|

इलाम : चियाको राजधानी सूर्योदय नगरपालिकाकामा उद्योगीहरुले चिया उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोके बमोजिम हरियोपत्ती खरिद गर्न नसक्ने भन्दै चिया उद्योगीहरुको संगठन सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले आफूसम्वद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो। 

नगरपालिकाले तय गरेको चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि २०७५ मा हरियोपत्तीको न्यूनतम् मूल्य ४० रुपैयाँ कायम गरेको छ । तर, उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीको गुणस्तर खस्किएकाले पनि नगरपालिकाले तोकेको मूल्य किसानलाई दिन नसक्ने भन्दै बरु कारखाना बन्द गर्न सहमत भएका हुन् । 

एसोसिएनले नगरपालिकामा पठाएको पत्रमा असार १२ गतेदेखि कारखाना बन्द गर्ने उल्लेख गरिएको छ । उद्योगीले यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा मूल्य दिँदै आएका थिए । तर, यस पटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नै नगरपालिकाले एकलौटी ढंगले दररेट तोकेको भन्दै विरोधस्वरुप उद्योग बन्द गर्नु परेको पनि कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए । 

चिया किसानले उद्योगीलाई दुई पात एक सुइरो हरियो पत्ती  दिनुपर्नेमा त्यसो नगरेको उनीहरुको गुनासो छ। यसमा नगरपालिकाले अनुगमन नगरी नियममात्र गरेर उद्योग धरासायी बनाउन खोजेको आरोप उद्योगीहरुले लगाएका छन्। 

चिया उद्योगीहरुको समस्यालाई कहिल्यै नबुझेको राज्यले सेवा सुविधा दिनुपर्नेमा उल्टै दररेट तोकिदिँदा उद्योग धराशायी बन्न पुगेको उल्लेख गर्दै आफूहरुको समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन्। चियाको निर्विकल्प बजार भारत रहेकाले तयारी चियाको विक्री मूल्यले लागत धान्न नसक्ने उनीहरुको भनाइ छ । 

एसोसिएनमा आवद्ध ५२ वटा उद्योगले चियाको गुणस्तरलाई मध्यनजर गरेको खण्डमा उनीहरुले नगरपालिकाले तोकेअनुसारको दररेट चिया किसानलाई दिन तयार रहेको पनि बताएका छन्। 

नगरपालिकाले गुणस्तर चिया उत्पादनमा पहल नगर्ने हो भने कम गुणस्तरअनुसारकै रकम उद्योगीले तिर्ने चिया उद्योगीले बताउँदै आएका छन्। उनीहरुले चियापत्तीको गुणस्तरको अनुगमन गर्न पनि नगरपालिकासमक्ष माग गरेका छन्। 

सूर्योदय नगरपालिकाबाट उत्पादन हुने अर्थोडक्स चियाको गुणस्तर खस्कँदै गएकाले पनि बाध्य भएर उद्योगीहरुले कारखाना बन्द गर्नु परेको पनि बताएका छन् । 

टी एसोसिएनले बारम्बार सरकारसंग चियामा अनुदानको माग राख्दै आएको छ । गत जेठको पहिलो साता चिया मजदुरहरुको समस्या समाधानमा इलाम आएका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टसँग २५ बुदे माग राख्दै चिया क्षेत्रमा १५ प्रतिशत अनुदान, अक्सन सेन्टर स्थापनाको पहल गरिदिन माग गरेका थिए । 

नेपाली चियाको आफनै क्लोन नहुँदा ब्रान्डिङ गरेर बेच्न समस्या भएको उल्लेख गर्दै उनीहरुले  अर्गानिक प्रमाणिकरण लगायत कार्यमा अनुदानको माग राखेका थिए । 

सूर्योदय नगरपालिकामा मात्र ४५ हजार रोपनीमा क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । यस क्षेत्रबाट वार्षिक २ लाख केजी तयारी चिया निर्यात भारत लगायत विभिन्न मुलुकहरुमा निर्यात हुने गरेको छ । 

चिया उद्योगीहरुले उद्योग बन्दको निर्णयले किसानहरु मारमा पर्ने देखिन्छ । चिया किसान डम्बर कटुबाल चिया उद्योगीको निर्णयले किसानहरुलाई समस्या थपेको गुनासो राख्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.