|

सिन्धुली : सुनकोशी गाउँपालिका–५ सातविषेकी सविना बसेल आधारभूत विद्यालय परेवा डाँडामा कक्षा-७ मा पढ्छिन्। विद्यालयको नयाँ भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाउँदा उनी निकै नै खुसी छिन्।

‘भूकम्पपछि हामी कहिले चौतारामुनि, कहिले जस्तोको टहरामा पढेर चार वर्ष कटायौं, अहिले यस्तो सुरक्षित भवनमा बसेर पढ्न पाउँदा धेरै खुसी लागेको छ, अब केही विपत आइहाले पनि सुरक्षित साथ बस्न पाउछौं’ उनले भनिन्।

खुसीले फुरुंग

विद्यालयको नयाँ सुविधा सम्पन्न भवन बनेपछि उनी मात्र हैन उनका सबै साथीहरू खुसी भएका छन्। सोही विद्यालयमा पढ्दै आएकी विनिता कालिकोटे पनि नयाँ भवनमा बसेर पढ्न पाएकोमा खुसीले निकै फुरुङ्ग छिन्। उनी यस विद्यालयमा कक्षा ७ मा नै पढ्छिन्। भूकम्पपछिको चार वर्ष सम्झँदै बर्खामा पानी, हावाहुरी, गर्मी सहेर कष्टका साथ पढेको सुनाउँछिन्। ‘मलाई रमाइलो लागिरको छ, पहिला हामी जस्ताको टहरो बसेर पढ्ने गर्थ्यौँ, अहिले यत्रो ठूलो भवनमा पढ्न पाएका छौं’ उत्साहित हुँदै उनले सुनाइन्।

सुनकोशी गाउँपालिका-५ मा रहेको आधारभूत विद्यालय परेवा डाँडाको पुरानो ढुंगा माटोले भनेको भवन २०७२ सालको विनाशकारी भूकम्पका कारण धस्त भएको थियो। भूकम्पले क्षति भएको उक्त विद्यालय सुरक्षित विद्यालय प्रवर्द्धन परियोजनाअन्तर्गत प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको प्राविधिक सहयोगमा विद्यालय व्यवस्थापन समितिको व्यवस्थापनमा पुनःनिर्माण भएको हो।

कुल १ करोड ३६ लाख लागतमा ८ कोठा भएको भवन, बालमैत्री शौचालय, खानेपानीकोको धारालगायत संरचाना निर्माण भएको विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद प्याकुरेलले बताए।

सुरक्षित महसुस

नवनिर्मित पक्की भवनमा बसेर पढ्न पाउँदा सुरक्षित महसुस भएको सोही विद्यालयमा कक्षा ८ मा पढ्ने पुरानो झाँगाझोली नयाँछापका शिव नेपाली बताउँछन्।‘पहिला हामी खुल्ला ठाँउमा बसेर असुरक्षितरूपमा पढ्थ्यौं, अहिले ठूलो भवन पाएका छौं अब हावाहुरी लाग्दा, पानी पर्दा केही डर नलिई सुरक्षितसाथ पढ्न पाउछौं’ उनले भने।

भूकम्पपछिको करिव ४ वर्ष अस्थायी टहरामा कष्टको साथ पढाउनुपर्दा विद्यालयको पठनपाठन समेत प्रभावित भएको थियो।  तर अहिले नयाँ सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएपछि विद्यालयको पठनपाठनमा सुधार हुने विद्यालयका प्रधानाध्यापक प्याकुरेलको विश्वास छ।

भुकम्प पछि शिक्षकहरुले पनि धेरै कष्टका साथ बालबालिकाहरुलाई पढाएको उनले बताए। ‘भवन नहुँदा चौतारा, खुल्ला आकाशमनी बसेर पढाउँदा हामी आफै पनि धेरै दुःख भएको थियो। धाम, पानी, हावाहुरीले गर्दा कति पटक त नपढाई स्कुल बन्द गराउनुपर्ने स्थिती पनि दियो तर अहिले भवन बनेको छ। अब पठनपाठनमा समेत सुधार हुने विश्वास छ’ उनले भने।

नवनिर्मित भवनको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ। नवनिर्मित भवनको सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधि सांसद हरिबोलप्रसाद गजुरेलले उद्घाटन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.