|

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ। 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिना बितिसक्दा पनि कार्यदिशाबारे शीर्ष तहमा सहमति जुट्न सकेको छैन। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी शर्मा ओलीले एमालेले अवलम्बन गर्दै आइरहेको जबजलाई पार्टीको कार्यदिशा बनाउनुपर्ने बताएसँगै कार्यदिशा विवाद सतहमा आएको हो। ओलीले राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुअघि जबजलाई मानेर जान प्रस्ताव गरेपछि अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री (तत्कालीन माओवादी केन्द्र अध्यक्ष) पुष्पकमल दाहाल झस्किएका छन्। पार्टी एकताका क्रममा भएको सहमतिअनुसार जनताको जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनुपर्ने उनको अडान छ।

३ जेठ २०७५ मा दुई पार्टीबीच एकता हुँदा एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो । तत्कालीन एमाले जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रले २१औं शताब्दीको जनवाद र माओवादी कार्यदिशा छोड्दै जनताको जनवादमा सहमति गरेर पार्टी एकता भएको थियो। दुवै पार्टीले मान्दै आएको कार्यदिशा तत्कालका लागि छोड्ने र महाधिवेशनमा बहसमा लैजाने गरी सहमति गरेका थिए।

अध्यक्ष ओली निकट भनेर चिनिने पार्टी सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसअघि पनि सार्वजनिक कार्यक्रममा जबजको पक्षमा अभिव्यक्ति दिएपछि तत्कालीन माओवादी केन्द्रका नेताहरू झस्किएका थिए। पार्टी एकता गर्ने समयमा भएको सहमतिअनुसार जनताको जनवादलाई पार्टी सचिवालय र स्थायी कमिटी बैठकले समेत पारित गरिसकेको छ। तर, सचिवालय र स्थायी कमिटी बैठकले पारित गरिसकेको विषयमा मतभेद सुरु भएपछि त्यसको प्रभाव पार्टी एकताको बाँकी काम टुंगो लगाउनमा परिरहेको छ।

राजनीतिक प्रतिवेदन सामान्य संशोधनपछि छाप्न पठाउने र दुई दिनपछि सचिवालय बैठक बोलाउने ओली–दाहालबीच शनिबार समझदारी भएको थियो। तर, त्यसयता बैठक नै नबोलाइएको नेकपा स्रोतले जनाएको छ। त्यसपछि दुवैतर्फका नेता बीचमा एक–अर्कोलाई हेर्ने दृष्टिकोण पनि फरक हुँदै गएको छ भन्ने खबर आजकाे राजधानी दैनिकमा छ।

अध्यक्ष ओलीले यसबीचमा आफू निकटका नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर पछिल्लो घटनाक्रमबारे जानकारी गराएका छन्। सचिवालय सदस्य पोखरेल, महासचिव विष्णु पौडेललगायतका नेता बालुवाटार पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.