|

जनकपुरधाम : धनुषाको विदेह नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक आन्दोलित भएका छन्। विगत ६ महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरु आन्दोलित बनेका हुन्।

शिक्षक आन्दोलित भएपछि दुई दिनदेखि विद्यालय ठप्प छ। विद्यालयहरू पढ्न आएपनि रित्तोहात घर फकिर्ने गरेका छन्। सोमबार पनि विद्यार्थी पढ्न विद्यालय आएका थिए। तर शिक्षकले नपढाउने भनेपछि घर फर्केका छन्। नगरप्रमुख बेचन दासको लापरबाहीले विद्यालयमा पठन-पाठन ठप्प भएको अभिभावक बताउँछन्। प्रधानाध्यापक पवन मण्डलाई दासले सरुवा गरेका छन्।

प्रधानाध्यापक मण्डल सरुवा अवैधानिक तरिकाले गरेको दावी गर्छन्। उनी भन्छन्, ‘सरुवा गरेको थाहा साथीबाट थाहा पाए। मलाई जानकारी दिएकै छैन।’ तर मेयर दासले प्रधानाध्यापकको सरुवा कार्यपालिका बैठकबाट गरेर पत्र समेत थमाइसकेको दावी गरेका छन्। यो विद्यालयलाई नेपाल सरकारले नमूना घोषणा गरेको छ।

नमूना घोषणा भएपछि सरकारले लाइब्रेरी, स्टेडियम र भौतिक पूर्वाधार निर्माणका लागि दुई वर्ष अगाडि नै पोने दुई करोड पठाए। तर कुनै काम हालसम्म सुरु समेत हुन सकेका छैन। प्रधानाध्यापक मण्डलसँगको विवादका कारण प्रमुख दास काम सुरु गर्न मानेका छैनन।

यता प्रधानाध्यापक मण्डलले योजना सुरु गर्न पहिल्यै कमिशन मागेको र नदिएपछि बजेट रोकेर राखेको आरोप लगाए। उनले भने, 'यस क्षेत्रका सांसद उमाशंकर अरगरियाले भौतिक पूर्वाधारका लागि दिएको ५० लाख र प्राविधिक तर्फका बजेट समेत रोकेर राखेका छन्।’ अभिभावक भने प्रधानाध्यापक मण्डलको पक्षमा देखिएका छन्।

विद्यालयमा पठनपाठन सुधार प्रधानाध्यापक मण्डलले गरेका कारण सरुवा गर्न नहुने अभिभाभवकको भनाई छ। यसअघि पनि विद्यालयका विद्यार्थी पटक पटक आन्दोलन गरिसकेका छन्। दुई साता अगाडि विद्यार्थीले नगरपालिकामा तालाबन्दी समेत गरेका थिए।

प्रमुख दासले विद्यालयलाई तहस नहस पारेको भन्दै विद्यार्थीले हुलाकी सडक अवरुद्ध पारेर प्रदर्शन समेत गरेका छन्। तर प्रमुख दासले सरुवा गरेको ठाउँमा प्रधानाध्यापक नगएसम्म विद्यालयमा कुनै पनि काम गर्न नदिने अडान लिएका छन्।

विद्यालयमा पटक पटक विवाद भएपछि प्रमुख दास र प्रधानाध्यापक मण्डललाई बोलाएर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले छलफल समेत गरे।प्रमुख दासले छलफलमा एक साताभित्र विवाद समाधान हुने प्रतिवद्धता जनाएका थिए। तर दुई साता वित्न लाग्दा पनि प्रमुख दासले वास्ता गरेका छैन। 

प्रधानाध्यापक मण्डलले भने, ‘समस्या समाधान गर्ने म्याद सक्यो। तर केही भएन। अनि बाध्य भएर शिक्षक आन्दोलित भएका छन्।’ उनले शिक्षकको तलव निकासा नगरेसम्म आन्दोलन जारी राख्ने बताए। उनका अनुसार नगरपालिकाले विगत लामो समयदेखि विद्यार्थीलाई दिने छात्रबृत्ति रकम समेत राखेका छन्। 

विद्यालयमा ५३ शिक्षकको दरबन्दी रहेकोमा हाल ४८ शिक्षक कार्यरत छन्। १२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा करिब २५ सय छात्रछात्रा अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.