|

पोखरा : गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी भन्दै पोखराबाट नेपालका अन्य विमानस्थलहरूमा सिधा हवाई उडान गर्ने योजना बनायो। यसबारे प्राय सबै मन्त्रीहरुले सार्वजनिक कार्यक्रमहरुमा मज्जैले बोले। गत वर्षको फागुन-चैतदेखि पोखराबाट देशका प्रमुख शहरमा हवाई उडान गर्ने योजना सरकारले सार्वजनिक गरेको थियो।   

आन्तरिक भ्रमण वर्ष सफल बनाउन महत्वपूर्ण मानिएको आन्तरिक हवाई उडान अहिलेसम्म कुनै तयारी पनि गरिएको छैन। पर्यटनमन्त्री विकास लम्साल भने कुराहरू अघि बढिरहेको बताउँछन्। ‘यसको लागि कुरा अगाडी बढिरेको छ। कहिले मौसमले, कहिले केले साथ नदिएर हो। अहिले त बर्खा पनि लाग्यो’ उनले भने। प्रदेश सरकारले बर्खा अगावै मनाङमा हवाई उडान गर्ने बताएको थियो। त्यो पनि अहिलेसम्म हुन सकेको छैन।

एयरलाइन्सवालाले साथ दिएनन्

पर्यटन मन्त्री विकास लम्सालको भनाई पत्याउने हो भने पोखराबाट सिधा हवाई उडानका लागि निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरूले सरकारको यो कामको लागि साथ दिएका छैनन। ‘नीजी कम्पनीले साथ दिएन। उनीहरू इण्डिया उडानमा लागेका छन्,’ मन्त्री लम्सालले भने, ‘अब जहाजवालाहरूको बैठक डाकेर त्यसमा लाग्नुपर्नेछ। यतिबेलासम्म हामीले सिमरा, बिराटनगर, जनकपुरमा सिधा उँडान गर्ने सोँच बनाएका थियौँ। अब यसको बाँकी काम भदौदेखि हुन्छ। आन्तरिक काम त भइरहेको छ।’

बर्खा लागेर पनि त्यसमा चासो कम भएको मन्त्री लम्साल बताउँछन्। 

आन्तरिक उडान गर्न विमानस्थल तयार

सरकार र निजी क्षेत्रका एयरलाइन्स कम्पनीबीच आन्तरिक उडानको लागि समझदारी हुनेहो भने विमानस्थलबाट कुनै समस्या नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणका पोखरा प्रमुख भोलाप्रसाद गुरागाँई बताउँछन्। ‘प्राधिकरणले बनेको वातावरणलाई सहज बनाउने त हो,’ उनले भने, ‘सरकारले आन्तरिक उडानबारे छलफल पनि चलाएकै हो।

निजी कम्पनीलाई मनाउन सरकारले सक्नु पर्‍यो। उनीहरू बिना आन्तरिक हवाई उडान गर्नै सकिँदैन।’ उडान हुने हो भने पोखरा विमानस्थलबाट सबैखालको सहयोग वातावरण हुने गुरागाईँको भनाई छ। आन्तरिक उडान सञ्चालन गर्नलाई हवाई रुटको पनि समस्या नभएको उनले बताए।

पोखराबाट भद्रपुर, बिराटनगर, सिमरा, नेपालगञ्जसम्म सिधा उडान गर्ने हो भने पर्यटकको चहलपहल बढने उनको पनि अनुमान छ। सिधा हवाई उडान नहुँदा अहिले भारतीय पर्यटक ठूला सवारी रिजर्भ गरेर पोखरा आउने गरेका छन्। अहिले पोखराबाट जोमसोम, काठमाडौं, भरतपुर र भैरहवासम्म नियमित उडान भइरहेको छ।

मनाङ उडान योजनामा मात्रै भएको छ। विमानस्थल तयार भएपनि उडान हुन सकेको छैन। पोखरालाई आधार बनाएर अहिले बुद्ध, यति, सिम्रिक, समिट, तारा र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन।

प्रदेश सरकारले सन् २०१९ मा प्रदेशमा १५ लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्यसहित आन्तरिक भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। त्यसैलाई सफल बनाउन आन्तरिक हवाई उडान गर्ने बताएको आधा समय विति सकेको छ। आन्तरिक हवाई उडान गरे भारतीय पर्यटकहरुको आगमन अझ बढ्ने पर्यटन ब्यवसायी बताउँछन्।  

पोखरालाई बिराटनगर, सिमरा, नेपालगञ्ज, भैरहवा, सिमरासम्म हवाई उडानले जोड्ने हो भने आन्तरिक पर्यटक र भारतीय पर्यटकको संख्या बढ्ने बताइएको छ। आन्तरिक हवाई उडानले नेपाल भ्रमण वर्षलाई पनि सहयोग पुर्‍याउने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.