडो बनाइरहेको पाइएको छ। उनीहरूलाई सहयोग गर्ने बहानामा विभिन्न स्वार्थ समूह संलग्न रहेको संघसंस्थाहरूले चेपाङलाई कमाई खाने गतिलो स्रोत बनाएको पाइएको हो। यसप्रति सरोकारवाला निकायले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन्।

चोपाङ समुदाय चितवन, धादिङ, मक्वानपुर, गोरखा, लमजुङ, तनहुँलगायत मध्यनेपालका विभिन्न जिल्लाका पहाडी इलाकामा बसोबास गर्ने गर्दछन्। यो समुदायको चितवनमा पनि बाक्लै बसोबास रहेको छ। विशेषगरी पूर्वीचितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा बाक्लै बसोबास रहेको छ।

चेपाङका नाममा कमाखाने भाँडो

पछिल्ला समय केही व्यक्तिहरुको जीवनस्तर सुधारोन्मुख देखिए पनि अन्य जातिको तुलनामा आर्थिक, शैक्षिक तथा सामाजिकरूपमा यो समयदाय निकै कमजोर छन्।

उनीहरू वर्षमा ६ महिना खाद्यान्न अभावका कारण जंगली तरुल, कन्दमूल, गिठा खोजेर जीविकोपार्जन गर्ने गरेका छन् भने विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा भरपर्नुपर्ने बाध्यता रहँदै आएको छ।

तर, केही संघसंस्थाले सहयोग गर्ने नाममा गलत फाइदा उठाइरहेको राप्ती नगरपालिकाका मेयर प्रभा बरालले बताए। उनका अनुसार सहयोगको बाहानामा स्वार्थी समूह संलग्न केही संघसंस्थाले चेपाङलाई कमाई खाने भाँडो बनाइरहेका छन्।

मेयर बरालले भने, ‘पहाडी चेपाङ बस्तीमा विभिन्न संघसंस्थाले पैसाको ओइरो खन्याएका छन् तर उनीहरूको जीवनस्तरमा कुनै परिवर्तन आउन सकेको छैन।’

उनीहरूको जीवनस्तर परिवर्तन नहुनुमा चेपाङलाई देखाएर सधैँभरी कमाइरहुँ भन्ने गिरोहको नियत प्रमुख कारण रहेको बरालको भनाइ छ। उनले भने ती सक्रिय गिरोहले चेपाङलाई सधैँ भोकै, नांगै, खाली खुट्टामा देखिरहन चाहने गरेका छन्।

स्वार्थी गिरोहलाई लखेट्ने चेतावनी

मेयर बरालले यस्ता गिरोहलाई सबै मिलेर लखेट्ने चेतावनी दिएका छन। मेयर बरालले पछिल्ला समय सहयोगका नाममा जुनसुकै संघसंस्थालाई जान नदिने गरेको बताए।

'नि:स्वार्थ सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले नगरपालिकामा अनुमति लिएर मात्रै जान पाउँछन्' उनले भने। सहयोगको परिमाण, उद्देश्य, खर्च विवरणलगायत त्यहाँ हुने सम्‍पूर्ण गतिविधिको जानकारी गराएर मात्रै सम्बन्धित स्थानमा जान दिने गरिएको मेयर बरालले बताए।

कुन संघसंस्थाले त्यस्तो गिरोहमार्फत कमाइखाने भाँडो बनाइरहेका छन् भन्नेबारे मेयर बरालले नखुलाए पनि ती संघसंस्थामाथि स्थानीय सरकारले कडा निगरानी गरिरहेको दाबी गरे। गरिबीको गलत फाइदा उठाउनेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए।

नि:स्वार्थ सहयोगीलाई स्वागत

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पनि लक्षित विपन्न समुदायलाई सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले गाउँपालिकामा अनिवार्य सम्पर्क गर्नुपर्ने जनाएको छ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले हिजो जे जस्तो भए पनि आगामी दिनमा उपलब्धि देखिनुपर्ने बताए। उनले भने, ‘फोटो खिचाएर देखाउँदै पैसा ल्याउनेभन्दा पनि अब लगानी गरिसकेपछि आर्थिक, शैक्षिक, सामाजिक, स्वास्थ तथा भौतिकरूपमा देखिने उपलब्धि हासिल गर्नुपर्छ।’

चेपाङलगायत लक्षित विपन्न समुदायको मानसिकरूपमा चेतना परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले भने अब माछा दिने होइन माछा मार्न सिकाउनुपर्छ। ‘उनीहरूको आर्थिक, शैक्षिकलगायत जीवनस्तरमाथि उठाउन विभिन्न किसिमका सहयोगले टेवा पुग्ने भएकाले नि:स्वार्थ सहयोग गर्नेलाई गाउँपालिकामा स्वागत

गछौँ तर फोटो खिचाएर देखाउने अनि आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृत्तिलाई कडाइ गरिनेछ।’ अध्यक्ष गुरुङले गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि विपन्न समुदायको जीवनस्तर सुधार्ने सीपमूलक, आयमूलक विभिन्न कार्यक्रम समेटेर ल्याएको बताए।

प्रलोभनमा पारी बालबालिकाको अवैध ओसारपसार

विपन्न समुदायका व्यक्तिहरूलाई सहयोग गर्ने बाहनामा विभिन्न व्यक्ति तथा संघ संस्थाले उनीहरूलाई धर्म परिवर्तन गराउने तथा स्वार्थपूर्तिका लागि अन्यत्र स्थानान्तरण गरिरहेको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। केही दिनअघि मात्रै राप्ती नगरपालिकाका ४१ बालबालिकालाई अवैधरूपमा गोरखातर्फ लैजाँदै गर्दा गोन्द्राङबाट प्रहरीले उद्धार गरेको थियो।

नि:शुल्क पढाइदिने भनी अभिभावकलाई समेत प्रलोभनमा पारी बालबालिकालाई लैजाँदै गरेका केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्येको एक हो चेपाङ जाति। २०६८ को जनगणनाअनुसार चेपाङ जातिको संख्‍या ६८ हजार ३ सय ९९ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.